२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

मालिकामा पर्यटक भित्र्याउन सडक निर्माण

Nada
२०८१ फागुन ५ गते ११:०३
Shares
मालिकामा पर्यटक भित्र्याउन सडक निर्माण

म्याग्दी :  म्याग्दीको धवलागिरी गाउँपालिका–३ मा रहेको पर्यटकीय स्थल मुना मालिका जोड्ने सडक निर्माण थालिएको भएको छ ।

ncell

गण्डकी प्रदेश सरकार र धवलागिरी गाउँपालिकाले मुनादेखि मालिका धुरी जोड्ने सडक निर्माण थालेका हुन् । भौगोलिक विकटता र यातायातको असुविधाका कारण ओझेलमा परेको मुना मालिकामा पर्यटक भित्र्याउनका लागि सडक निर्माण गर्न लागिएको धवलागिरी गाउँपालिका-३ का वडा अध्यक्ष देवेन्द्र रोकाले बताए ।

“गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा विनियोजन गरेको रु. १५ लाख बजेटबाट उपभोक्ता समिति मार्फत मुना देखि साइलाखर्क सम्म दुई किलोमिटर एक सय मिटर सडक निर्माण सकिएको छ,” उनले भने “गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु. २० लाख बजेटबाट साइलाखर्क देखि मालिका धुरीतर्फ थप तीन किलोमिटर सडक निर्माणका लागि पूर्वाधार विकास कार्यालयले ठेक्का आव्हानको तयारी गरेको छ ।”

दुई  योजना मार्फत पाँच किलोमिटर सडक निर्माण भएपछि पाँच घण्टाको यात्राअवधी ४५ मिनेटमा छोटिने वडा अध्यक्ष रोकाले बताए । मुनादेखि मालिका धुरी पुग्न हाल कम्तीमा छ घण्टा जङगलको उकालो बाटोमा पैदल यात्रा गर्नुपर्छ । सडक निर्माण भएपछि एक घण्टा भन्दा कम समय पैदल यात्रा गरेर मालिका पुग्न सकिनेछ । 

सूर्योदय, हिमशृङखला, पहाडी भूगोल, वन पैदावार, वन्यजन्तुको अवलोकन गर्न सकिने मुना मालिका समुन्द्री सतहदेखि तीन हजार सात सय मिटर उचाइमा छ । पुथा, गुर्जा, सिस्ने, धौलागिरि, मानापाथी, अन्नपूर्ण, निलगिरि हिमशृङखलाको अवलोकन गर्न सकिने मुना मालिका सुनसान छ । म्याग्दी र बागलुङका बस्तीहरू देखिन्छ । बादल र पहाडको लुकामारी हेर्न पाइन्छ ।

मुनादेखि मालिका धुरी जाने पदमार्ग दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाब्रे) को बासस्थान पनि भएको वडा अध्यक्ष रोकाले बताए । मुना मालिकामा हरेक वर्षको वुद्धपूर्णिमाका दिन मेला लाग्ने गर्छ । जालिका, मालिका र कालिका देविको थान रहेको छ । बुद्ध पूर्णमाका दिन मुना मालिकामा पूजाआजा गर्नाले मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ ।

मालिका गाउँपालिकाको देविस्थान र धवलागिरीको मुनाका बासिन्दाहरू यहाँ पूजाआजाका लागि जाने गर्दछन् । पहिले पहिले यहाँ धार्मिक मेला लाग्ने र ठेलो फाल्ने प्रतियोगिता हुने गरेको बुढापाका बताउँछन् । यो क्षेत्रमा मुनाका कृषकले गाईभैसी र भेडा बाख्राको गोठ लैजाने चलन थियो । पाहुना, पर्यटक र भक्तजन आश्रय स्थलमा बास बस्छन् । होटल तथा रेष्टुरेन्ट नभएकाले खाने र बन्दोबस्तीका सामान आफै लैजानुपर्ने हुन्छ ।

यात्राअवधी र बाटो छोट्याउने, आश्रय स्थल बनाउने, चिया पसल सञ्चालन, देविस्थान, ताकमकोत र ढोरपाटनको जलजलासँग मुना मालिकालाई जोडेर पदमार्ग सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए । 

ताजा खबर

सम्बन्धित खबर