२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

कविता : प्रतिलिपि देखिन्छन् अनेक

Nada
२०८१ साउन ५ गते ०६:१५
Shares
कविता : प्रतिलिपि देखिन्छन् अनेक

–इन्द्रकुमार श्रेष्ठ ‘सरित्’

ncell

हरेक गल्ली र मोडहरूमा
भेटिन्छन् पुराना अनि नयाँ ढँटवारेहरू
कोही पुराना पहिरनमा त कोही नयाँ पहिरनमा
फरक छैन अभिनयमा
नयाँपन छैन तिनको प्रस्तुतिमा
तैपनि दर्शक भुलाउँन खोज्छन्
जसरी पनि आफ्नो दूनो सोझ्याउँन खोज्छन् ।
यिनले आफ्नो दूनो सोझ्याइरहे
दुहुनो गाईले झैं हामीले मतरुपी दूध दिइरह्यौं
तैपनि हामीले कहिल्यै चेतेनौ
तेरो अभिनय अर्थहीन भयो भन्ने
आँट पनि हामीले कहिल्यै गरेनौं ।
अभाव, असहमती र असन्तुष्टिलाई सधैँ सहिरह्यौ
अर्को कुशल कलाकार खोज्ने 
जाँगर पनि कहिल्यै देखाएनौ  ।
समय बितिरह्यो
ढँटुवारेका प्रतिलिपिहरू मञ्चमा आइरहे
एकपछि अर्को आइरहेकै छन्
उनीहरूले हँसाए हामी हाँसीदियौँ
नचाए मज्जाले नाचिदियौँ
आफ्नो बुद्धि र विवेक ढँटवारेलाई सुम्पेर
बुख्याँचा झैं ठिङ्ग उभिरह्यौं
दुनियाँलाई मूर्ख बनाउँदै
ढँटवारेहरूले कति–कति नयाँ नाटक गर्छन्
ढँटवारेको काम भन्नु नै नाटक देखाउँनु हो
कसैको हित गर्नु हैन, प्रगति गर्नु हैन
सुख ल्याएर समृद्धिको ढोका खोल्नु त पटक्कै हैन
यो बुझेर पनि हामीले किन बुच पचाइरहेका छौ  ?
धेरै भयो ढँटवारे र तिनका प्रतिलिपिहरूले
नाच, नाटक र अभिनय भन्दै
जनताको आँखामा छाप्रो हाल्ने काम गरेको
त्यसैले भो, 
अब नाटक हैन काम गर नक्कली मयूरहरू !
तिमीहरूले नै नाच्दै नाटक देखाउँदै गर्दा
थिलथिलो भएको नाटक घरलाई 
मर्मत सम्हार र रङ्गरोगन गर ।

ताजा खबर

सम्बन्धित खबर