२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

कविहरूले गणतन्त्रका लागि जनतालाई जागृत पारेको इतिहास छ : मन्त्री पाण्डे

Nada
२०८२ जेठ १५ गते १४:२८
Shares
कविहरूले गणतन्त्रका लागि जनतालाई जागृत पारेको इतिहास छ : मन्त्री पाण्डे

काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानले १८औं गणतन्त्र दिवसको अवसरमा ‘कविता उत्सव–२०८२’ आयोजना गरेको छ । दीप प्रज्वलन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले कार्यक्रम उद्घाटन गरेका थिए ।

ncell

उद्घाटन मन्तव्यमा प्रमुख अतिथि मन्त्री पाण्डेले लोकतन्त्र र गणतन्त्र स्थापनामा कवि र साहित्यकारको भूमिका ऐतिहासिक रहेको बताउँदै कविताले जनतालाई जागरुक बनाउने काम गरेको बताए । उनले संवैधानिक वा सक्रिय किसिमको राजतन्त्र पुनःस्थापनाको सम्भावना अस्वीकार गर्दै यस्तो प्रयास गोलचक्रमा फस्ने काम भएको धारणा राखे । गणतन्त्रका केही कमजोरीहरू भए पनि त्यसलाई सुधार्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

“गणतन्त्रमा केही भएन भन्ने मिथ्या धारणा तोड्न प्राज्ञिक तथा बौद्धिक वर्ग अग्रसर हुनुपर्छ,” मन्त्री पाण्डेले भने, “कविता जनचेतना सिर्जना गर्ने प्रभावशाली माध्यम हो ।” उनले संसदमा अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी विधेयक प्रस्तुत भइसकेको जानकारी दिँदै संस्कृति, पर्यटन तथा हवाई ऐन निर्माणमा पनि आफू संलग्न रहेको बताए ।

कार्यक्रमका विशेष अतिथि भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले मन्तव्यको सट्टा भोजपुरी गीत 'दिलसे सोच' प्रस्तुत गरे ।

सभाध्यक्ष तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले गणतन्त्र विरोधी धारणा अहिलेको युग सापेक्षित नभएको बताउँदै गणतन्त्र भएकै कारण आज स्वतन्त्ररूपमा बोल्न पाइएको बताए । उनले प्रस्तुत कविताहरू गणतान्त्रिक चेतनाले भरिएको उल्लेख गरे ।

कार्यक्रममा प्राज्ञ परिषद् सदस्य तथा काव्य विभाग प्रमुख बाबा बस्नेतले वर्तमान कविहरू परिवर्तन र प्रगतिशील मूल्य आत्मसात गर्दै लेखिरहेकोले गणतन्त्रको विकल्प अरू कुनै व्यवस्था हुन नसक्ने धारणा व्यक्त गरे ।

त्यस्तै, सामाजिक शास्त्र विभाग प्रमुख डा. कौशिला रिसालले उद्घोषणका क्रममा विभिन्न जनआन्दोलन र जनयुद्धको जगबाट प्राप्त गणतन्त्रको संरक्षण र प्रवर्द्धनमा साहित्यकारको भूमिका महत्त्वपूर्ण रहेको बताइन् ।

‘कविता उत्सव–२०८२’ मा प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य तथा प्रसिद्ध कवि श्रवण मुकारुङसहित १९ जना कविहरूले मातृभाषामा कविता वाचन गरेका थिए । नेपाली भाषामा प्रोल्लास सिन्धुलीय, केशव सिलवाल, शकुन्तला जोशी, मिश्रामाया गुरुङ, विना थिङ, केवल बिनावी, रिमा केसी, अनिल श्रेष्ठ र सुरज रानाले कविता वाचन गरे ।

मैथिलीमा रुपा झा, नेपाल भाषामा रजनिमिला महर्जन, खस भाषामा ओम रिजाल, थारु भाषामा भूमिका थारु, डोट्यालीमा कर्णदयाल सोराडी, तामाङमा मुक्तान थेबा, थुलुङ भाषामा महेन्द्र थुलुङ राई र लिम्बू भाषामा भीमा खजुमले गणतन्त्रको चेतनाले ओतप्रोत कविता सुनाए ।

ताजा खबर

सम्बन्धित खबर