काठमाडौं : गीतकार प्रकाश पण्डितको देशभक्ति र राष्ट्रिय भावनाले भरिएको गीत ‘मुटुभित्र नेपाल’ सार्वजनिक भएको छ । जिल्ला अदालतका न्यायाधीशसमेत रहेका गीतकार पण्डितको उक्त गीतका हरेक शब्दमा देशको माया व्यक्त गरिएको छ । पण्डितको शब्द रहेको गीतमा गायक थानेश्वर गौतमको स्वर तथा संगीत रहेको छ ।
देशप्रतिको माया, आस्था र विश्वासलाई मिठो तरिकाले गीतमा वर्णन गरिएको छ । गीतमा रहेको ‘मर्दा पनि मुटुभित्र नेपाल भनेर लेख्न पाइयोस्’ भन्ने लयले सबैको मन छुन्छ । गीतमा वीरताको गाथा, नेपालीको खुसी, पुर्खाको योगदान सबै भेट्न सकिन्छ ।
लक्ष्मी पण्डितको प्रस्तुति रहेको गीतको भिडियोमा अभिनेता राजेश हमालले अभिनय गरेका छन् । सुव्रत आचार्यको निर्देशनमा तयार पारिएको भिडियोको छायाँकन उत्सव दाहालले गरेका हुन् ।
१२ मिनेट ३० सेकेन्डको गीतको भिडियोमा अभिनेता हमालका साथै बाल कलाकार सायरा आचार्य, दियान गौतम, सन्देश पौडेललगायतले अभिनय गरेका छन् ।
काठमाडौं : चर्चित लोकदोहोरी गायिका गीता भट्टराई सम्मानित भएकी छिन् । सांस्कृतिक समाज नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको सम्मान वितरण तथा धन्यवाद ज्ञापन कार्यक्रममा गायिका भट्टराईलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका सचिव, प्रतिनिधि सभा सदस्य एवम् पूर्वमन्त्री छविलाल विश्वकर्मा र समाजका अध्यक्ष रामप्रसाद अवस्थीले गायिका भट्टराईलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
लामो समयदेखि नेपाली मौलिक गीत, संगीत, कला, साहित्य, पर्यटन र संस्कृतिको क्षेत्रमा आवद्ध भइ आफ्नो सिर्जना, कला र गलाको माध्यमबाट सांगीतिक क्षेत्रलाई बृहत्तर र समृद्ध बनाउन गरेको महत्वपूर्ण योगदानको कदर कर्दै गायिका भट्टराईलाई सम्मान गरिएको समाजले जनाएको छ ।
गायिका भट्टराई यसअघि पनि विभिन्न अवार्डबाट सम्मानित भइसकेकी छिन् । गायिका भट्टराईले लोक दोहोरी, लोक पप, तीज, रक, आधुनिकलगायतका विभिन्न विधाका गीतमा आफ्नो सुमधुर स्वरको जादु देखाउँदै आएकी छिन् ।
गत भदौ ४ गते सम्पन्न स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक साँझ–२०८० को सम्मान पत्र वितरणका लागि शनिबार कोटेश्वरमा समाजले उक्त कार्यक्रम आयोजना गरेको हो ।
सुदूरपश्चिमको लोक संस्कृतिको जगेर्ना गर्न उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहयोग गर्ने व्यक्ति र संस्थालाई शनिबार सम्मान गरिएको समाजका अध्यक्ष रामप्रसाद अवस्थीले जानकारी दिए ।
कार्यक्रममा वरिष्ठ देउडा गायक नन्द कृष्ण जोशी, यज्ञराज उपाध्याय, गायिका टीका पुनलगायतका कलाकार एवम् स्रष्टाहरूको सहभागिता रहेको थियो ।
–श्याम रिमाल
कुनै कालखण्डमा कुनै व्यक्तित्वप्रति राखिएको दृष्टिकोण सधैँ एउटै हुँदैन । नेपाली इतिहासका ऐतिहासिक व्यक्तित्वहरूको पुनर्मूल्यांकन हुनुपर्छ भन्नेमा बिद्वानहरूले मत जाहेर गरिरहेका छन् । पृथ्वीनारायण शाह, जङ्गबहादुर राणा, बिपी कोइराला, महेन्द्र शाहलगायत व्यक्तिमाथि कुनै समय राखिएको विचार समयका दौरानमा परिवर्तन हुँदै, थोरै मात्र आलोच्य हुँदै गइरहेको पढ्न पाइन्छ । हरेक वर्ष खासगरी पुस २७ का वरिपरि उनका पक्ष तथा विपक्षमा पत्रपत्रिकामा लेखरचनाको जुहारी चल्ने तथा अन्तक्र्रिया–बहस हुने गरेको छ । राणाकालमा नाम नै उच्चारण नै गर्न नहुने भनिएका पृथ्वीनारायणलाई पञ्चायतकालभरी नेपाल एकीकरणकर्ता र राष्ट्रिय एकताका प्रतीकका रूपमा मानिरहेका अवस्थामा पछिल्लो समय खासगरी माओवादी सशस्त्र द्वन्द्वकाल र त्यसयता जातीय राज्यको मागसँगै उनलाई विस्तारवादी, राज्य केन्द्रीयतावादी र क्रूरताका नायक मान्नेहरू पनि जन्मँदै गरेको अवस्था छ ।
