२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

नेवार समुदायले मनाए सिथि नखः पर्व

Nada
२०८२ जेठ १८ गते १७:११
Shares
नेवार समुदायले मनाए सिथि नखः पर्व


काठमाडौं : जेठ शुक्लपक्ष षष्ठीका दिन आइतबार नेवार समुदायले सिथि नखः पर्व मनाएका छन् । सिथि नखःको दिन नेवार समुदायले मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गर्दछन् । 

ncell

वर्षात्को बेला बगेर आउने भेल र खानेपानीको मुहानमा फोहर पानी मिसिएर दूषित नहोस् भनी पानीको मुहान र स्रोतको वरिपरि समेत सरसफाइ गरी निकास खोल्ने गरिएको हो । साथै हिउँदमा पुरिएको, थुनिएको र सुकेको मूललाई वर्षातको पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मुलको सफाइ गर्ने गरिएको छ । 

सिथि नखःको दिन किसानले खेत बारीमा काम गर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेकाले एकाबिहानै घरगोठमा रहेको गाई बस्तुको गोबर मललाई खेतबारीमा पुर्याउने गर्दछन् । त्यसपछि आफ्नो घर आँगन सफा गरी सिथि नखः पर्व मनाउन थाल्छन्। भगवान कुमारको जन्म दिनसमेत भएकाले यस दिन नेवार समुदाय कुमारको पुजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान बारा खाने प्रचलन रहेको छ । 

सिथि नखः पर्वका अवसरमा भक्तपुरको सिद्धपोखरी, नवदुर्गा मन्दिरलगाएतका स्थानमा दर्शनार्थीको घुईचो लाग्ने गर्दछ। भगवान् कुमारको जन्मदिनसमेत भएकाले नेवार समुदाय कुमार र नवदुर्गागणको पूजाका साथै देवाली गर्ने प्रचलन रहेको भक्तपुरका स्थानीयहरुको भनाइ छ ।  

मल्लकालदेखि मान्दै आएको नवदुर्गा भवानीलाई यस दिन भक्तपुर र मध्यपुरथिमि नगरका प्रत्येक घरधुरीले पूजा चढाउने परम्परा छ । यसदिन नेवार समुदायमा नुहाउनाले वर्षा फाप्ने जनविश्वास पनि छ ।
 

ताजा खबर

सम्बन्धित खबर