२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

सांसद शाहीको अभिव्यक्तिप्रति राष्ट्रियसभाका सांसदको आपत्ति

Nada
२०८१ फागुन ४ गते १६:०३
Shares
सांसद शाहीको अभिव्यक्तिप्रति राष्ट्रियसभाका सांसदको आपत्ति

काठमाडौँ : राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमा ‘राष्ट्रियसभा वृद्धाश्रम हो’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

ncell

आजको बैठकको शून्य समयमा सांसद नारायणदत्त मिश्रले प्रतिनिधिसभाका सांसद शाहीले ‘राष्ट्रियसभा वृद्धाश्रम भएको छ’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए । “राष्ट्रियसभा नै वृद्धाश्रम भएपछि कसको के नै लाग्छ र ? भनेर सामाजिक सञ्जालमा अभिव्यक्ति दिनु आपत्तिजनक छ, भत्ता खान गएका राष्ट्रियसभाका सांसदले ‘मिडिया काउन्सिल विधेयक’ नपढीकन पास गरेछन् भन्ने भनाइप्रति आपत्ति छ”, उनले भने । 

सांसद जयन्तीदेवी राईले सांसद शाहीले ‘राष्ट्रियसभालाई वृद्धाआश्रम र केही दिनको पाहुना’ भनी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाइन्  । “सांसद शाहीले अभिव्यक्तिले राष्ट्रियसभाको विशेष अधिकारको हनन गर्नुभएको छ, उक्त भनाइप्रति खेद प्रकट गर्दछु, राष्ट्रियसभाले खेद प्रस्ताव पारित गर्नुपर्छ”, उनले भनिन्  । 

सांसद जगतबहादुर पार्कीले सिङ्गो समाजलाई लज्जित बनाउनेगरी देशैभरि जातीय भेदभाव तथा छुवाछूतका घटना बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले भने, “बैतडीको आन्द्रेगडा भन्ने ठाउँमा प्रकाश दमाईंको एउटा मात्रै घर छ, हिजो प्रकाशको आमाको निधन भएपछि शव उठाउने कोही भएनन्, दलितको शव भनेर गैरदलितले सहयोग गरेनन्, पछि कञ्चनपुरमा रहेका आफन्त गएपछि शव उठाइयो, यस्ता घटना दोहोरिन नदिन राज्य समयमा संवेदनशील बन्नुपर्छ ।”

सांसद नरबहादुर विष्टले कर्णाली प्रदेशमा आगामी चैत २३ गते आयोजना गर्ने भनिएको ‘दशौँ राष्ट्रिय खेलकुद’ प्रतियोगिताको तयारीका बारेमा सम्बन्धित निकायले राष्ट्रियसभामा जानकारी दिनुपर्ने माग गरे । उनले देशमा कालोबजारी, महँगी, भ्रष्ट्राचार बढ्दै गएको भन्दै सरकारले त्यसबारेमा अनुगमन गर्नुपर्ने माग गरे । 

ताजा खबर

सम्बन्धित खबर