काठमाडौं - नेपाल क्रिकेट संघ क्यानले नेपाल एको प्रशिक्षणमा ४० खेलाडीलाई बोलाएको छ । अर्को सातादेखि घरेलु मैदानमा हुने आयरल्यान्ड ए टोलीसँग खेल्ने तीन टी–२० र तीन एकदिवसीय सिरिजका लागि क्यानले नेपालको ए टोलीलाई प्रशिक्षणमा बोलाएको हो ।
ए टोलीको प्रशिक्षणमा आरिफ शेख, भीम सार्की, प्रतिश जि।सी, विनोद भण्डारी, देव खनाल, सन्दीप जोरा र कमलसिंह ऐरी लगायतका खेलाडी परेका छन् । कमल २०२२ मार्चमा टीयुमा मलेसियाविरुद्ध घाइते भएपछि टोलीमा थिएनन् । उनी ब्याक पेन र चोटका कारण टोली बाहिर हुँदै आएका थिए । पछिल्लो समय भारतमा उपचारपछि कमल पुनः फर्किएका हुन् । कमलले नेपालबाट ३ ओडीआई र १० टी–२० आई खेल खेलेका छन् ।
नेपालको सिनियर टोलीले आयरल्यान्ड एसँग दुई टी–२० खेल खेल्नेछ । सिनियर टोलीले मार्च २५ र २६ मा खेल्नेछ । त्यसपछि बरोडा र गुजरातसँग त्रिकोणात्मक टी–२० सिरिज खेल्न जानेछ । नेपाल एले आयरल्यान्ड एसँग २८, २९ र ३१ मार्चमा टी–२० खेल खेल्नेछ । अप्रिल ३, ५ र ७ मा एकदिवसीय अभ्यास खेल खेल्ने छ ।
अभ्यास खेल्नेहरूमा रित गौतम, पवन सरार्फ, अर्जुन साउद, नरेन भट्ट, दीलिप नाथ, विवेक यादव, बसिर अहमद, विपिन खत्री, मौशम ढकाल, रञ्जित कुमार, प्रतिश जि।सी, विकाश आग्री, नारायण जोशी, सन्दीप जोरा, लोकेश बम, भीम सार्की, मयन यादव, अर्जुन कुमाल, अर्जुन घर्ती, रुपेश सिंह, साहब आलम, शेर मल्ल, दीपेश कँडेल, रिजन ढकाल, आकाश चन्द, कमलसिंह ऐरी, विनोद भण्डारी, देव खनाल, आरिफ शेख, हरिशंकर शाह, किरण ठगुन्ना, सुजन थपलिया, राशिद खान, दीनेश अधिकारी, सागर ढकाल, दीपेन्द्र रावत, सुभाष भण्डारी, आशुतोष घिरैया, हेमन्त धामी र नर बहादुर सार्की रहेका छन् ।
सत्येन्द्र प्रताप सिंह/ मध्यान्ह
रौतहट : क्रिकेट संघको आयोजनामा गौरस्थित राइस मिल्सको मैदानमा भइरहेको ‘पालिका कप २०८०’ पहिलो संस्करणको १७ खेलमा दुर्गा भगवतीले देवाही गोनाहीलाई ७ विकेटले पराजित गरेको छ ।
आइतबार १ बजेदेखि शुरु भएको पालिका कपमा देवाही गोनाहीले टस जितेर पहिलो व्याटिङ गर्ने निर्णय गलत सावित भयो । दुर्गा भगवतीको घातक बलिङ सामु १६.५ ओभरमा सबै विकेट गुमाइ ६९ रन बनाएर जितको लागि ७० रनको चुनौती दुर्गा भगवती समक्ष दिए । प्रतिउत्तरमा दुर्गा भगवतीको टिमले ११.४ ओभरमा ३ विकेटको क्षतिमा ७२ रन बनाएर ७ विकेटबाट देवाही गोनाहीलाई पराजित गर्दै दोस्रोे चरणमा सजिलै प्रवेश गर्न सफल भएका हुन् ।
दुर्गा भगवतीका लागि पहिलो विकेटका लागि कमलेश दास तथा सत्यम सिंहले ३५ रनको ओपनिङ साझेदारी गरेका थिए । दासले २३, सिंह १०, रितिक गुप्ता १७ जितेन्द्र दास दुवै अविजित रहँदै आफ्नो टिमलाई जिताए । जितेन्द्र रामले मात्रै २ रन बनाए । यस्तै देवाहीकोतर्फबाट राधेश्याम यादव १६ र रोशन गुप्ताले १३ रन बनाए भने अन्य कुनै ब्याटर दोहोरो अंकमा पुग्न सकेनन् ।
दुर्गा भगवतीको लागि आशिक झाको घातक बलिङ सामु देवाहीका व्याटर निरीह सावित भए । झाले ४ ओभरमा एक मेडेन राख्दै ६ रन दिई ४ विकेट, विक्रम साह ३.५ ओभरमा २० रन दिई ३ विकेट, आदित्य झा, जितेन्द्र दास, पवन पासवान क्रमशः एक÷एक विकेट लिएर देवाहीलाई ब्याकफुटमा धकेलिदिदा उभिने मौका नै दिएनन् ।
