२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

सुस्ताको वडा नम्बर ५ लाई विभाजन गर्न माग

Nada
२०८१ माघ १२ गते १९:०३
Shares
सुस्ताको वडा नम्बर ५ लाई विभाजन गर्न माग

परासी : नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ५ लाई विभाजन गरेर २ वटा वडा बनाउन माग गरिएको छ । अन्य वडाहरूभन्दा ५ नम्बर ठूलो भएकाले त्यसलाई २ वटा वडा बनाउन माग गरिएको हो । 

ncell

उक्त पालिका ५ वटा वडामा विभाजित छ । साविकका गाविसहरू कुडिया, त्रिवेणी, सुस्ता, रुपौलिया, नर्सही र पक्लिहवा समेटेर सुस्ता गाउँपालिका बनाइएको हो । जसमध्ये साविकको पक्लिहवा गाविस र त्रिवेणी सुस्ताको वडा नम्बर ४ लाई समेटेर वडा नम्बर ५ बनाइएको हो । जसले गर्दा पनि अन्य वडाको तुलनामा झन्डै त्यहाँको जनसंख्या दोब्बर छ । नारायणी नदीपारीको सुस्ता गाउँसमेत वडा नम्बर ५ मा पर्छ । त्यहाँबाट वडा कार्यालय जान उनीहरूलाई समय लाग्ने गरेको छ ।

पालिकाको कूल जनसंख्या ४१ हजार ३९६ छ । अन्य वडाहरूको जनसंख्या ६ देखि ७ हजारको हाराहारीमा मात्र छ । तर, वडा नम्बर ५ को जनसंख्या झण्डै दोब्बर अर्थात् १३ हजार ८७४ छ । जनसंख्या ठूलो हुँदा अन्य वडाहरूको तुलनामा विकास निर्माणदेखि सबै सुविधामा आफूहरू पछाडि परेकाले वडालाई विभाजन गर्न माग गरिएको स्थानीयहरू बताउँछन् । वडा विभाजनका लागि गाउँस्तरीय ८ राजनीतिक दलको बैठकको निर्णयसहित वडा कार्यालयको सिफारिस राखेर गाउँपालिकामा निवेदन बुझाइएको छ ।
वडा विभाजनका लागि आएको निवदेनलाई गाउँसभाले प्रस्तावमा लागि निर्णय गरेको र कानुनअनुसार माथिल्लो निकायमा पठाउन बाँकी रहेको गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले बताए । 

स्थानीय सरकार सञ्चालन ऐनअनुसार गाउँसभाबाट पारित भएको प्रस्ताव प्रदेश सरकारमार्फत नेपाल सरकारमा पठाउनु पर्ने र नेपाल सरकारले प्रस्ताव प्राप्त भएको ६ महिनाभित्र वडाको संख्या र सीमाना हेरफेर गर्नुपर्ने उल्लेख छ । तर, गाउँसभाले पास गरेर पनि प्रदेश सरकारमार्फत नेपाल सरकारलाई नपाठएको भन्दै स्थानीयहरू गाउँपालिकासँग असन्तुष्ट छन् । 

‘वडा विभाजन गर्दा मतदाता संख्याको विभाजन, टोल विभाजनलगायत प्राविधिक विषय नेपाल सरकारले टुङ्याउला तर, त्यसपूर्व वडा विभाजन गर्दा कसरी उपयुक्त हुन्छ भन्ने विषयमा वडावासीसँग छलफल गरी कानुनी प्रक्रिया अघि बढाउने सोचमा छौं,’ गाउँपालिका अध्यक्ष उपाध्यायले भने । 
 

सम्बन्धित खबर