उनको जन्मदिनमा बिदा दिने–नदिने, राज्यस्तरबाट सभासमारोह गर्ने–नगर्ने चलन पनि चल्दै हाल सरकारी तवरबाट सार्वजनिक बिदा दिने निर्णय पनि हुन थालेको स्थिति छ । पृथ्वीनारायणको आलोचना नेपाली व्यापक राष्ट्रिय एकता वृद्धि गर्ने सोचाइबाट नै आएको छ भने त्यसलाई मान्नु बेस हुनेछ । “देवत्वकरण इतिहास लेखनको मर्म र धर्म विपरीत पक्ष हो । ढाकछोप गरिएका सत्यलाई उजागर गर्ने समय आयो”, लेखकले भूमिकामा लेखेर प्रस्तुत कृति लेखनको आफ्नो अभीष्ट स्पष्ट पारेका छन्, जुन स्वाभाविक पनि हो ।
साहित्यकार–पत्रकार हुँदै प्रवास बसाइका क्रममा इतिहास अनुसन्धाताको परिचय बनाएका राजकुमार दिक्पालले ‘जङ्गबहादुरको युग : ऐतिहासिक अध्ययन’ (साङ्ग्रिला पुस्तक प्रा. लि., २०७९) र तामाङलगायत अन्य सीमान्तकृतहरूले गरेको विद्रोह समेटिएको ‘आदिवासी विद्रोहको इतिहास’ (मञ्जरी पब्लिकेशन, २०७९–किरात एकेडेमी पुरस्कार प्राप्त), ‘मगर इतिहास’ (मनोज घर्तीसँग संयुक्त) र हाल ‘पृथ्वीनारायण शाह : आलोचनात्मक इतिहास’ (मञ्जरी पब्लिकेशन, २०८०) प्रकाशनसँगै बेलाबखत पत्रपत्रिकामा नेपाली इतिहासका विविध पक्षलाई उधिन्दै पनि आएका छन् ।
धनकुटादेखि राजधानीको बसाइ हुँदै हाल प्रवासमा रहेका लेखकले आफ्नो सीमित समयमा पनि इतिहासजस्तो प्रामाणिकता खोज्ने विषयमाथि सदैव घोत्लिएर कृतिहरू प्रकाशन गर्दै जानु सराहनीय छ र गहन विषय समातिएको उनको पछिल्लो कृति उनको अनुसन्धानको भोकबाट सिर्जना गरिएकाले पठनीय नै हुनसक्छ ।
बाइस अध्यायमा लिखित समीक्षा कृतिमा पृथ्वीनारायणको मूल कार्यमा आलोचना गर्ने वा उनलाई विस्तारवादी–केन्द्रवादी भन्नेतिर नगई उनले बाल्यावस्था, युवराज काल र राजा भएपछि एकीकरणलगायत विभिन्न व्यवहारका क्रममा नकारात्मक काम, अमानवीयता र क्रूरताका पक्ष तथा केही जनमानसमा फैलन नसकेका घटना, व्यापारिक काम आदिबारे उधिन्ने प्रयास गरिएको छ ।
पृथ्वीनारायणको जन्म नै भूटानी लामा लोपाबाट भएको बौद्धपूजा र तान्त्रिक अनुष्ठानबाट भएको रोचक विवरण उल्लेख गर्दै गोरखा फौजलाई भोटका फौजले घेरिरहेका बखत भोटसँग सन्धि गरिदिएबापत उनी र अन्य लामालाई ताम्रपत्र जारी गरेर गुम्बा दान गरेको जनाइएको छ । उनले जनताका बारीका उखुबारीमा उखु चोर्नेदेखि लिएर अर्काको गहना र हात्तीमाथि आँखा गाडेका घटना तथा बेलाबखत भाइभारदार र शत्रु राज्यका मानिसहरूलाई कुनै न कुनै दोष देखाएर कटाउने–मराउने कुरामा आदेश दिएको भनी लेखकले जिकिर गरेका छन् । राजा हुनेबित्तिकै बनारस गई हातहतियारसहित फर्कंदा सीमा भन्सारमा जाँचका क्रममा त्यहाँका कर्मचारीलाई कटाएको र आफ्नो ज्यान जोगाउन नै मुस्किल परेको, कीर्तिपुर युद्धमा पनि आफ्नै हठले युद्ध गर्न पुग्दा आफैँ झन्डै मारिएकोजस्ता घटना पनि उनीसँग सम्बन्धित छन् । उनका मकवानपुर र गोरखपुरका गरी दुई रानी इतिहासमा सर्वत्र लेखिए पनि भक्तपुर बसाइका क्रममा एक नेवार कन्या पनि प्राप्त गरेको कुरा चाहिँ धेरैलाई थाहा नहोला, जुन यस कृतिमा उल्लेख गरिएको छ ।