देवाहीकोतर्फबाट पियुष गुप्ताले ३ ओभरमा १० रन दिइ २ र राजेश रामले ३ ओभरमा १६ रन दिएर १ विकेट लिएको रौतहट क्रिकेट संघले जनाए । आइतबारको खेलमा घातक बलिङ गर्ने आशिक झालाई म्यान अफ दि म्याचबाट पुरस्कृत गरिएको संघको स्कोर लिष्टमा उल्लेख गरिएको छ । समुह (इ) बाट दुर्गा भगवती र चन्द्रपुर दोश्रो चरणमा प्रवेश गरेका छन् भने देवाहीगोनाही लिग चरणबाट बाहिरिएको छ ।
यसैगरी आइतबार भएको पहिलो खेलमा राजदेवीलाई २ विकेटले हराउँदै बौधीमाइले जित पारेको थियो । टस जितेर पहिलो ब्याटिङ रोजेको राजदेवी नगरपालिकाको टिमले १४.२ ओभरमा अलआउट हुँदै ६७ रन बनाएर ६८ रनको टार्गेट बौधीमाई समक्ष पेश गरेका थिए । राजदेवीको कसिलो बलिङ सामु बौधिमाईलाई जित्न हम्मे–हम्मे परेपनि अन्ततः २ विकेटबाट जित हात पार्न सफल भए ।
बौधीमाईले १४.६ ओभरमा ८ विकेट गुमाएर ६८ रन बनाएको थियो । बौधीमाईका रुपेश पटेलले ४ ओभरमा १६ रन दिइ ५ विकेट लिएकोमा उनलाई म्यान अफ दि म्याचबाट सम्मानित गरिएको रौतहट क्रिकेट संघले जनाएको छ ।
काठमाडौं- नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई पराजित गर्दै आठौं महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषद् राखेपको कभर्डहलमा आज भएको दोस्रो खेलमा पुलिसले कर्णाली प्रदेशलाई ३(० को सोझो सेटमा पराजित गर्यो । पुलिसले कर्णालीमाथि पहिलो सेट २५–१२ ले जित्यो भने खेलको दोस्रो सेट २५–७ तथा तेस्रो सेट २५–८ ले आफ्नो पक्षमा पार्यो ।
त्यस्तै आजै भएको पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले मधेस प्रदेशलाई ३(० को सोझो सेट पराजित गरेको छ । एपिएफले मधेसलाई २५–८, २५–७ र २५–२ ले पराजित गर्यो । उक्त प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु दुई लाख ५० हजार पाउनेछन् । त्यस्तै तेस्रो हुने टोलीले रु एक लाख २५ हजार प्राप्त गर्नेछन् ।
काठमाडौं : युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ (एन्फा)का १० जना पदाधिकारीहरू खेलकुद ऐन विपरीत मलेसिया भ्रमणमा गएको भन्दै कारबाहीका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई निर्देशन दिएको छ ।
बुधबार मलेसिया गएको नेपाली टिमको साथमा एन्फाका उपाध्यक्षसहित १० जना सदस्य अफिसियल बनेर गएका थिए । मन्त्रालयले वैदेशिक भ्रमणमा जान राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गत राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृति लिनुपर्नेमा सो प्रक्रिया पूरा नगरी गएका उनीहरुलाई कारबाही गर्न निर्देशन दिएको हो ।
खेलाडीसहित मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस र प्रवेश कटुवाल (प्रशिक्षक) विनोद डंगोल (गोलकिपर प्रशिक्षक) मनिष तिम्सिना (टेक्निकल स्टाफ), उत्तमराज भण्डारी (टिम व्यवस्थापक), लोकेन्द्र कुँवर (फिजियो), ज्ञानबहादुर राई (किट व्यवस्थापक)का रुपमा मलेसिया गएका छन् ।
एन्फा उपाध्यक्ष दीपक खतिवडा, केन्द्रीय सदस्य महेन्द्र क्षेत्र, प्रमुख कार्यकारी अधिकृत सीईओ इन्द्रमान तुलाधर, भरत घिमिरे, बुद्धिबहादुर गुरुङ, सुनील लोप्चन, जयकृष्ण श्रेष्ठ, प्रवीण श्रेष्ठ, सुविनकुमार श्रेष्ठ पनि मलेसिया गएका छन् ।
