
काठमाडौँ : जनकपुरधाममा आयोजना हुने सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवको निमन्त्रणा दिन जनकपुरधामबाट एक टोली भारतको अयोध्या प्रस्थान गरेको छ ।
जानकी मन्दिर, जनकपुरधाम उपमहानगरपालिका, विश्व हिन्दु परिषद् तथा जनकपुरधामको नागरिक समाजका प्रतिनिधिहरू सम्मिलित टोली रामजन्मभूमि अयोध्याका लागि प्रस्थान गरेको हो । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले विवाह पञ्चमी महोत्सव जनकपुरधाम र अयोध्याबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने अवसर भएको बताए ।
त्रेतायुगमा राजा जनकले सीता–राम विवाहका लागि अयोध्याका राजा दशरथलाई निमन्त्रणा पठाएको प्रसङ्ग स्मरण गर्दै उनले सोही परम्परालाई पुनः जीवन्त बनाउन आफूहरू अयोध्या जान लागेको बताए।
विवाह पञ्चमीको निमन्त्रणा दिन अयोध्या जाने टोलीले आजदेखि औपचारिक रूपमा यात्रु सेवा सुरु गरेको सरयू–कमला एक्सप्रेस रेलमार्फत यात्रा गरेको हो । टोलीले अयोध्याका लागि निमन्त्रणासँगै लत्ताकपडा, गरगहना, भाँडाकुँडालगायतका सामग्री समावेश गरिएको भारसमेत लगेको छ ।
जनकपुरधाममा प्रत्येक वर्ष साताव्यापी रूपमा मनाइने विवाह पञ्चमी महोत्सवमा सीता–राम विवाहको धार्मिक परम्परालाई विशेष उत्सवका रूपमा मनाउने गरिन्छ ।