२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

दूतावासबाट विभागमा मागपत्र अपलोड भएकै दिन पूर्व स्वीकृति दिने सहमति

Nada
२०८२ जेठ २१ गते ०६:१५
Shares
दूतावासबाट विभागमा मागपत्र अपलोड भएकै दिन पूर्व स्वीकृति दिने सहमति

काठमाडौं : वैदेशिक रोजगार विभागले विदेशस्थित नेपाली राजदूतावासबाट मागपत्र प्रमाणीकरण भएर विभागको प्रणालीमा अपलोड भइ व्यवसायीले आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गर्ने निर्णय कार्यान्वयन गरेको बताएको छ ।

ncell

विभागमा दुई हप्ताअघि आयोजित पत्रकार सम्मेलनमा नवनियुक्त महानिर्देशक कमलप्रसाद भट्टराईले रीतपूर्वक अनलाइन दरखास्त गरेपश्चात आवेदन दिएकै दिन ‘वर्क परमिट अन द सेम डे’को मान्यताअनुसार श्रम स्वीकृति दिने व्यवस्था कार्यान्वयन गरिने बताएका थिए । 

विभागको श्रम स्वीकृति शाखाका निर्देशक उपेन्द्रराज पौडेलले सो प्रतिबद्धताअनुसार सोमबारदेखि तत्काल श्रम स्वीकृति दिने व्यवस्था कार्यान्वयन गरिएको र वैदेशिक रोजगार व्यवसायीलाई त्यसको जानकारी गराइएको मध्यान्ह दैनिकलाई बताए ।

उनले विभागले प्रदान गर्ने श्रम स्वीकृतिको कार्यलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन नवीनतम प्रविधिबाट काम गर्ने भन्दै वैदेशिक रोजगारीसम्बन्धी ठगी, राहत, उद्धार, अनुगमन र नियमन थप प्रभावकारी बनाउन अन्य कदमहरू पनि चालिएको बताए ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विभाग समन्वय समिति संयोजक तथा संघका  द्वितीय उपाध्यक्ष देवकुमार खोखालीले श्रम स्वीकृतिको कामलाई व्यवस्थित गर्न संघले गरेको आग्रह अनुसार विभागले सोमबारदेखि सकारात्मक पहल गरेको भन्दै बिना झन्झट काम हुने अपेक्षा बढेको बताए ।

उनले अनुमति नलिएका शैक्षिक परार्मश केन्द्र, ट्राभल तथा टिकेटिङ एजेन्सीलगायतले वैदेशिक रोजगारको काम अनधिकृतरूपमा गरिरहेको भन्दै उनीहरूलाई तत्कालै  कारबाहीको दायरामा ल्याउन अनुगमनलाई तीव्रता दिनुपर्ने, वैदेशिक रोजगारसम्बन्धी प्रमाण भएका उजुरी दर्ता गरी गुनासोको तत्काल सम्बोधन गर्नुपर्ने, व्यवसायीबाहेक अन्य संस्था वा व्यक्तिले वैदेशिक रोजगारसम्बन्धी विज्ञापन गर्ने, रकम र राहदानी लिएर वैदेशिक रोजगारमा पठाइदिने जस्ता गलत प्रवृत्ति यथावत् रहेकाले ती समस्याको समाधानका लागि पनि विभागबाट ठोस कदम चालिनुपर्ने माग गरे ।

उनले भने, ‘तत्कालै श्रम स्वीकृति दिने निर्णय गरेर विभागले राम्रो पहल गरेको छ । लामो समयदेखि थाती रहेका अन्य समस्या समाधान पनि छिटो गरियोस् भन्ने हाम्रो माग हो ।’

ताजा खबर

सम्बन्धित खबर