नुवाकोटबाट लखेटिएर कान्तिपुरका उमराव बनेका जयन्त रानालाई बेलकोट विजयपछि छाला काढेर मारिएको, तनहुँका राजा त्रिविक्रमले डोलीमा बोकिएर गएकी आफ्नी बिरामी रानीमाथि नजर लगाएको आरोपमा उनलाई पनि पक्राउ गरेको पनि उल्लेख छ जुन अन्यत्र पनि आएकै कुरा हो । भादगाउँ विजयपछि राजा तथा मितबा रणजित मल्ल र भागेर त्यहाँ पुगेका जयप्रकाश मल्लका हकमा सम्मान नै गरेका पृथ्वीनारायणले त्यहीँ शरण लिन आएका अर्का राजा तेजनरसिंह मल्ल्ललाई भने कोर्रा हान्न लगाएको प्रसङ्ग पनि यहाँ आएको छ । कीर्तिपुरमा लडाइँ गर्ने परिस्थिति नभएको भनी काजी कालु पाँडेले सल्लाह दिँदादिँदै पनि आक्रमण गर्दा पाँडेको निधन राजहठले भएको कृतिमा स्पष्ट गरिएको छ । बन्दुकका बलमा निर्दाेषको नरसंहार, तिमालकोटको युद्धमा छलकपट, कीर्तिपुरेको नाक–कान कटाइ, कमारा–कमारी राख्न दिने चलन, नगरकोटीको संहार र माझकिरातमा अत्याचार जस्ता आलोचनात्मक पक्षको पनि चर्चा गरिएको छ ।
कृतिका सबै अध्यायमा पृथ्वीनारायणको मात्र नभएर भाइ, भारदार, छोरा, नातिहरूका नकारात्मक पक्षमाथि पनि कलम चलाएर यसलाई सामान्य विस्तार गर्ने प्रयास भएको छ । भूटानसँगको सम्बन्ध र ‘दिव्योपदेश’ को उत्पत्तिबारे कृतिमा चर्चा गरिए पनि त्यसमा खासै आलोचना गरिएको छैन ।
पृथ्वीनारायणले एकीकरणको अभियान चलाएर नेपालको सिमाना विस्तार गरेको वा पुनःस्थापना गरेको कुरा प्रायः सबै कृतिमा पाइने भए पनि प्रस्तुत कृतिमा त्यस कर्मलाई गोरखा ‘राज्य विस्तारको योजना’ भनी प्रसङ्गवश कतै कतै मत बुझाइएको छ ।
लेखक दिक्पालले यी सबै लेखनमा बाबुराम आचार्य, नयराज–महेशराज–दिनेशराज पन्त, धनबज्र बज्राचार्य, योगी नरहरिनाथ, डा राजेश गौतम, मोहनप्रसाद खनाल, चित्तरञ्जन नेपाली, सूर्यविक्रम ज्ञवाली, इमानसिंह चेम्जोङजस्ता इतिहासकार, विद्वान् एवम् लेखकका कृति तथा लेखरचनाबाट उद्धृत गर्दै आफ्नो विश्लेषण पनि दिएका छन् ।
कृतिमा तथ्यतथ्यांक र वाक्यमा निकै पुनरुक्ति छन् । पत्रकारको पनि परिचय बनाएका युवा लेखक दिक्पालले एकै विषयमा ठाउँठाउँमा दोहोर्याई तेहर्याई लेख्दा पाठकलाई झिँजो लाग्नु स्वाभाविक छ । सामान्य वाक्य संरचना र वर्णविन्यासमा त्रुटि छन् । कोलम्बसले अमेरिका पत्ता लगाएको सन् १४९२ हुनुपर्नेमा १५४९ भएको छ ।
प्रस्तुत कृतिमा लेखकले पीडितका पक्षलाई पनि अध्ययनअनुसन्धानबाट उजागर गर्ने प्रयास गरेका छन् । यसमा प्राप्त तथ्यतथ्यांकमा विश्लेषण गरी आफ्नो धेरथोर राय दिनेसम्मको काम भएको छ । यसर्थ प्रस्तुत कृतिलाई मौलिक मान्न नसकिए पनि राष्ट्रिय विभूतिको आलोचनात्मक पक्षलाई पनि उजागर गरिदिएर लेखकले इतिहासका विद्यार्थी र पाठकहरूलाई गुन लगाएका छन् । साहित्यकार–इतिहासकार वैरागी काइँलालाई समर्पण गरिएको कृतिमा प्रस्तुत गरिएका उनका कमीकमजोरीले उनको राष्ट्रनिर्माताको छवि भने धुमिल नहुने स्पष्ट छ ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : गैरआवासीय नेपाली संघ (एनसीसी) कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा आयोजित ‘गैरआवासीय नेपाली तारा–२०२३ कतार सिजन ४’को तेस्रो चरणको प्रतिस्पर्धा शुक्रबार सम्पन्न भएको छ । शुक्रबार प्लाजामलमा अवस्थित वेलफेयर रेस्टुरेन्टको सभा हलमा सम्पन्न प्रतियोगिताबाट गायन र नृत्य विधाबाट पाँच–पाँच जना फाइनलिष्ट चुनिएका छन् ।
