२०८३ कार्तिक १५ गते आइतवार / Nov 01 , 2026 , Sunday
२०८३ कार्तिक १५ गते आइतवार

प्रवासी नेपाली मञ्चको अध्यक्षमा पोखरेलको दाबी, श्रमिक अधिकार र नागरिकतालाई प्राथमिकता

Nada
तिलु शर्मा पौडेल
२०८३ कार्तिक १५ गते १९:२४
Shares
प्रवासी नेपाली मञ्चको अध्यक्षमा पोखरेलको दाबी, श्रमिक अधिकार र नागरिकतालाई प्राथमिकता

दोहा, कतार : मध्यपूर्वका खाडी मुलुकमा झन्डै २९ वर्ष बिताएर नेपाली श्रमिकका समस्या, पीडा र संघर्षलाई नजिकबाट अनुभव गरेका चानक पोखरेलले प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

मञ्चको आगामी ४ र ५ गते हुने दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनलाई लक्षित गर्दै वर्तमान सचिव तथा संगठन विभाग प्रमुख पोखरेलले अध्यक्ष पदमा आफ्नो दाबी प्रस्तुत गरेका हुन् । उनले प्रवासमा रहेका नेपालीको अधिकार, पहिचान र संगठनको सुदृढीकरणलाई केन्द्रमा राखेर तीन प्रमुख एजेन्डासमेत सार्वजनिक गरेका छन् ।

पोखरेलले आफ्नो पहिलो प्राथमिकतामा खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकका समस्या, अधिकार र न्यायलाई राखेका छन् । वैदेशिक रोजगारीका क्रममा श्रमिकले भोग्दै आएका शोषण, असुरक्षा र अन्यायका विषयलाई संगठनको कार्यसूचीमा समेटेर सम्बन्धित निकायसम्म पुर्‍याउने तथा समाधानका लागि पहल गर्ने उनको प्रतिबद्धता छ ।

उनको दोस्रो एजेन्डा मध्यपूर्वमा रहेका नेपालीको हित संरक्षण गर्दै नेकपा एमालेको विचार र सङ्गठनलाई थप सुदृढ बनाउनु रहेको छ । प्रवासी नेपाली मञ्चलाई राजनीतिक संगठनका रूपमा मात्र सीमित नराखी प्रवासमा रहेका नेपालीका साझा सरोकार, अधिकार र समस्यामा जिम्मेवार भूमिका निर्वाह गर्ने संस्थाका रूपमा विकास गर्ने उनले बताएका छन् ।

त्यसै गरी, विदेशमा रहेका नेपालीको वंशजको नागरिकताको सवाललाई अन्तर्राष्ट्रिय स्तरमा सशक्त रूपमा उठाउनु उनको तेस्रो एजेन्डा छ । मध्यपूर्वसहित युरोप, अमेरिका, ओसियाना र विश्वका विभिन्न मुलुकमा रहेका नेपाली तथा उनीहरूका भावी पुस्ताको पहिचान र अधिकारसँग जोडिएको नागरिकताको विषयलाई तार्किक निष्कर्षमा पुर्‍याउन पहल गर्ने उनले बताएका छन् ।

मञ्चको सचिव तथा संगठन विभाग प्रमुखका रूपमा काम गरिसकेका पोखरेलले झन्डै तीन दशकको खाडी अनुभव र सङ्गठनात्मक सक्रियतालाई नेतृत्वदायी भूमिकामा उपयोग गर्ने बताएका छन् । उनले अधिवेशनका प्रतिनिधि, मञ्चका नेता–कार्यकर्ता तथा नेकपा एमालेप्रति आस्थावान् प्रवासी नेपालीसँग सहयोग र समर्थनको अपिलसमेत गरेका छन् ।

दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै प्रवासमा रहेका नेपालीका अधिकार, श्रमिकका समस्या र सङ्गठनको आगामी कार्यदिशा तय गर्ने भएकाले पोखरेलले अघि सारेका एजेन्डालाई अधिवेशनको प्रमुख चासोका रूपमा हेरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर