२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

लहानमा राजमार्ग केन्द्रित होटल अनुगमन

Nada
२०८१ चैत २८ गते ०९:१५
Shares
लहानमा राजमार्ग केन्द्रित होटल अनुगमन

सिरहा : इलाका प्रशासन कार्यालय लहानको अगुवाइमा लहानस्थित राजमार्ग केन्द्रित होटलमा अनुगमन सुरु गरिएको छ । अनुगमनका क्रममा बुधबार म्याद गुज्रेका पेय पदार्थ तथा सडेगलेका खानेकुरा बिक्रिवितरण गर्ने चार वटा होटललाई ३० हजार बराबरको जरिवानासमेत गरिएको छ ।

ncell

इलाका प्रशासन कार्यालय लहानका अधिकृत सन्तोष रायको नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालय राजविराज, घरेलु तथा साना उद्योग कार्यालय लहान, आन्तरिक राजस्व कार्यालय लहान, इलाका प्रहरी कार्यालय लहान, उपभोक्ता मञ्च नेपाल सिरहाका प्रतिनिधिसहितको संयुक्त टोलीले होटलहरूको अनुगमन सुरु गरेका हुन् ।

संयुक्त अनुगमन टोलीले लहान-१ को कान्छा होटलमा म्याद गुज्रेको ‘बडविसर’ ब्रान्डको ३७ ओटा बियरको बोतल जफत गरी नष्ट गर्नाका साथै उक्त होटललाई रु. पाँच हजार जरिवाना गरिएको छ । यसैगरी, लहान-४ को होटल गोधुल्लीको भान्साका खानेकुरा नछोपी राखिएको, फ्रिजमा पाकेको र नपाकेको मासुसँगसँगै राखिएको तथा सरसफाइमा हेलचेक्र्याइँ गरेको पाइएपछि उक्त होटललाई पनि रु. पाँच हजार जरिवाना तोकिएको छ ।

यस्तै, लहान आँखा अस्पतालको परिसरमा रहेको किरान स्विट्स एन्ड भोजनालयले अखाद्य सामग्री प्रयोग गरी खानेकुरा बनाएको, खाद्य वस्तु छोप्न पत्रपत्रिका प्रयोग गरिएको तथा भान्साको नजिकमा फोहोर थुपारिएको पाइएपछि रु. १० हजार जरिवाना गरिएको छ । उक्त होटलको सामुन्नेमा रहेको रिषिका जनरल स्टोर्समा म्याद गुज्रेको ३८ ओटा ‘कोल्ड ड्रिंकस’ पेय पदार्थ फेला परेपछि रु. १० हजार जरिवाना तोकिएको छ । उक्त पसलले इजाजतविना अन्त:शुल्कजन्य वस्तुसमेत बिक्री वितरण गरेको पाइएपछि उक्त सामग्री जफत गरी आन्तरिक राजस्व कार्यालय लहानलाई जिम्मा लगाइएको छ ।

अनुगमनका क्रममा होटल सम्राट इन र चौधरी होटलले आधारभूत रूपमा होटलको मापदण्ड पालना गरेको पाइएकाले सचेतीकरण मात्र गरिएको इलाका प्रशासन कार्यालय लहानका अधिकृत सन्तोष रायले जानकारी दिए । नयाँ वर्ष २०८२ लाई दृष्टिगत गरी आउँदो वैशाख १ गते लाग्ने फूलबारी मेलामा आउने लाखौँ भक्तजनले यहाँका होटलहरूमा खाना खाने हुँदा ग्राहकको स्वास्थ्यमाथि खेलबाड हुन नदिन अनुगमन सुरु गरिएको बताए । उनले उपभोक्ताको स्वास्थ्यमाथि लापरबाही गर्ने होटेलहरूलाई कानुनअनुसार जरिवाना गरिएको भन्दै आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने बताए ।

ताजा खबर

सम्बन्धित खबर