२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव

Nada
२०८२ वैशाख १२ गते १६:२३
Shares
सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव

कैलाली : सुदूरपश्चिम प्रदेशमा रेबिज विरुद्धको खोप अभाव भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समयमा उपलब्ध गराउन नसकेका कारण खोप अभाव भएको हो । 

ncell

धनगढीस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले माग अनुसार खोप उपलब्ध हुन नसकेको जानकारी दिएको छ । 

केन्द्रका कोल्डचेन अफिसर ट्विङ्कल कुँवरले सुदूरपश्चिममा डेढ हप्तादेखि खोप अभाव रहेको बताइन् । उनले माग अनुसार उपलब्ध हुन नसकेका कारण समस्या भएको बताइन । ‘हामीले मन्त्रालयलाई माग फाराम भरेर पठाएका छौँ, मन्त्रालयले डेढ हप्ता अझै लाग्ने भनेको छ’ उनले भनिन् ‘यो समस्या अझै केही दिन लम्बिने देखिन्छ ।’

कैलाली र कञ्चनपुरका प्रादेशिक अस्पताल र विभिन्न स्वास्थ्य चौकीमा मासिक ४० हजार बढी डोज (भाइल) खोपको माग हुँदै आएको छ । 

केन्द्रले सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली अस्पताल र ९ वटै जिल्लाका विभिन्न अस्पताल र स्वास्थ्य चौकीमा खोप उपलब्ध गराउँदै आएको छ ।

खोपको अभाव हुँदा सर्वसाधारण बिरामीहरू निजी क्लिनिक तथा अस्पतालमा खोप लगाउन बाध्य भएका छन । 
टीकापुर अस्पतालका खोप प्रमुख मोहन सिंह साउदले अस्पतालमा दैनिक ३५ बढी रेबिजको खोप लगाउन बिरामीहरू आउने गरेका छन ।

‘हामीले मासिक ३ सय भाइल माग्ने गरेका छौँ, यो आर्थिक वर्षको शुरुदेखि नै मासिक १३० भाइलसम्म मात्रै आपूर्तिले दिने गरेको छ’ उनले भने, ‘आपूर्ति नै नहुँदा बिरामीलाई समस्या परेको हो ।’ 

कुकुरले मानिसलाई टोकेका खण्डमा अनिवार्य रुपमा लगाउनु पर्ने रेबिज विरुद्धको खोप चरम अभाव भएपछि सर्वसाधारण बिरामीहरू उपचार नै नपाउने अवस्थामा पुगेका छन् ।

अस्पतालमा रेबिज खोजको अभाव भएपछि स्वास्थ्य बिमा गरेका बिरामीहरूले समेत निजी क्लिनिकबाट खरिद गरेर खोप लगाउनु परेको छ ।
 

ताजा खबर

सम्बन्धित खबर