यस्तै मन्त्रालयले खेल संघका पदाधिकारीलाई वैदेशिक प्रस्थान अनुमति प्रदान गर्न गृह मन्त्रालयमा अनुरोध समेत गरेको जनाएको छ । 'राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २८ (झ)मा राष्ट्रिय खेलकुद परिषदको स्वीकृति लिई अन्तर्राष्ट्रियस्तरमा हुने खेलकुद प्रतियोगितामा सहभागी हुनुपर्ने कानुनी व्यवस्था रहेको छ,’ मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘यस सम्बन्धमा राष्ट्रिय खेलकुद परिषदको च नं. ६२७ मिति २०८०/११/३० को पत्रानुसार राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ बमोजिम लिनुपर्ने स्वीकृति नलिएको जानकारी प्राप्त भएको हुँदा कानुन बमोजिम कारबाही गरी सो को जानकारी गराउन राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन दिइएको साथै कानुन बमोजिम राष्ट्रिय खेलकुद परिषदको स्वीकृति पश्चात मात्र खेल संघका पदाधिकारीहरुलाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता, तालिम, गोष्ठि, सेमिनार, वा सम्मेलनमा भाग लिन वैदेशिक प्रस्थान अनुमति प्रदान गर्ने व्यवस्थाका लागि गृहमन्त्रालयमा अनुरोध गरिएको छ ।’
नेपालले चैत २ मा मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । त्यहाँ केही दिन तयारी गरेपछि नेपाली टिम विश्वकप छनोटअन्तर्गत बहाराइनसँग खेल्न बहराइन जाने छ । नेपालले बहराइनसँग चैत ८ र १३ गते खेल्ने तालिका रहेको छ ।
कामाडौं : हङकङ टी-२० सिरिजको उपाधि पपुवा न्युगिनी (पीएनजी)ले जितेको छ । बुधबार भएको फाइनल खेलमा नेपाललाई ८६ रनले पराजित गर्दै पीएनजीले सिरिजको उपाधि हात पारेको हो ।
पीएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा ८५ रनमा अलआउट भयो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक १७ रन बनाए । उनले १३ बलमा ३ चौकाको सहयोगमा १७ रन बनाएका हुन् । यस्तै आरिफ शेखले २० बलमा १५ रन बनाउँदा कप्तान रोहित पौडेलले १६ बलमा १२ रन बनाए ।
नेपालका अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनर बिनोद भण्डारी ४ रनमा बोल्ड हुँदा कुशल भुर्तेल ५ रनमा आउट भए । गुलशन झा र लोकेश बमले समान ६-६ रन बनाए । करण केसीले ३, विवेक यादवले १ रन बनाउँदा प्रतीश जिसी शून्य रनमा आउट भए । पीएनजीका काबुआ मोरिया, सेमो कामिया, चाड सोपर, सेसे बाउले समान २ विकेट लिए भने एली नाओले एक विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७१ रन बनाएको थियो । पीएनजीका लागि टोनी उराले अर्धशतकीय इनिङ खेले । उराले ३७ बलमा ५ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ६१ रन बनाए । यस्तै एली नाओले १० बलमा ३ छक्का र १ चौकाको सहयोगमा ३० रन बनाए । हिला भरेले २१ बलमा १८ रन बनाउँदा हिरी हिरीले ९ बलमा १५ रन बनाए ।
त्यस्तै किप्लिन दोरिगाले १४ बलमा १४ रन बनाउँदा चाड सोपरले १७ बलमा १३ रनको योगदान दिए । कप्तान आसाद भाला २ रनमा आउट भए । नेपालका लागि आकास चन्द र कुशल भुर्तेलले समान ३-३ विकेट लिए भने करण केसी र गुलशन झाले १-१ विकेट लिए ।
काठमाडौं : हङकङमा चलिरहेको त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७१ रन बनायो ।
