२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

प्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीलाई

Nada
२०८१ पुष २५ गते १७:५१
Shares
प्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीलाई

बैतडीः प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिताको उपाधि बैतडीले जितेको छ । फाइनल खेलमा बैतडीले कञ्चनपुरलाई ६ विकेटले पराजित गरेको हो ।

ncell

दशरथ चन्द क्रिकेट मैदान, सुन्दरखालीमा टस हारेर पहिला ब्याटिङ गरेको कञ्चनपुरले २० ओभरमा सवै विकेट गुमाएर ७१ रन बनायो । बहत्तर रनको विजयी लक्ष्य बैतडीले १२ दशमल दुई ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो । बैतडीका लागि कप्तान ऋतु कनौजियाले अविजित २२ र जानकी थापाले अविजित १४ रन बनाइन् । बलिङतर्फ  कञ्चनपुरकी मन्जु विष्टले दुई विकेट लिइन् ।

यसअघि पहिला ब्याटिङ गर्ने क्रममा कञ्चनपुरका लागि रेवती धामीले ४१ रनको योगदान दिइन् । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङतर्फ बैतडीका लागि जानकी थापाले दुई विकेट लिइन् । उनी वुमन अफ दी फाइनल घोषित भइन् । बैतडीकी ऋतु कनौजिया प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । यस्तै कञ्चनपुरकी कप्तान बिन्दु रावल उत्कृष्ट ब्याटर, बैतडीकी करिश्मा थापा उत्कृष्ट बलर र डडेल्धुराकी जयन्ती भण्डारी उदीयमान खेलाडी घोषित भइन् ।

विजेता तथा उपविजेता खेलाडीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत राष्ट्रिय टोली तयारीका निर्देशक एवं ओलम्पियन दीपक विष्ट, क्यानका केन्द्रीय सदस्य धिरेन्द्र सावद, सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका उपाध्यक्ष रमेश बोहरालगायतले पुरस्कार प्रदान गरे । समापन समारोहमा क्यान अध्यक्ष चन्दले  क्रिकेटलाई सबैको साझा खेल बनाइने बताए । क्रिकेटलाई व्यावशायिक बनाइनुका साथै भविष्यमा महिला प्रिमियर लिग पनि आयोजना गरिने उनले बताए । 

ओलम्पियन विष्टले क्रिकेटले नेपाललाई विश्वभरी चिनाएको बताए । क्रिकेटको विकासका लागि उल्लेख्य काम गरेकामा क्यान नेतृत्वको उनले प्रशंसा गरे । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना र बैतडी जिल्ला क्रिकेट सङ्घको सहआयोजनामा यही पुस १९ गतेदेखि सुरु भएको प्रतियोगितामा प्रदेशका सात जिल्लाको टोली सहभागी थिए । 

ताजा खबर

सम्बन्धित खबर