फाइनलिष्ट पाँचमा गायन विधाबाट दीपक कुमार घले (भोटिङ नं. १), इशान रेग्मी (भोटिङ नं. २), सुजन गुरुङ (भोटिङ नं. ३), मानसिङ परियार (भोटिङ नं. ४) र रुस्तम तामाङ (भोटिङ नं. ५) रहेका छन् । त्यस्तै नृत्य विधाबाट जुनु माया कुमाल (भोटिङ नं. १), सरोज लामा (भोटिङ नं. २), निरु श्रेष्ठ (भोटिङ नं. ३), झरना राई (भोटिङ नं. ४) र सौजन चहार (भोटिङ नं. ५) रहेका छन् । ‘नेपाली कला संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेको प्रतिभाको खोजी गरौं’ भन्ने नाराका साथ राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ, प्रवासमा लुकेर बसेको कलालाई प्रस्फुटन र उजागर गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको तेस्रो चरणमा अतिथि निर्णायकको भूमिकामा गायक तथा संगीतकार प्रभात त्रिपाठी रहेका थिए ।
त्रिपाठीले सहभागीहरूले प्रवासमा रहेर पनि नेपाली कला संस्कृतिको प्रवद्र्धनका लागि गरेको सराहनीय कार्यको प्रशंसा गरेका थिए । उनले गीतसंगीत सागर रहेको बताउँदै सबैमा सरस्वतीको बास नहुने बताए । कसैले गीतसंगीत सिकेर अगाडि बढ्न चाहेमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले संगीत कक्षाहरू सञ्चालन गरेको बताउँदै उनले सिक्नका लागि अवसर खुला रहेको बताए । उनले सहभागीहरूलाई सांगीतिक तथा व्यक्तिगत जीवनमा प्रगतिको कामना गरेका थिए ।
प्रतिस्पर्धाको गायन विधातर्फ वीरेन्द्र श्रेष्ठ, गुन्जन तामाङ र मंगल विक निर्णायकका रूपमा रहेका छन् भने नृत्य विधातर्फ भबिन तामाङ, भीम प्रसाद गुरुङ र जनक लाफा मगरले निर्णायकको जिम्मेवारी सम्हालेका छन् । निर्णायकहरुले प्रतियोगीलाई संगीत सिक्दै र फरक–फरक जनरामा रहेर अभ्यास गर्दै अगाडि बढ्न सुझाव दिएका थिए । पर्यवेक्षकद्वय बुधबल गुरुङ र क्रान्ति सिंहले कार्यक्रम अवधिभर निरीक्षण तथा सहभागीलाई सुझाव राखेका थिए ।
एनसीसी कतारका सचिव रोशन अर्याल र तमु समाजका महासचिव ज्ञान बहादुर गुरुङ (डिजन)ले सहजीकरण गरेको कार्यक्रमको अन्त्यमा बोल्दै एनसीसी कतारका अध्यक्ष रमेश भट्टले प्रतिस्पर्धामा सहभागी सबैप्रति शुभकामना व्यक्त गरे । उनले फिनालेमा पुग्ने प्रतिस्पर्धीहरुलाई शुभकामना दिँदै जो प्रतियोगिताबाट बाहिरिए पनि नतिजालाई सकारात्मक रूपमा लिँदै थप मेहनत गरेर संगीत क्षेत्रमा निरन्तर बग्न शुभेच्छा प्रकट गरेका थिए । आयोजक संस्था तमु (गुरुङ) समाजकी अध्यक्ष टौमाया गुरुङसहित एनआरएनए आईसीसीका विभिन्न तहका व्यक्तित्वको विशेष आतिथ्यता रहेको थियो ।
