२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सत्तामा बस्नेहरु थाकेर भाग्लान् तर शिक्षकहरु आन्दोलनबाट भाग्दैनन्ः अध्यक्ष सुवेदी

Nada
२०८२ वैशाख १५ गते १५:००
Shares
सत्तामा बस्नेहरु थाकेर भाग्लान् तर शिक्षकहरु आन्दोलनबाट भाग्दैनन्ः अध्यक्ष सुवेदी

काठमाडौंः नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक आन्दोलन बद्नाम गराउन विरोधीहरुले अनेक कुप्रचार गरिरहेको आरोप लगाएका छन् ।

ncell

विद्यालय शिक्षक ऐन जारी गर्न माग गर्दै गत चैत्र २० गतेदेखि काठमाडौंमा जारी आन्दोलनको २७ औँ दिनलाई सोमबार सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले आइतबार भएको शिक्षक आन्दोलनमा प्रहरी प्रशासनले गरेको अलोकतान्त्रिक कदमको महासंघले भत्र्सना गरेको बताए । उनले आन्दोलनमा ‘भिजिलान्ते’ प्रयोग गरी विरोधीहरुले ढुङ्गामुडाको अवस्था सिर्जना गरेर प्रहरीले दमन गरेको आरोप लगाए । उनले सत्तामा बस्नेहरु थाकेर भाग्न सक्छन् तर आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारी माग पूरा नभइ आन्दोलनबाट नभाग्ने जिकिर गरे । उनले शिक्षकहरुको २४ बुँदे मागमध्ये सरकारले तत्काल गर्नसक्ने १६ बुँदाको कार्यसूची बनाएको र त्यो नै आधिकारिक दस्ताबेज भएको बताए ।

उनले भने, ‘आज २७ औँ दिन पनि हजारौँ शिक्षक आन्दोलनको मोर्चामा डटिरहेका छन् । यी शिक्षक कर्मचारी साथीहरु थाक्दैनन्,गल्दैनन् भाग्दैनन् । सत्तामा हुनेहरु थाक्लान् तर शिक्षक कर्मचारीहरु थाक्दैनन् गल्दैनन् । हिजो प्रहरीले प्रशासनले बर्बरताको पराकाष्ठा देखायो । नाङगो नाँच देखायो । शान्तिपूर्ण आदोलनमा रहेका शिक्षक कर्मचारीमाथि केही हेलमेटधारी भिजिलान्तेहरु खटाएर ढुङ्गामुडाको वातावरण सिर्जना गरायो र त्यही निहुँमा लाठी वर्षायो । फोहोरा हान्यो । हामी त्यसको घोर निन्दा गर्दछौँ । सुन्दै छु कहिले पाँच बुँदे कहिले सात बुँदेको त कहिले नौ बुँदाका के के आइरहेका छन् । हामीले तपाईहरुलाई डाँट्नु पर्ने केही छैन । नेपाल सरकारले ऐनमा के के गर्नु पर्छ भनेर २४ बुँदे कार्यसूची जारी गरेका छौँ । त्यही नै हाम्रो आधिकारिक डकुमेण्ट हो ।  सरकारले गर्नसक्ने १६ बुँदाको कार्यसूची बनाएका छौँ ।’

अध्यक्ष सुवेदीले आईतवारको आन्दोलनमा ६२ जना शिक्षक घाइते भएको भन्दै ६२ हजार शिक्षक घाइते हुन तयार रहेको तर शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोकिने बताए । 

ताजा खबर

सम्बन्धित खबर