२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

निर्माण सामग्रीको मूल्यवृद्धि खारेज गर्न महासंघको माग

Nada
२०८१ मंसिर १२ गते २१:२४
Shares
निर्माण सामग्रीको मूल्यवृद्धि खारेज गर्न महासंघको माग

काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघले सिमेन्टलगायतका निर्माण सामग्रीमा भएको मूल्यवृद्धि अविलम्ब खारेज गर्न माग गरेको छ । महासंघले निर्माण सामग्री उत्पादनसँग सम्बन्धित इन्धनसहित कुनै पनि कच्चा पदार्थमा मूल्यवृद्धि नहुँदा पनि कार्टेलिङ गरी सिमेन्टमा मूल्यवृद्धि गरिएको भन्दै आपत्ति जनाएको हो ।

ncell

विगत एक महिनाको अवधिमा नै पटकपटक गरी सिमेन्टमा प्रतिबोरा १ सयभन्दा बढी मूल्यवृद्धि गरिएको महासंघले विज्ञप्तिमार्फत् जनाएको छ । ‘निर्माण कार्य हुने अहिलेकै सिजनमा सीमित सिमेनट उद्योगीहरूले मूल्यवृद्धिसँगै कार्टेलिङ गरी उत्पादनमा समेत कटौती गरेकाले भुक्तानी अभावलगायतका कारण अत्यन्त सकसमा रहेको निर्माण उद्योग थप मारमा परेको छ,’ महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

खुल्ला अर्थतन्त्रको नीति विपरीत सिमेन्टमा गरिएको यस किसिमको अव्यवहारिक एवं अवैज्ञानिक मूल्यवृद्धि दण्डनीय अपराध भएको महासंघले जनाएको छ । ‘विगतमा पनि पटक पटक भएका यस किसिमका मूल्यवृद्धिका कारण अन्ततः पूर्वाधार खर्च बढ्न गई नेपाल सरकारका सार्वजनिक निकायहरूलाई नै आर्थिक बोझ थपिएको विदितै छ,’ महासंघको विज्ञप्तिमा उल्लेख छ ।

निर्माण व्यवसायीहरूको अरबौं भुक्तानी नहुँदा निर्माण उद्योग नै धराशायी भएको स्थितिमा सिमेन्टलगायतका निर्माण सामग्रीमा भएको मूल्यवृद्धि अविलम्ब खारेज गरी निर्माण व्यवसायीसहित आम उपभोक्तालाई राहत दिन महासंघले नेपाल सरकारका सम्बन्धित निकाय समक्ष जोडदार माग गरेको छ । मूल्यवृद्धि खारेज नभए महासंघ बाध्य भएर देशभरका निर्माण कार्य ठप्प पारी ‘कन्स्ट्रक्सन होलिडे’ आह्वान गर्न बाध्य हुने महासंघको भनाइ छ ।

ताजा खबर

सम्बन्धित खबर