प्रतियोगिताको गायन विधाका विजेताले १ लाख ८१ हजार र नृत्य विधाका विजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । फेब्रुअरी २, २०२४ मा हुने ग्राण्ड फिनालेका लागि अतिथि निर्णायकसहित आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई नेपालबाट कतार ल्याउन पहल भइरहेको आयोजकले जनाएका छन् । कार्यक्रमबाट भएको मुनाफाको ६५ प्रतिशत रकम राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिने भएको छ । मध्यान्ह राष्ट्रिय दैनिक उक्त आइडलको मुख्य सञ्चार सहयोगीका रूपमा रहेको छ ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : सामाजिक सञ्जाल टिकटक तथा रिलमा तहल्का मच्चाउन सफल पानी, बिजुली वर्षा गीतसहित सयौँ गीतकी गायिका प्राश्ना शाक्य तथा भोजपुरी, मैथिली हिन्दी तथा थुप्रै नेपाली गीतमा कुशल नृत्य प्रस्तुत गरेकी सफल नृत्यंगना मेनुका माझी कतार आइपुगेका छन् । रात्रिकालीन व्यवसायमा सफल व्यवसायीका रूपमा स्थापित युवा व्यवसायी उत्तम गुरुङले हालै सञ्चालनमा ल्याएको भेल्भेट लाउन्ज एन्ड क्लबले आयोजना गरेको "भेल्भेट नाइट" मा आफ्नो सांगीतिक प्रस्तुति दिन उनीहरु कतार आइपुगेका हुन् ।
अतिथि कलाकारको स्वागतार्थ हमाद विमानस्थलमा क्लब सञ्चालक गुरुङ, कार्यक्रम संयोजक नाजिर रहमानलगायतका अन्य व्यक्तित्वहरू पुगेका थिए । अतिथि कलाकारहरूले कतारमा रहेका सबै नेपालीहरूलाई कार्यक्रममा निमन्त्रणा गर्दै सँगै रमाएर कार्यक्रमलाई भव्य बनाइदिन आग्रह गरेका छन् ।
दोहाको मुटु सल्वा रोडमा रहेको जरीर बुक स्टोरको ठिक पछाडि आईभोरी ईन होटेलको चौथो तलामा रहेको भेल्भेट लाउन्ज एन्ड क्लबमा आज साँझ पाँच बजेदेखि कार्यक्रम शुरु हुने सञ्चालक गुरुङले मध्यान्ह दैनिकलाई जानकारी दिए । दिउँसो ४ बजेबाट गेट खुल्ने छ भने पुरुषका लागि ५० कतारी रियाल र महिलाका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
क्लब प्रवेशमा सहजताका लागी कुनैपनि किसिमको शुल्क नलाग्ने, मेम्बरसिप कार्डको जरुरत पनि नपर्ने, तर क्लब प्रवेशका लागि २१ वर्ष कटेको, म्याद भएको कतारी आइडी कार्ड या पासपोर्ट भने आवश्यक पर्नेछ ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : गैरआवासीय नेपाली संघ (एनसीसी) कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा आयोजित “गैरआवासीय नेपाली तारा- २०२३ कतार सिजन ४” को तेस्रो चरणको प्रतिस्पर्धा शुक्रबार हुने भएको छ । आउँदो शुक्रबार बिहान प्लाजामलमा अवस्थित वेलफेयर रेस्टुरेन्टको सभा हलमा सम्पन्न हुने प्रतियोगिता आन्तरिकरूपमा गरिने आयोजकले जनाएका छन् l
'नेपाली कला संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेको प्रतिभाको खोजी गरौँ' भन्ने नाराका साथ राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ, प्रवासमा लुकेर बसेको कलालाई प्रस्फुटन र उजागर गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको तेस्रो चरणमा अतिथि निर्णायकको भूमिकामा गायक तथा संगीतकार प्रभात त्रिपाठीलाई निमन्त्रणा गरिएको छ l तेस्रो चरणबाट गायन र नृत्य गरी दुवै विधाबाट उत्कृष्ट पाँच पाँच जनालाई ग्राण्ड फिनालेमा लगिने छ l फेब्रुअरी २, २०२४ मा हुने ग्राण्ड फिनालेका लागि अतिथि निर्णायक सहित आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई नेपालबाट कतार ल्याउन पहल भइरहेको आयोजकले बताए l पछिल्ला चरणहरूमा भएका कमजोरी सुधार्दै प्रतिस्पर्धीहरूलाई यातायातको समेत व्यवस्था गरिने यातायात संयोजक केशव कार्कीले मध्यान्ह दैनिकलाई जानकारी दिए l
