२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

पत्रकार महासंघ बलियो भएमात्र पत्रकारहरुको सुरक्षाको ग्यारेन्टी हुन्छ : नगरप्रमुख श्रेष्ठ

Nada
सरु भुसाल
२०८१ असार १२ गते १७:०९
Shares
पत्रकार महासंघ बलियो भएमात्र पत्रकारहरुको सुरक्षाको ग्यारेन्टी हुन्छ : नगरप्रमुख श्रेष्ठ

अर्घाखाँची : सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले पत्रकारहरुको क्षमता विकास गर्दै पेशागत सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको क्षमता अभिवृद्धिसम्बन्धी तालिमको उद्घाटन कार्यक्रममा नगरप्रमुख श्रेष्ठले पत्रकार महासंघ बलियो भएमात्र पत्रकारहरुको सुरक्षाको ग्यारेन्टी हुने बताए ।

ncell

उनले पत्रकारहरुको अहिलेको अवस्था बुझ्नका लागि मिडिया हाउस अनुगमन, नियुक्ति पत्र पाए–नपाएको जानकारी र बेतलबी राखिएका पत्रकारहरुको बारेमा खोज गर्नुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले पहिलेको पत्रकारिता र अहिलेको पत्रकारितामा धेरै अन्तर रहेकाले अब बिस्तारै डिजिटल माध्यमलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । भुसालले खोजमुलक र तथ्यपरक समाचारहरु लेख्नुपर्ने बताउँदै लेखेको समाचारको प्रभाव सम्बन्धित पक्षलाई पर्नुपर्ने बताए । उनले अर्घाखाँचीको  पत्रकारिताको इतिहास उत्खनन गरेर राख्नसमेत सुझाव दिए ।

पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालले सन्धिखर्क नगरपालिकाले पत्रकार महासंघको भवन निर्माणका लागि बजेट छुट्याएको बताउँदै पत्रकारहरु अझै मर्यादित बन्नुपर्नेमा जोड दिए । खनालले  पेशागत सुरक्षा गर्न महासंघको भूमिका उल्लेखनीय रहेको बताउँदै महासंघले ऐतिहासिक काम गरेको दाबी गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका पूर्वअध्यक्ष  शोभाखर पन्थीले पत्रकारहरुको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिँदै पत्रकार महासंघ अर्घाखाँचीले पत्रकार बस्नका लागि आवास गृह र सुविधा सम्पन्न लाइब्रेरीसहितको भवन बनाउनुपर्ने सुझाव दिए । उनले पत्रकार महासंघ सबैको साझा संस्था भएकाले सबैलाई मिलाएर लैजानुपर्ने बताउँदै श्रमजीवीको संरक्षण र बौद्धिक विकासका कार्यलाई प्राथमिकता दिन आग्रह गरे ।

कार्यक्रममा पूर्वअध्यक्ष हिम जीसी लेकालीले पत्रकारहरुलाई अझै मर्यादित बनाउनुपर्ने  सुझाव दिए । उनले पत्रकारिता गर्दा हुनसक्ने भौतिक आक्रमणको अवस्था नआउने गरी काम गर्न सुझाव दिए ।

कार्यक्रममा पत्रकार महासंघ अर्घाखाँचीका पूर्वउपाध्यक्ष गणेश खनालले पत्रकारहरुको स्थायित्वका लागि र लोकतन्त्र रक्षाका लागि साना मिडिया जोगाउनुपर्नेमा जोड दिए । उनले साना क्षेत्र र स्थानीय स्तरका आवाज उठाउनका लागि पनि साना लगानीका मिडिया जोगाउनुपर्ने बताए ।

कार्यक्रममा पत्रकार महासंघ अर्घाखाँचीका पूर्वसचिव सुर्य प्रसाद भुसालले पत्रकारको हकहितका कार्यक्रम, तालिम, पत्रकारिता गर्न चाहिने आधारभूत समग्री किन्न सहज हुने व्यवस्था गर्न सुझाव दिए ।

कार्यक्रममा पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य, पत्रकार महासंघका अर्घाखाँचीका उपाध्यक्ष वीरेन्द्र केसी, पत्रकार महासंघ अर्घाखाँचीका सहसचिव हृदय कुमार भुसाल, कोषाध्यक्ष रुद्रमणि भुसाल, जिल्ला सदस्यहरु लक्ष्मण घिमिरे, गोपाल भट्टराई, सागर परियार, पत्रकारहरु श्याम घिमिरे, जितेन्द्र खत्री, नवीन केसी, घनश्याम पौडेल, केशव पन्थी, भावना घिमिरे, कमला परियार, कमला घिमिरे, पुजा कुँवर, सुरज रायमाझी, नवीन रसाइलीलगायतले पत्रकारहरुको पेशागत सुरक्षाका लागि पत्रकार महासंघले काम गर्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष खनालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष केसीको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रम सहसचिव अनिल नेपालीले सञ्चालन गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर