२०८३ कार्तिक १५ गते आइतवार / Nov 01 , 2026 , Sunday
२०८३ कार्तिक १५ गते आइतवार

चितवनमा निकुञ्जबाहिर बढ्दै बाघ, बस्तीमा जोखिम

मध्यवर्ती क्षेत्रमा ६५ र निकुञ्जबाहिरका वनमा १३३ प्रतिशतले बढ्यो बाघको संख्या

Nada
२०८३ कार्तिक १५ गते १३:३९
Shares
चितवनमा निकुञ्जबाहिर बढ्दै बाघ, बस्तीमा जोखिम

काठमाडौं : चितवन राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ्दै जाँदा वन्यजन्तु संरक्षणसँगै मानव–बाघ द्वन्द्वको चुनौती पनि थपिएको छ । बाघहरू निकुञ्जको भित्री भागमा मात्र सीमित नरही मध्यवर्ती क्षेत्र र निकुञ्जबाहिरका वनतर्फ फैलिन थालेका छन् । पछिल्लो वैज्ञानिक अध्ययनले निकुञ्जभित्रभन्दा बाहिरका वनमा बाघको संख्या तीव्र गतिमा बढिरहेको देखाएको छ ।

अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नल ‘ओरिक्स : द इन्टरनेसनल जर्नल अफ कन्जर्भेसन’मा प्रकाशित अध्ययनअनुसार सन् २०१८ देखि २०२२ सम्म चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघको अनुमानित संख्या ८७ बाट बढेर १२२ पुगेको छ । यो चार वर्षमा करिब ४० प्रतिशतको वृद्धि हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसन्धानकर्ता हरिबहादुर आचार्यसहितको वैज्ञानिक टोलीले गरेको अध्ययनअनुसार निकुञ्जको भित्री भागमा बाघको संख्या ५७ बाट बढेर ७० पुगेको छ । यस अवधिमा निकुञ्जभित्र बाघको संख्या २३ प्रतिशतले बढेको हो ।

तर, मध्यवर्ती क्षेत्रमा १७ बाट बढेर २८ पुगेको छ । यो ६५ प्रतिशतको वृद्धि हो । सबैभन्दा बढी वृद्धि निकुञ्जबाहिरका वनमा देखिएको छ । त्यहाँ बाघको संख्या ६ बाट बढेर १४ पुगेको छ । अर्थात् चार वर्षमा १३३ प्रतिशतले वृद्धि भएको हो ।

अध्ययनले बाघको संख्या बढ्नुका साथै उनीहरूको बासस्थानमा पनि परिवर्तन भइरहेको देखाएको छ । विशेषगरी भाले र पोथी बाघको बासस्थान चयनमा फरक प्रवृत्ति देखिएको छ ।

निकुञ्जको भित्री भागमा पोथी बाघको संख्या ४८ मै स्थिर रहँदा मध्यवर्ती क्षेत्रमा भने ७ बाट बढेर १३ पुगेको छ । यसले पोथी बाघले मध्यवर्ती क्षेत्रका वनलाई प्रजनन र डमरु हुर्काउने बासस्थानका रूपमा समेत प्रयोग गर्न थालेको संकेत गर्छ ।

अर्कोतर्फ, भाले बाघहरू आफ्नै क्षेत्र कायम राख्न आपसमा प्रतिस्पर्धा गर्ने भएकाले नयाँ बासस्थानको खोजीमा निकुञ्जबाहिरका वनतर्फ फैलिएको अध्ययनले औंल्याएको छ । बाघको संख्या बढ्दै जाँदा निकुञ्जभित्रको बासस्थानमा सीमितता आउनु र नयाँ क्षेत्र खोज्नु यसको एउटा कारण हुन सक्छ ।

बाघको बासस्थान निकुञ्जबाहिरका वनसम्म विस्तार हुनु संरक्षणका दृष्टिले सकारात्मक उपलब्धि भए पनि यसले स्थानीय बासिन्दाको सुरक्षामा नयाँ चुनौती थपेको छ । मध्यवर्ती र सामुदायिक वनमा बाघको उपस्थिति बढ्दा घाँस-दाउरा गर्न, पशु चराउन तथा वन पैदावार संकलन गर्न जाने स्थानीय बासिन्दासँग जम्काभेट हुने जोखिम बढ्छ ।

अनुसन्धानकर्ताहरूका अनुसार आगामी दिनमा निकुञ्जबाहिरका वनमा पनि बाघको स्थायी बासस्थान विस्तार हुन सक्ने सम्भावना छ । त्यसैले बाघको संख्या र आवागमनको नियमित निगरानीसँगै मानव–बाघ द्वन्द्व न्यूनीकरणका उपाय प्रभावकारी बनाउन आवश्यक छ ।

यसका लागि बाघको आवागमन हुने वन क्षेत्रमा पूर्वसूचना प्रणाली (अर्ली वार्निङ सिस्टम) विकास गर्ने, जोखिमयुक्त क्षेत्र पहिचान गर्ने, मध्यवर्ती वनको व्यवस्थापन सुधार गर्ने र स्थानीय बासिन्दालाई सुरक्षासम्बन्धी जानकारी तथा आवश्यक सावधानीका उपाय उपलब्ध गराउनुपर्ने अध्ययनले औंल्याएको छ ।

बाघ संरक्षणमा प्राप्त उपलब्धि दिगो बनाउन अब निकुञ्जभित्रको संरक्षण मात्रै पर्याप्त हुने छैन । निकुञ्जबाहिरका वन र मानव बस्ती आसपासमा बढ्दो बाघको उपस्थितिलाई व्यवस्थापन गर्दै वन्यजन्तु र स्थानीय समुदायबीच सुरक्षित सहअस्तित्व कायम गर्नु थप महत्त्वपूर्ण बनेको छ ।

ताजा खबर

सम्बन्धित खबर