प्रतियोगिताको तेस्रो चरणमा गायन विधाबाट १७ जना र नृत्य विधाबाट १० जना प्रवेश गरेका छन् l गायन विधाबाट सुजन गुरुङ, बुद्ध सिंह लिम्बू, भीम बहादुर कार्की, जोन विक, असोक गुरुङ, रुष्तम तामाङ, मानसिंह परियार, ईशान रेग्मी, सुरज केसी, मालती लामा, वनिता राई, दीपक कुमार घले, गौतम सामी लिम्बू, प्रविन रामदाम, क्षितिज तामाङ, उत्तम राई र सरला तामाङले प्रतिस्पर्धा गर्दै छन् l त्यस्तै नृत्य विधाबाट जुनुमाया कुमाल, झरना राई, दिया सिंह, जीवन खालिंग राई, अमित राई, रिता श्रेष्ठ, सौजार चाहार, निरु श्रेष्ठ, सरोज लामा र सुनिता शेर्पाले प्रतिस्पर्धा गर्दै छन् l प्रतिस्पर्धाको गायन विधातर्फ वीरेन्द्र श्रेष्ठ, गुन्जन तामाङ र मङ्गल विक निर्णायकका रूपमा रहेका छन् भने नृत्य विधातर्फ भबिन तामाङ, भीम प्रसाद गुरुङ र जनक लाफा मगरले निर्णायकको जिम्मेवारी सम्हालेका छन् l
काठमाडौं : काठमाडौंमा सम्पन्न दोस्रो जीवन्त म्युजिक अवार्डबाट वरिष्ठ ध्वनि सम्पादक किशोर थापा सम्मानित भएका छन् । लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा ध्वनि सम्पादकको रुपमा कार्यरत थापालाई जरुरी कुरा छ बोलको गीतबाट सर्वोकृष्ट ध्वनि सम्पादकको अवार्ड प्राप्त भएको हो ।
उक्त गीतमा अर्जुन पोखरेलको संगीत सुरेश वाग्लेको शब्द अन्जु पन्त सुरेश लामाको स्वर रहेको छ । तीन हजारभन्दा बढी गीतहरुमा ध्वनि सम्पादन गरिसकेका थापा नेपाली सांगीतिक क्षेत्रमा तीन दशकदेखि सक्रिय छन् । उनको ध्वनि सम्पादनमा सुप्रसिद्ध गायक गायिका प्रेमध्वज प्रधान उदित नारायण झा दिप श्रेष्ठदेखि अहिलेका अधिकांश गायक गायिकाको स्वर सुन्न सकिन्छ ।
नेपालकै एक विशिष्ठ वरिष्ठ ध्वनि सम्पादकको रुपमा प्रख्यात किशोर थापासँगै उक्त अवार्ड विभिन्न ४५ विधाका सर्जकहरुलाई प्रदान गरिएको थियो । संस्कृति पर्यटन तथा नागरिक उडयान राज्यमन्त्री शुसीला सिर्पाली ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति एवम् अग्रज संगीतकार शम्भुजीत बास्कोटालगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
काठमाडौं : रामेछापको शैलुङ डाँडाको पर्यटन पवर्द्धनका लागि विविध तयारी गरिरहेको अग्लेश्वरी हिल्स कोषद्वारा आयोजित ‘दोस्रो जीवन्त नेपाल म्युजिक अवार्ड–२०२३’ विभिन्न ४५ विधामा अवार्ड प्रदान गर्दै शनिबार राति सम्पन्न भएको छ । समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुशीला सिर्पाली ठकुरी, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति एवम् अग्रज संगीतकार शम्भुजीत बासकोटासहित विभिन्न अग्रज कलाकारले समारोहमा कलाकारलाई सम्मान तथा अवार्ड प्रदान गरेका थिए ।
नेपाली गीतसंगीतको प्रवद्र्धन र अग्लेश्वरी हिल्सको पर्यटन प्रवर्द्धनको लागि आफूहरुले यो अवार्ड आयोजना गर्दै आएको आयोजक संस्थाका संस्थापक अध्यक्ष सिजम सिँजालीले कार्यक्रममा बताए ।
अवार्ड समारोहमा उत्कृष्ट राष्ट्रिय गीत, गायकको अवार्ड माटोको मायाबाट नीमा शेर्पा, पर्यटन प्रवद्र्धन गीतको अवार्ड सुन्दर रामेछापबाट गायक प्रकाश कटुवाल, पर्यटन गीततर्फ नै गीतकारको अवार्ड खाँडादेवी माई २ बाट कल्याणरत्न कार्कीले हासिल गरे ।
