२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

प्रधानमन्त्री ओलीलाई बालेनको सुझाव- आफ्ना कार्यकर्तालाई सामान्य ज्ञान दिएरमात्रै राजनीतिमा लगाउनू

Nada
२०८१ भदौ १७ गते १७:२१
Shares
प्रधानमन्त्री ओलीलाई बालेनको सुझाव- आफ्ना कार्यकर्तालाई सामान्य ज्ञान दिएरमात्रै राजनीतिमा लगाउनू

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन् । लुम्बिनी प्रदेशकी एमाले सांसद रेखा कुमारी शर्माको विषयमा एमालेका कार्यकर्ताहरुले भ्रमहरु फैलाएको भन्दै मेयर बालेनले प्रधानमन्त्री ओलीलाई आफ्नो कार्यकर्ताहरूलाई सामान्य ज्ञान दिएर मात्रै राजनीतिमा लगाउन सुझाव दिएका छन् ।

ncell

सोमबार सामाजिक सञ्जालबाट उक्त आग्रह गर्दै मेयर बालेनले यस्तै ज्ञानविहीन भएर पछि देश चलाउने ठाउँमा पुग्दा आफैंजस्तो अरूको इशारामा चल्नुपर्ने देखिएको उल्लेख गरेका छन् ।

मेयर बालेनले लेखेका छन्, 'प्रधानमन्त्री खड्क प्रसाद ओलीज्यू तपाईं आफ्नो कार्यकर्ताहरूलाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनु होला । पछि यस्तै ज्ञानविहीन भएर देश चलाउने ठाउँमा पुग्दा तपाईंजस्तै अरुको इशारामा चल्ने हुनुपर्ला ।'

उद्धार गरेकी बालिकाको बुबालाई शर्माले प्रयोग गरी महानगरविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट हाल्न लगाएको पनि उनले बताएका छन् । उक्त रिटमा न्यायाधीश सपना मल्ल प्रधान, डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको पूर्ण इजलासले रिट खारेजी गर्दै महानगरपालिकाका नाममा परमादेश दिएको थियो ।

मेयर बालेनले शर्माले आफूले गरेको कसुरमा जेल जान सक्ने सम्भावना देखेर आफू छलिन अदालत धाएको पनि आरोप लगाएका छन् ।

यसअघि आइतबार मेयर बालेनले ८ वर्षदेखि बालिकालाई बन्दी बनाएर घरेलु कामदार राखेर बाल श्रम शोषण गरे पनि सांसद रेखा शर्मालाई पक्राउ नगरेको भन्दै आपत्ति जनाएका थिए । काठमाडौं महानगरपालिकाले दुई महिनादेखि कारबाही अगाडि बढाउन आग्रह गर्दा पनि सरकारले बेवास्ता गरेको उनको आरोप थियो । सांसद शर्माको विषयमा कुनै कारबाही नभएको बताउँदै उनले प्रधानमन्त्री ओलीमाथि आक्रोश पोखेका थिए । शर्मा लुम्बिनी प्रदेश सभा सदस्य हुन् । उनको घरबाट गत जेठ अन्तिम साता एक जना बालश्रमिकको उद्धार भएको थियो ।

मेयर बालेनको उक्त स्टाटसपछि अनेरास्ववियुका अध्यक्ष समिक बडालले आइतबार फेसबुकमार्फत मेयर बालेनलाई खुफिया एजेन्सीसँग साँठगाँठ गरेको आरोप लगाएका थिए ।


ताजा खबर

सम्बन्धित खबर