२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

बागमती प्रदेश सभा बैठक १८ माघमा बस्ने

Nada
२०८१ माघ ११ गते १६:३२
Shares
बागमती प्रदेश सभा बैठक १८ माघमा बस्ने

हेटौंडा : बागमती प्रदेश सभा अधिवेशन १८ माघमा बस्ने भएको छ । शुक्रबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले १८ माघ बिहान ११ बजे प्रदेश सभाको १५ औँ अधिवेशन बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।

ncell

मन्त्रिपरिषद्को सिफारिसअनुसार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश सभा बैठक आह्वान गर्नेछन् । १६ असोज राति १२ बजेदेखि प्रदेशसभाको १४ औँ अधिवेशन अन्त्य गरिएको थियो ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारी कामकाजी भाषा ऐन कार्यान्वयनको सन्र्दभमा अध्ययन कार्यदलले तयार गरेको प्रतिवेदन ग्रहण गर्ने तथा कार्यान्वयन गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

उनका अनुसार उक्त प्रतिवेदनका आधारमा प्रदेश कामकाजी भाषा ऐन कार्यान्वयनको लागि आवश्यक तयारी तथा व्यवस्थापन गर्न संस्कृति तथा पर्यटन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । उक्त ऐनका व्यवस्था कार्यान्वयन गरी प्रदेश सरकारको मन्त्रालय, आयोग बोर्ड तथा निकायका लेटर हेड, छाप तथा बोर्डहरुमा समावेश गर्न निर्देशन दिएको उनले बताए । बैठकले संस्कृति तथा पर्यटन मन्त्रालयले आवश्यक कार्यविधि तयार गरी कर्मचारी व्यवस्थापन लगायतका काम गर्न निर्देशन दिएको मन्त्री लामिछानेले बताए ।

बैठकले प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्ने निर्णय गरेको छ भने प्रदेश जग्गा एकीकरण सम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ । बैठकले प्रदेश भवन नीति २०८१ र अपांग भएका व्यक्तिसम्बन्धी प्रादेशिक नीति स्वीकृत गरेको छ ।
 

सम्बन्धित खबर