यस्तै चलचित्र संगीततर्फ उत्कृष्ट चलचित्र संगीतकारको अवार्ड छक्का पञ्जा ४ को दर्शन सलाम गीतबाट दिपक शर्मा, पब्लिक च्वाइस अवार्ड चलचित्र प्रसाद २ को मारसी धान गीतबाट राजनराज शिवाकोटी, उत्कृष्ट चलचित्र गीतकारको अवार्ड छक्का पञ्जा ४ कै दर्शन सलामबाट राजेन्द्र थापा, उत्कृष्ट चलचित्र गीत गायकको अवार्ड छक्का पञ्जा ४ कै दर्शन सलामबाट डेभिड शंकर, गायकमै पब्लिक च्वाइस अवार्ड चलचित्र नाइ नभन्नु ल ६ को तिम्रो आँखामा गीतबाट प्रताप दास र चलचित्र गायिकाको अवार्ड बाबरी चलचित्रको बाबरी रंग गीतबाट अस्मिता अधिकारीले हासिल गरे ।
यस्तै आधुनिक गीततर्फ उत्कृष्ट आधुनिक गीतकारको अवार्ड दुर सागरबाट डब्बु क्षत्री, गीतकारकै डायस्पोरा अवार्ड मैले प्रेम गरिकी हुँबाट राज मुकारुङ, जूरी अवार्ड सचिता कर्माचार्य, उत्कृष्ट संगीतकारको अवार्ड मेरो दिलको राजाबाट पदम रोकाया, गायकको अवार्ड राम साइलीबाट नरेश बीबीसी, जूरी अवार्ड बाँचिएलाबाट विशाल थापा, पपुलर गीतको अवार्ड सुनकोशीबाट सबु थापामगर, गायिकाको अवार्ड आधा दुःखबाट सुनिता कार्की, जुरी अवार्ड जिन्दगीका गोरटोबाट कुसुम बराल, नयाँ गायकको अवार्ड सुनको दरबारबाट बालाराम परियारले हासिल गरे ।
यस्तै आधुनिक गीत भिडियोतर्फ महिला मोडलको अवार्ड तिमी मेरोबाट जिसु कोइराला, जुरी अवार्ड सम्झनाबाट अनिता गिरी, पुरुष मोडलको अवार्ड भ्रष्टाचारी भेनाबाट ईश्वर बल्लभ उप्रेती, पुरुष नयाँ मोडलको अवार्ड सुनकोशीबाट सुनिल न्यौपाने, महिला नयाँ मोडलको अवार्ड जिन्दगीका गोरेटोबाट रेश्मा श्रेष्ठ, सिनेमेटोग्राफरको अवार्ड मायाले नै होबाट रुपेश थापा, भिडियो सम्पादकको अवार्ड कठैबाट पदम सुवेदी, भिडियो निर्देशकको अवार्ड सपना वनेरबाट सत्यराज चौलागाईं र भिडियो निर्देशकको पब्लिक च्वाइस अवार्ड सुन कोशीबाट दिलीप समनले हासिल गरे ।
यस्तै पपगीततर्फ म्युजिक भिडियोमा उत्कृष्ट महिला मोडलको अवार्ड कास्तो होलाबाट अस्मिता तामाङ, नव पुरुष मोडलको अवार्ड शुभकामनाबाट रमेश विश्वकर्मा, पप गीततर्फ उत्कृष्ट गायकको अवार्ड तिमि धुनबाट चेतन राई, जूरी अवार्ड तिम्रो यादमाबाट प्रशान्त मिष्ट, पपगीत गायिकाको अवार्ड मजा बेग्लै छबाट रिज्योना कार्की, डायस्पोरा अवार्ड मैले प्रेम गीतबाट मञ्जु लामा र जुरी अवार्ड तिमीलाई गीतबाट चाँदनी शाक्य, पप गीतकारको अवार्ड आमाबाट किरण माइकल घिमिरे, संगीत संयोजकको अवार्ड छुनुमुनु २बाट आमोस तामाङले हासिल गरे ।
यस्तै बाल कलाकारतर्फ उत्कृष्ट मोडलको अवार्ड मायाको आशबाट सफल पौडेल, जुरी अवार्ड छुनुमुनु २ बाट जविस श्रेष्ठ÷जविन श्रेष्ठ, पब्लिक च्वाइस अवार्ड चाँहिदैन तिम्रोबाट आयुषी ढकाल, कोरियोग्राफरको अवार्ड सातै सुरबाट कृष्ण रसाल, कोरियोग्राफर जुरी अवार्ड कालीकालीबाट विकास नेपालीले हासिल गरे । यस्तै गीत मिक्सिङ र मास्टरिङको अवार्ड जरुरी कुराबाट किशोर थापा, उत्कृष्ट गजल गायकको अवार्ड मौसम खराबबाट गुणराज श्रेष्ठ, गजलमै जुरी अवार्ड माया गरेझैंबाट डीबी खड्का र देउडा गायिकाको अवार्ड उधारो खाइदियोबाट शोभा थापाले हासिल गरे ।
