२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

कम्युनिटीस्तरीय 'रमादान फुटबल च्याम्पियन' प्रतियोगितामा नेपालको विजयी सुरुवात

Nada
तिलु शर्मा पौडेल
२०८१ फागुन २४ गते १७:२९
Shares
कम्युनिटीस्तरीय 'रमादान फुटबल च्याम्पियन' प्रतियोगितामा नेपालको विजयी सुरुवात

दोहा, कतार : कतारमा शुक्रबार रातिदेखि सुरु भएको कम्युनिटीस्तरीय 'रमादान फुटबल च्याम्पियन' प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । अल फुर्जान खेल मैदान ऐनखालीदमा भएको खेलको २०औ मिनेटमा नेपालका तर्फबाट नवीन महतोले गरेको गोल नै निर्णायक गोल बनेसँगै बंगलादेशलाई १-० गोलले हराउँदै नेपालले विजय सुरुवात गरेको हो ।

ncell

अर्जुन सुब्बाको कप्तानीमा आकाश सुब्बा, मिसन राई, रबिन माझी, तिल बहादुर थापा, सुमन लिम्बु, रोशन मेचे, करण बसफोर,  सुजन नेम्वाङ, प्रदीप चौधरी थारु, अर्जुन सुब्बा,नवीन महतो र इन्द्र बहादुर चौहानको टिम प्रतियोगितामा सहभागी भएको छ । सेभेन ए साइडको नियममा रहेर खेल्ने जनाइए पनि मैदानमा ८/८ जना खेलाइएको गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारका खेलकुद संयोजक तथा टिमका म्यानेजर रमेश केसीले जानकारी दिए । टिमको हौसलाका लागि नेपाली झन्डासहित एनसीसी कतारका अध्यक्ष रमेश भट्ट, प्रथम उपाध्यक्ष कृष्ण पन्थी, कतारको राष्ट्रिय मानव अधिकार समितिका नेपाली प्रतिनिधि प्रोफेसर मोहम्मद रमजान अलि मियाँ सहित सयौँ नेपाली समर्थक मैदान पुगेका थिए ।

मुनाल गुरुङ कोचका रूपमा रहेको नेपाली टिममा श्री गुरुङ टिम लिडरको भूमिकामा छन् भने सुरज शर्मा अधिकारी, केशु मल्ल ठकुरी राजन चापागाईँ लगायतले व्यवस्थापनको जिम्मेवारी सम्हालेका छन् । एनसीसी कतारको समन्वयमा राष्ट्रिय मानवअधिकार समिति कतारले कम्युनिटीस्तरीय फुटबल प्रतियोगिताको आयोजना गरेको हो । विभिन्न आठ देश सहभागी उक्त प्रतियोगितामा नेपालले सेमिफाइनल खेलमा आगामी बिहीबार राति १० बजे भारतको सामना गर्नेछ । प्रतियोगिताको फाइनल खेल मार्च १४ तारिक राति १० बजे हुनेछ भने तृतीय स्थानका लागि सेमिफाइनल खेलका उपविजेता टिमहरू आपसमा भिड्नेछन् । विजेताले नगद कतारी रियाल ५ हजार, द्वितीय पुरस्कार कतार रियाल ३ हजार, तृतीय पुरस्कार कतारी रियाल २ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

आगामी खेलमा उपस्थिति जनाएर खेलाडीको हौसलालाई बुलन्द गरिदिन एनसीसी कतारले आग्रह गरेको छ । निःशुल्क प्रवेश गर्न सकिने प्रतियोगिताको विस्तृत जानकारीका लागि एनसीसीका खेलकुद संयोजक रमेश केसी ३३३४ ४९७७ र मियाँलाई ७७३०५६५७ सम्पर्क गर्न सकिने व्यवस्था आयोजकले मिलाएको छ ।

सम्बन्धित खबर