२०८२ कार्तिक १८ गते मङ्गलवार / Nov 04 , 2025 , Tuesday
२०८२ कार्तिक १८ गते मङ्गलवार
Ads

नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा कन्जुमर इलेक्ट्रोनिक्स प्रदर्शनी सुरु

shivam cement
२०८२ भदौ १३ गते ११:२८
Shares
नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा कन्जुमर इलेक्ट्रोनिक्स प्रदर्शनी सुरु

काठमाडौंः नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनी काठमाडौंमा सुरु भएको छ । शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनी सुरु भएको हो ।

प्रदर्शनीलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरे । मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स, एक्जीबिसन एण्ड ट्रेड सर्भिसेस इण्डिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर एण्ड इम्पोर्टर्स एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीमा नेपाल विद्युत प्राधिकरण तथा नेपाल सौर्य विद्युत उत्पादक संघ सहयोगी संस्थाको भूमिकामा रहेका छन् ।

मिडिया स्पेस सोलुसन्स नेपालका अध्यक्ष श्रीजल भट्टराईले यो प्रदर्शनी चौथो पटक भएको र यसपटक स्वदेशी तथा विदेशी कम्पनीका १ सय ५० भन्दा बढी स्टलहरू रहेको जानकारी दिए । स्टलमा उच्च गुणस्तरका अत्याधुनिक प्रविधि भएका ट्रान्समिसन तथा डिस्ट्रीब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबल, कन्डक्टर, नविनतम प्रकारका स्वीच, एलइडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, चार्जिङ स्टेशन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्री प्रदर्शनीमा राखिएका छन् ।

नेपालमा बढ्दो जलविद्युत उत्पादनलाई विभिन्न विद्युतीय माध्यममार्फत खपत बढाउने, आयात प्रतिस्थापनमा सहयोग पुर्‍याउने र ऊर्जा व्यवसायलाई सबल बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको उनले बताए । साथै यस प्रदर्शनीले विद्युत, इलेक्ट्रोनिक्स र होम अपलायन्स उद्योगसँग सम्बन्धित व्यवसायीहरूलाई एकै ठाउँमा ल्याई आपसी साझेदारी, अनुभव आदान–प्रदान र नयाँ व्यापारिक अवसरहरू सिर्जना गर्ने विश्वास गरिएको भट्टराईको भनाइ रहेको छ ।

अध्यक्ष भट्टराईका अनुसार दशैंको अवसरलाई लक्षित गरेर आयोजना गरिएको प्रदर्शनीमा उपभोक्ताहरूलाई विभिन्न ब्राण्डका विद्युतीय सामग्री एउटै स्थलमा हेर्न र मनपर्ने सामान खरिद गर्नसक्ने अवसर मिल्नेछ । नेपालमा दशैंतिहार जस्ता चाडपर्व नजिकिँदै गर्दा नयाँ विद्युतीय सामग्री खरिद गर्ने परम्परा रहेकोले प्रदर्शनीले ग्राहकलाई आकर्षित गर्नेछ ।प्रदर्शनीमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्युत, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि र वैकल्पिक ऊर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसाय प्रवर्द्धन गर्ने, नवीनतम उपलब्धीहरूको जानकारी आदान–प्रदान गर्ने तथा उपभोक्तालाई ऊर्जा व्यवस्थापन र दिगोपनाबारे सचेत गराउने लक्ष्य लिइएको उनको भनाइ छ । ३ दिनसम्म चल्ने यो प्रदर्शनीमा घरेलु कम्पनीका उत्पादनलाई प्रवर्द्धन गर्ने अवसरसँगै अन्तर्राष्ट्रिय कम्पनीका नवीनतम प्रविधिबारे प्रत्यक्ष जानकारी पाउने अवसर सहभागी र दर्शक दुवैलाई हुनेछ । 
 

ADV

ताजा खबर

सम्बन्धित खबर