२०८३ कार्तिक ९ गते सोमवार / Oct 26 , 2026 , Monday
२०८३ कार्तिक ९ गते सोमवार

कांग्रेसमा चुनाव हारेकालाई पनि जिम्मेवारी दिइने

Nada
२०८३ कार्तिक ९ गते १३:१०
Shares
कांग्रेसमा चुनाव हारेकालाई पनि जिम्मेवारी दिइने

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक निर्वाचनमा पराजित भएका तथा विभिन्न तहमा जिम्मेवारी पाउन नसकेका नेता-कार्यकर्तालाई क्षमता र योग्यताका आधारमा जिम्मेवारी दिने बताएका छन् ।

ncell

स्याङ्जामा आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै थापाले पार्टीभित्रको प्रतिस्पर्धालाई जित र हारका रूपमा मात्र नहेरी सबैलाई समेटेर संगठन सञ्चालन गर्ने प्रतिबद्धता जनाएका हुन् ।

कांग्रेस चार पुस्ताको साझा पार्टी भएको उल्लेख गर्दै उनले केन्द्रीय समितिदेखि वडा, क्षेत्र, जिल्ला र प्रदेश तहसम्म जिम्मेवारी प्राप्त गर्न नसकेका नेता–कार्यकर्तालाई पनि विधानअनुसार उपयुक्त भूमिका प्रदान गरिने बताए ।

‘पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा एक जनाले जित्ने र अर्कोले हार्ने भन्ने हुँदैन । हामी सबै समान हैसियत राख्छौँ,’ थापाले भने, ‘मैले अहिले प्राप्त गरेको कुरा जिम्मेवारी मात्र हो, यो स्थायी पद होइन ।’

उनले पार्टीको आन्तरिक निर्वाचनमा प्रतिस्पर्धा गरेकै कारण कुनै पनि नेता वा कार्यकर्तालाई लामो समयसम्म भूमिकाविहीन राख्ने अभ्यास अन्त्य गर्नुपर्नेमा जोड दिए। काम गर्ने इच्छा, क्षमता र योग्यता भएका व्यक्तिलाई सङ्गठनका विभिन्न तहमा सक्रिय बनाइने उनको भनाइ थियो ।

थापाले पार्टीभित्र पद र जिम्मेवारीका आधारमा ठूलो-सानो ठान्ने प्रवृत्ति परिवर्तन गर्नुपर्ने पनि बताए । विशेष गरी आसन ग्रहण, मर्यादाक्रम र प्राथमिकताका विषयमा हुने विभेदपूर्ण व्यवहार सुधार्नुपर्ने उनको धारणा थियो ।

पार्टीका आगामी अधिवेशन र आन्तरिक संरचनाका विषयमा अनावश्यक चिन्ता नगरी जनतासँगको सम्बन्ध विस्तारमा केन्द्रित हुन उनले नेता-कार्यकर्तालाई आग्रह गरे। नयाँ नेतृत्वले नयाँ सोच र प्रतिबद्धतासहित सङ्गठनलाई जनतामुखी बनाउनुपर्ने उनको भनाइ छ ।

सभापति थापाले विगतमा कांग्रेससँग आबद्ध रहेका तर पछिल्लो समय पार्टीबाट टाढिएका परिवार र मतदातासँग पुनः सम्बन्ध स्थापित गर्न विशेष अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।

उनले मंसिर महिनाभित्रै त्यस्ता परिवारको घरदैलोमा पुगेर उनीहरूको अवस्था, धारणा र अपेक्षा बुझ्न नेता–कार्यकर्तालाई आग्रह गरे ।

‘पहिले कांग्रेसमा रहेका तर अहिले पार्टीमा नरहेका परिवारलाई भेट्नुपर्छ, चिन्नुपर्छ र उनीहरूको घरमा पुग्नुपर्छ,’ उनले भने ।

कांग्रेसबाट टाढिएका करिब १० लाख मानिससम्म पुग्ने लक्ष्य राखेर सङ्गठनात्मक गतिविधि अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

थापाले पार्टीका संस्थापक नेताहरूले स्थापित गरेका मूल्य र मान्यतालाई कायम राख्दै बदलिँदो समयका चुनौती सामना गर्न सक्ने कांग्रेस निर्माण गर्नुपर्ने बताए। विशेष गरी युवापुस्ताले उठाएका प्रश्न र अपेक्षालाई सम्बोधन गर्ने गरी पार्टीको कार्यशैली परिवर्तन गर्नुपर्नेमा उनले जोड दिए ।

आन्तरिक प्रतिस्पर्धाको चरण समाप्त भइसकेकाले अब सबै नेता–कार्यकर्ता एकताबद्ध भएर सङ्गठन सुदृढीकरणमा लाग्नुपर्ने उनको भनाइ थियो ।

पार्टीभित्रको प्रतिस्पर्धालाई आपसी विभाजनको कारण नबनाई सबैको क्षमता उपयोग गर्दै जनताको विश्वास पुनः आर्जन गर्ने अभियानमा केन्द्रित हुनुपर्ने थापाले बताए ।

सम्बन्धित खबर