पीएनजीका लागि टोनी उराले अर्धशतकीय इनिङ खेले । उराले ३७ बलमा ५ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ६१ रन बनाए । यस्तै एली नाओले १० बलमा ३ छक्का र १ चौकाको सहयोगमा ३० रन बनाए । हिला भरेले २१ बलमा १८ रन बनाउँदा हिरी हिरीले ९ बलमा १५ रन बनाए ।
त्यस्तै किप्लिन दोरिगाले १४ बलमा १४ रन बनाउँदा चाड सोपरले १७ बलमा १३ रनको योगदान दिए । कप्तान आसाद भाला २ रनमा आउट भए । नेपालका लागि आकास चन्द र कुशल भुर्तेलले समान ३-३ विकेट लिए भने करण केसी र गुल्सन झाले १-१ विकेट लिए ।
सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहटमा आयोजित जिल्ला पालिका कप २०८० को पहिलो संस्करण अन्तर्गत मंगलबार भएको खेलमा सदरमुकाम गौर नगरपालिका र यमुनामाई गाउँपालिकाले विजयी शुरुवात गरेका छन् । मौलापुर नगरपालिकालाई हराउँदै गौर तथा परोहा नगरपालिकालाई हराउँदै यमुनामाईले जित निकालेका हुन् ।
पालिकाहरुको सहयोग तथा रौतहट क्रिकेट संघको आयोजनामा राइस मिल्सको खेल मैदानमा प्रतियोगिता आयोजना गरिएको हो ।
मंगलबारको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गौरले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १६० रन बनाएको थियो । गौरका लागि क्याप्टेन सन्नी साहले ६० बलमा ८ चौका र ७ छक्काको सहयोगमा अविजित १०७ रनको शतकीय इनिङ खेले । राज पटेलले १७ तथा रबी साहले २१ रन बनाए ।
यता १६१ रनको लक्ष्य पछ्याएको मौलापुर १२४ रनमा सीमित रहँदै ३६ रनले पराजित भयो । मौलापुरको ओपनिङ साझेदारी ५१ रनको भएको थियो । त्यसपछि विकेट जाने क्रम शुरु भएपछि मौलापुरले २० ओभरमा ९ विकेट गुमाउँदै १२४ रन मात्रै बनाउन सक्यो । मौलापुरका रोहित ठाकुरले ३१, रुपलाल यादवले २३ र राधेश्याम पटेलले २१ रन बनाए । गौरका लागि आशिक साहले ३ विकेट लिए । यस्तै सितेश तिवारी र रेहान जाकिरले समान २ विकेट लिँदा सन्नी साह र राजकुमार चौधरीले समान १–१ विकेट लिए । उक्त खेलमा म्यान अफ दि म्याच सन्नी साह चयन भए ।
यस्तै मंगलबार भएको पहिलो खेलमा यमुनामाईले परोहालाई ८ विकेटले हराउँदै विजयी शुरुवात गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको परोहा १८.३ ओभरमा ८२ रन बनाउँदै अलआउट भयो ।
८३ रनको लक्ष्य पछ्याएको यमुनामाईले ११.२ ओभरमा दुई विकेट गुमाउँदै ८५ रन बनायो । यमुनामाईका लागि अयान मुखिया अविजित रहँदै ३३ बलमा ३१ रन, प्रिन्स झाले १२ बलमा १७ रन, अरसद आलमले १२ बलमा १५ रन तथा डब्लु मल्लिकले १२ बलमा १७ रन बनाए । परोहाका विरालाल महतो र महम्मद जमालले समान एक–एक विकेट लिए ।
यमुनमाईको तर्फबाट रेहान आलमले ३.३ ओभरमा एक मेडन राख्दै १० रन दिएर ३ विकेट लिएका थिए । उक्त खेलमा आलम म्यान अफ दि म्याच चुनिएको रौतहट जिल्ला क्रिकेट संघका प्रेस संयोजक प्रविण टिब्डेवालले बताए ।
काठमाडौं : त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृंखलाको दोस्रो खेलमा नेपालले पपुवा न्युगिनीलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ८५ रनले पाखा लगाउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो । जितसँगै नेपालले दुई खेलमा तीन अंक जोडेको छ । यसअघि भएको नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।
