२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुन्छ : मन्त्री चौधरी

Nada
पूर्ण सार्की
२०८१ फागुन २५ गते १६:२२
Shares
दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुन्छ : मन्त्री चौधरी

सुर्खेत : दशौं राष्ट्रिय खेलकुदका लागि मूल आयोजक सचिवालय उद्घाटन गरिएको छ । आइतबार कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरको रंगशाला परिसरमा युवा तथा खेलकुदमन्त्री एवं मूल आयोजक समिति संयोजक तेजुलाल चौधरी, कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकासमन्त्री घनश्याम भण्डारीलगायतको सहभागितामा सचिवालयको उद्घाटन गरिएको हो । कर्णालीमा आगामी जेठ ३ देखि १० गतेसम्म दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै छ ।

ncell

आयोजक सचिवालयको उद्घाटन गर्न सुर्खेत पुगेका मन्त्री तथा संयोजक चौधरीले तोकिएकै समयमा प्रतियोगिता सञ्चालन हुने बताए । '१०औं राष्ट्रिय खेलकुदको प्राविधिक समस्याका कारण बारम्बार मिति सारेको र अब सम्पुर्ण तयारी पूरा भइसकेको छ, अब पनि मिति सारियो भने भागेर जाने अन्त कतै ठाउँ छैन, अन्तिम पटक तोकिएकै समयमा खेलकुद सञ्चालनहुने छ ।'

खेल सञ्चालनका लागि टेण्डर प्रक्रिया, समिति गठन, खरिदलगायतका आवश्यक कार्यमा काम भइरहेको उनले जानकारी दिए ।

मुख्यमन्त्री कँडेलले निर्धारित समयमा प्रतियोगिता सञ्चालन गर्न जिम्मेवार व्यक्तिहरू अलमल हुन नमिल्ने बताए । जेठको महिना खेलकुद प्रतियोगिताका लागि मौसम अनुकूल नहुनेमा आशंका उठिरहेको भन्दै उनले खेलसम्बद्ध व्यक्तिले सकारात्मक धारणा जगाउनुपर्नेमा जोड दिए ।

सचिवालय उद्घाटनसँगै प्रतियोगिता निर्धारित समयमा सञ्चालन हुने विश्वास जागेको सामाजिक विकासमन्त्री धनश्याम भण्डारीले बताए । 'कर्णालीले राष्ट्रियस्तरको कार्यक्रम सञ्चालन गर्न सक्छ भन्ने सन्देश जानेगरी सकारात्मक धारणा बनाउन आग्रह गर्छु,' उनले भने, 'यो प्रतियोगिताले कर्णालीको खेलकुदको सम्भावना र खेलाडीको प्रतिभाको पहिचान हुनेछ ।’

वीरेन्द्रनगर नगरपालिकाकी नगर प्रमुख मोहनमाय ढकालले दशौं राष्ट्रिय खेलकुद सञ्चालनका लागि नगरपालिकाले समेत सहयोग गर्ने बताइन् ।

सम्बन्धित खबर