२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

सबै मुलुकमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाउनुपर्ने संघको माग

Nada
२०८१ फागुन २३ गते ०६:१५
Shares
सबै मुलुकमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाउनुपर्ने संघको माग

काठमाडौं : नेपाल मेडिकल व्यवसायी संघले सूचीकृत मेडिकल सेन्टरले सबै मुलुकमा वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाउनुपर्ने माग गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर संघले हाल दक्षिण कोरिया, मलेसिया, इजरायल, साउदी अरेबियालगायतका मलुकमा जाने कामदारको स्वास्थ्य परीक्षण सिन्डिकेट खडा गरी गरिएको भन्दै तत्काल ती सिन्डिकेट खारेजी नगरिए आन्दोलन गर्ने बताएको छ ।

ncell

पत्रकार सम्मेलनमा संघका महासचिव कृष्णप्रसाद बजगाईंले २१२ संस्थालाई श्रम मन्त्रालयले नयाँ मापदण्डअनुसार सूचीकरण गरे पनि सबैलाई काम गर्ने समान अवसर नरहेको बताए । मलेसियाका लागि ३६ वटा, साउदी अरेबिया, ओमान र बहराइनका लागि गाम्काको नाममा १९, इजरायलका नाममा ५, दक्षिण कोरियाका लागि ४ मेडिकल सेन्टरहरूलाई मात्र स्वास्थ्य परीक्षणको अनुमति दिइनु भेदभाव र पक्षपातपूर्ण रहेको बताए । 

सूचीकृत संस्थाहरूलाई समान रूपमा काम गर्ने अवसर स्थापित नगरे आन्दोलनमा उत्रिनेसमेत महासचिव बजगाईंले बताए ।

मलेसियाले नेपालबाट कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाको नाम पटक–पटक इमेलमार्फत मागेको तर त्यसलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयले गुपचुप राखेका संघले आरोप लगाएको छ ।

पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा संघले सन् २०२४ को १३ अप्रिल, २४ जुलाई, ५ अक्टोबर र २७ डिसेम्बरमा नेपाली स्वास्थ संस्थाको नाम मागेको तर दुवै मन्त्रालयले इमेल गोप्य राखेको उल्लेख छ ।

महासचिव बजगाईंले आवश्यक परे इमेलको बेहोरा सार्वजनिक गरिने बताए । उनले मलेसियाको सेक्युरिटी र सर्भिस सेक्टरमा म्यानपावर कम्पनी लक्षित गरेर सिन्डिकेट खडा गर्ने प्रयास भइरहेको पनि दाबी गरे । संघले वैदेशिक रोजगार ऐनमा समय सापेक्ष सुधार, स्वास्थ परीक्षण गर्ने संस्थाहरूमा आइरिस बायोमेट्रिकको व्यवस्था, कामदारको नाम अनलाइन दर्ता, संघीय संरचनाअनुसार सबै क्षेत्रमा मेडिकल संस्थाको विस्तारको माग पनि गरेको छ ।

उपाध्यक्ष दिवाकर गौतमको सभापतित्वमा आयोजित पत्रकार सम्मेलनमा सचिव पंकज झाले स्वागत मन्तव्य राखेका थिए ।

ताजा खबर

सम्बन्धित खबर