नेपालले प्रस्तुत गरेको एक सय ९९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय १३ रनमा समेटियो । पपुवा न्युगिनीका लागि हिरी हिरीले सर्वाधिक २८ रनको योगदान दिए । त्यस्तै सेसे बाउले २१, टोनी उराले १३ र नसैना पोकनाले १२ रन बनाए ।
नेपालका लागि कुशल भुर्तेलले चार विकेट लिए भने प्रतिश जिसीले दुई विकेट झारे । त्यस्तै आकाश चन्द र गुल्सन झाले समान एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ९८ रन बनाएको थियो । नेपालका लागि कुशल भूर्तेलले ३९ बलमा समान चार चौका र छक्काको मद्दतले सर्वाधिक ५९ रनको योगदान दिएर नेपालको प्रतिष्ठा बढाएका हुन् ।
यसैगरी, सन्दीप जोराले २६ बलमा चार छक्का र तीन छक्काको मद्दतले ५६ रन बनाए भने विनोद भण्डारीले २७ रन जोडे । विवेक यादवले १९, गुल्सन झाले १५ तथा लोकेश बमले १४ रन बनाए । पपुवा न्युगिनीका लागि कप्तान असाद भालाले दुई विकेट लिँदा नसैना पोकना, जोन कारिको र नोर्मन भानुआले समान एक–एक विकेट लिएका थिए ।
काठमाडौं : हङकङमा भएको त्रिकोणात्मक टी-२० शृंखलाअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ ।
हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा हङकङले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो । तर पहिलो पारीको आठौँ ओभरमा चलिरहँदा पानी परेपछि खेल रोकिएको हो ।
हङकङले आठ ओभरमा दुई विकेट गुमाउँदै ६५ रन बनाएको थियो । त्यसअघि पाँच ओभर पूरा हुँदा पनि वर्षाका कारण खेल प्रभावित भएको थियो । हङकङका लागि अंशुमन रथले ३६ र बाबर हायत तीन रन बनाएका थिए । हङकङका लागि निजाकान्त खानले २५ रन बनाए ।
नेपालका लागि करण केसी र गुल्सन झाले समान एक÷एक विकेट लिए । शनिबार भएको नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेलमा नेपाल ७३ रनले पराजित भएको थियो । अब नेपालले यही फागुन २९ गते पपुवा न्यूगिनसँग प्रतिस्पर्धा गर्नेछ ।
राजकुमार भुजेल/मध्यान्ह
दोलखा : प्रथम बागमती प्रदेशस्तरीय अन्तरपालिका ‘शहीद रितबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता’को उपाधि मेलम्चीले हात पारेको छ । जिल्लाको सदरमुकाम चरिकोटस्थित भिमेश्वर रंगशालामा शुक्रबार सम्पन्न भएको प्रतियोगितामा दोलखाको जिरी नगरपालिकालाई हराउँदै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले उपाधि हात पारेको हो ।
रामेछापको मन्थली नगरपालिका र सिन्धुलीको कमलामाई नगरपालिकाबीच भएको प्रतिस्पर्धामा कमलामाई नगरपालिका तृतीय भएको थियो । कमलामाई नगरपालिकाले ३–१ को सेटमा मन्थली नगरपालिकालाई पराजित गरेको हो । कमला नगरपालिकाले हराएपछि मन्थली नगरपालिकाले सान्त्वनामै चित्त बुझाउनुपर्यो ।
उक्त प्रतियोगितामा विजेता, उपविजेता, तृतीय र सान्त्वना हुने टिमले क्रमशः २ लाख ५१ हजार, १ लाख ५१ हजार, ५१ हजार र २१ हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
गत सोमबारदेखि दोलखा युवा सञ्जालको आयोजनामा शुरु भएको उक्त खेल शुक्रबार सम्पन्न भएको हो । हालसम्मकै सर्वाधिक राशिको प्रतियोगितामा बागमती प्रदेशभित्रका १४ वटा टिम सहभागी थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies