२०८२ साउन १३ गते मङ्गलवार / Jul 29 , 2025 , Tuesday
२०८२ साउन १३ गते मङ्गलवार
Ads

सरकार शिथिल अर्थतन्त्रलाई गतिशील बनाउन केन्द्रित : अर्थमन्त्री पौडेल

shivam cement
मध्यान्ह
२०८१ साउन ८ गते १६:२३
सरकार शिथिल अर्थतन्त्रलाई गतिशील बनाउन केन्द्रित : अर्थमन्त्री पौडेल

काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिथिल अर्थतन्त्रलाई गतिशील बनाउने दिशामा केन्द्रित भएर सरकारले काम गरिरहेको बताएका छन् ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा मंगलबार इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान) कार्यसमितिसँगको अन्तरक्रियाका क्रममा अर्थमन्त्री पौडेलले अहिले निजी क्षेत्रको मनोबल टुटेको अवस्था रहेकाले त्यसलाई उकास्नु र अर्थतन्त्रलाई गति दिनु सरकारको मूल ध्येय रहेको स्पष्ट पारे ।

‘अहिले माग घटेको अवस्था छ, माग नबढ्दा निजी क्षेत्रले उत्पादन बढाउन सकेको छैन,’ उनले भने, ‘विगतमा अनुकूल अवस्थामा उद्योगी व्यवसायीले लगानी बढाए, उनीहरुको एक खालको प्रक्षेपण थियो, नाफा कमाउँछु, कर तिर्छु भनेर अगाडि बढे तर लगातार माग घट्दा साँवाब्याजसमेत तिर्न नसक्ने जोखिम भयो ।’

व्यापार व्यवसाय खस्किएर लामो समयदेखि समस्यामा परेका उद्योगी व्यवसायीको मनोबल उकास्ने गरी सरकार आफ्ना गतिविधि अघि बढाउने मन्त्री पौडेलले बताए । उनले लघुवित्त र सहकारीमा गम्भीर समस्या देखिएकाले त्यसलाई निराकरण र व्यवस्थापन पनि जरुरी रहेको औंल्याए ।

फरक प्रसंगमा अर्थमन्त्री पौडेलले नेपाल राष्ट्र बैंक स्वायत्त निकाय भएकाले सरकारले हस्तक्षेप नगर्ने स्पष्ट पारे । ‘सरकारका नीति र वित्त नीतिको स्पिरिटअनुसार मौद्रिक नीति ल्याउनेमा केन्द्रीय बैंक सदैव सचेत रहन्छ भन्नेमा हामी स्पष्ट छौं,’ उनले भने, ‘सरकारको लक्ष्यअनुसार नै मौद्रिक नीति आउने भएकाले हस्तक्षेप गर्नै पर्दैन ।’

अहिले अर्थतन्त्रका केही सूचक सकारात्मक रहेको र केही नकारात्मक रहेको उनले बताए । ‘नकारात्मक सूचकलाई सकारात्मक बनाउन र उत्पादन तथा उत्पादकत्व बढाउन बैंकिङ क्षेत्रमा रहेको अधिक तरलताको उच्च उपयोग गर्ने सरकारको तयारी छ,’ अर्थमन्त्री पौडेलले भने ।

अहिले राजस्व परिचालन पनि चुनौतीपूर्ण देखिएको उनको भनाइ छ । ‘लक्ष्यअनुसार राजस्व संकलन हुन सकेको छैन,’ उनले भने, ‘राजस्व भनेको उत्पादन, उत्पादकत्व र निजी क्षेत्रको मनोबलसँग जोडिएको कुरा हो, सरकारले गर्नुपर्ने धेरै काम छन्, हामी सचेततापूर्वक अघि बढ्छौं ।’

ADV

सम्बन्धित खबर

Advertise