२०८३ कार्तिक २० गते शुक्रवार / Nov 06 , 2026 , Friday
२०८३ कार्तिक २० गते शुक्रवार

सामाजिक सुरक्षा भत्ता हिनामिना, ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Nada
२०८३ कार्तिक २० गते १५:०३
Shares
सामाजिक सुरक्षा भत्ता हिनामिना, ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुङ्गाको लिखु गाउँपालिका, वडा नं. ९ पोखरीमा सामाजिक सुरक्षा भत्ता वितरणमा आर्थिक अनियमितता गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरूसहित ५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ मा सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको पुष्टि भएपछि आयोगले शुक्रबार मुद्दा दायर गरेको हो ।

आयोगको अनुसन्धान अनुसार सामाजिक सुरक्षा भत्ता वितरण गर्दा वडा नं. ९ का तत्कालीन वडा अध्यक्ष शुकवीर तामाङले आफ्नै दायाँ हातको बुढी औंलाको छाप ३६० पटक प्रयोग गरी २९ लाख १५ हजार दुई सय रुपैयाँ भुक्तानी लिएको र लिन लगाएको पाइएको छ । त्यसैगरी भत्ता वितरण नामावलीमा दोहोरो नाम समावेश गराएको, मृत्यु भइसकेका तथा बसाइँसराइ गरी अन्यत्र गइसकेका लाभग्राहीको लगत कट्टा नगरी उनीहरूको नाममा समेत भत्ता वितरण देखाएर कुल ३१ लाख ६७ हजार दुई सय रुपैयाँ हिनामिना गरिएको अनुसन्धानबाट खुलेको छ ।

मुद्दा दायर गरिएका प्रतिवादीहरूमा लिखु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय ओम बहादुर दर्जी र अभय कुमार गुप्ता, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दिननाथ चौधरी, वडा नं. ९ का तत्कालीन वडा अध्यक्ष शुकवीर तामाङ र तत्कालीन एम.आइ.एस अपरेटर खिला वि.क. रहेका छन् । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीसँग ९ लाख ५३ हजार छ सय रुपैयाँ, अभय कुमार गुप्तासँग ११ लाख ६७ हजार दुई सय रुपैयाँ र दिननाथ चौधरीसँग ७ लाख ९४ हजार चार सय रुपैयाँ बिगो कायम गरी सजायको मागदाबी गरेको छ ।

त्यसैगरी, तत्कालीन वडा अध्यक्ष शुकवीर तामाङ र एम.आइ.एस अपरेटर खिला वि.क. दुवैजनासँग जनही ३१ लाख ६७ हजार दुई सय रुपैयाँ बिगो कायम गरिएको छ । आयोगले सबै प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७, दफा ३ र सरकारी अभिलेख हेरफेर तथा सच्याउने कार्य गरेकोमा दफा ११ बमोजिम कैद, बिगो बमोजिम जरिवाना र बिगो असुल उपरको मागदाबी लिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

laxmi recruitement

सम्बन्धित खबर