२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

यमनमा हुथी विद्रोहीविरुद्ध ‘निर्णायक र शक्तिशाली’ सैन्य कारबाही गर्ने ट्रम्पको घोषणा

Nada
२०८१ चैत ३ गते १२:३९
Shares
यमनमा हुथी विद्रोहीविरुद्ध ‘निर्णायक र शक्तिशाली’ सैन्य कारबाही गर्ने ट्रम्पको घोषणा

काठमाडौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध ‘निर्णायक र शक्तिशाली’ सैन्य कारबाहीको घोषणा गरेका छन् । अमेरिकाले हुथी विद्रोहीलाई विदेशी आतङ्कवादी सङ्गठनको रुपमा पुनः परिभाषित गरेको करिब १५ दिनपछि यो घोषणा भएको हो ।

ncell

‘आज मैले अमेरिकी सेनालाई यमनमा हुथी आतङ्ककारीविरुद्ध निर्णायक र शक्तिशाली सैन्य कारबाही गर्न आदेश दिएको छु। उनीहरूले अमेरिकी र अन्य सहयोगी मुलकका जहाज, विमान र ड्रोनविरुद्ध पाइरेसी, हिंसा र आतङ्कवादको अनवरत अभियान चलाएका छन्’, ट्रम्पले आफ्नो ट्रुथ सोसल मिडिया प्लेटफर्ममा लेखेका छन् । 

अमेरिकाले हुथी विद्रोहीविरुद्ध ’अत्यधिक घातक बल’ प्रयोग गर्ने बताउँदै उनीहरूले स्वेज नहर,रेड सी र एडेनको खाडीबाट ढुवानीमा अवरोध पुर्‍याएको आरोप लगाए । उनले भने, ‘अमेरिकी पानीजहाजमा हुथीको आक्रमण सह्य हुने छैन। जबसम्म हामीले आफ्नो उद्देश्य प्राप्त गर्दैनौं तबसम्म हामी अत्यधिक बल प्रयोग गर्नेछौँ।’

राष्ट्रपति ट्रम्पले भने, ‘हुथी विद्रोहीले विश्वको सबैभन्दा महत्वपूर्ण जलमार्गमध्ये एकमा पानीजहाज बन्द गरेका छन्, विश्वव्यापी बजारको विशाल भूभागलाई रोकेका छन् र नेभिगेसनको स्वतन्त्रताको मूल सिद्धान्तमाथि आक्रमण गरेका छन्, जसमा अन्तर्राष्ट्रिय व्यापार र वाणिज्य निर्भर छ।’

उनले पूर्व राष्ट्रपति जो बाइडेनले हुथीविद्रोहीविरुद्ध दिएको ‘कमजोर’ प्रतिक्रियाको आलोचना गर्दै हुथी विद्रोहीले अमेरिकी सैन्य र व्यापारिक जहाजमाथि गरेको आक्रमणले अमेरिका र विश्व अर्थतन्त्रलाई अर्बौं डलरको क्षति पुगेको बताए । 

चार महिनाअघि लाल सागर हुँदै जाने अन्तिम अमेरिकी युद्धपोतमाथि हुथी विद्रोहीले दर्जनभन्दा बढी पटक आक्रमण गरेका थिए । इरानको आर्थिक सहयोगमा हुथी विद्रोहीले अमेरिकी विमानमा क्षेप्यास्त्र प्रहार गरेका अमेरिकी सैनिक तथा सहयोगीलाई निशाना बनाएका छन् । 

ट्रम्पले अगाडी भने, ‘कुनै पनि आतङ्कवादी शक्तिले अमेरिकी व्यापारिक र नौसैनिक जहाजहरूलाई स्वतन्त्र रूपमा विश्वको जलमार्गमा यात्रा गर्नबाट रोक्ने छैन।’ ट्रम्पले इरानलाई प्रत्यक्ष चेतावनी दिँदै हुथी विद्रोहीलाई दिएको समर्थन अन्त्य गर्न र जारी रहे गम्भीर परिणाम भोग्नुपर्ने पनि चेतावनी दिए । हुथी आतङ्ककारीहरूलाई इरानको समर्थन तुरुन्तै समाप्त हुनुपर्ने अन्यथा इरानले पनि यसको नराम्रो प्रतिफल प्राप्त गर्ने उनले चेतावनी दिए । एजेन्सी

सम्बन्धित खबर