लोकदोहोरीतर्फ गीतकारको अवार्ड ठमेल आसनबाट नेत्र अर्याल, संगीतकारको अवार्ड डाँडा घरे साइँलीबाट श्रीकृष्ण बम मल्ल, संगीत संयोजकको अवार्ड मेरो सानुबाट नरेन्द्र वियोगी, उत्कृष्ट लोकदोहोरी गायकको अवार्ड ठमेल असनबाट खेम सेन्चुरी, जुरी अवार्ड मुसौरीबाट सरोज लामिछाने, उत्कृष्ट गायिकाको अवार्ड फूल फुल्यो अमलाबाट पार्वती कार्की, नव गायिकाको अवार्ड बिउ खायोबाट कविता खत्री, नव गायिका जुरी अवार्ड रातो सल्कोबाट सावित्रा भुजेल र लोकदोहोरी नव गायकको अवार्ड तिहारै आयोबाट नकुल गौतमले हासिल गरे ।
यस्तै लोकदोहोरीतर्फ नै म्युजिक भिडियो महिला मोडलको अवार्ड सोल्टी बजारबाट रजनी गुरुङ, जुरी अवार्ड च्यात्यो रुमालबाट अनिता बस्नेत, पुरुष मोडलको अवार्ड मनको चाहनाबाट सागर लम्साल, महिला नवमोडलको अवार्ड नौलो चिनजानीबाट शशिकला राई, नव पुरुष मोडलको अवार्ड कति राम्रो रामेछापबाट नविन गौतमले हासिल गरे । यस्तै लोकदोहोरीतर्फ नै भिडियो सम्पादकको अवार्ड सिमसिम पानीबाट मिलन विश्वकर्मा, छायाँकारको अवार्ड पातली मोरीबाट राम कृष्ण कँडेल, भिडियो निर्देशकको अवार्ड ढुकुरको गुँडबाट खमेश श्रेष्ठ, कल्चरल गीत गायिकाको अवार्ड गेतेंगा टेंगाबाट कल्पना सुनुवार र उत्कृष्ट कल्चरल गीत भिडियो निर्देशकको अवार्ड दमौलीका चाइना पुलबाट उमेश गुरुङले हासिल गरे । कार्यक्रममा विभिन्न सञ्चारकर्मी, समाजसेवी, कलाकार, उद्यमी, व्यवसायीलगायतलाई सम्मानित गरिएको थियो ।
अवार्डको निर्णायकमा गायक सिडी विजय अधिकारी, संगीतकार शंकर थापा ‘स्माइल’, मोडल रुविना अधिकारीलगायत थिए । कार्यक्रममा मोडल अदिती श्रेष्ठको नृत्य निकै आकर्षक थियो । यस्तै गायकहरु डेभिड शंकर, प्रताप दासले आफ्ना गीतबाट दर्शकलाई नचाए । कार्यक्रममा नेपाल मगर सांस्कृतिक संघका कलाकारहरुको नृत्य, लुगुम चेलिबेटी आमा समूहको पञ्चेबाजा प्रस्तुति रहेको थियो ।
काठमाडौं : ‘मिस इको इन्टरनेशनल नेपाल २०२४’को विजेता फ्लाविया महर्जन घोषित भएकी छन् । काठमाडौंकी २१ वर्षीया विजेता महर्जनले इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२४’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
ग्रीनआर्ट मिडियाले राजधानीमा शुक्रबार साँझ आयोजना गरेको कार्यक्रममा महर्जन ‘मिस इको इन्टरनेशनल नेपाल २०२४’को ताजसहित इजिप्ट प्रतियोगिताका लागि छनोट भएकी हुन् । कार्यक्रममा महर्जनलाई गत वर्षकी विजेता रक्षा उप्रेतीले ‘मिस इको इन्टरनेशनल नेपाल २०२४’को ताज लगाइदिएकी थिइन् ।
स्ट्याण्ड लन्च एण्ड बार बत्तीसपुतलीमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य, अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज प्याजेन्टका निर्देशक सन्तोष सापकोटा, कोरियोग्राफर जयन सुब्बा मानन्धर, ग्रीन आर्ट मिडियाका सिइयो प्रविन लाकौल, चलचित्र पत्रकार संघका उपाध्यक्ष कुबेर राज गिरी, सञ्चारकर्मी अनुरा भट्टराई, मिस स्टार युनिभर्स २०२३ श्रृष्टि महर्जन, मिस हेरिटेज २०२३ आज्मा महर्जन लगायतको उपस्थिति थियो ।
कार्यक्रममा गत वर्षकी ‘मिस इको इन्टरनेशनल’ विजेता उप्रेतीले इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल’ नेपाललाई विश्वमा चिनाउने एउटा सुनौलो अवसर भएको बताउँदै उक्त मञ्चको महर्जनले राम्रोसँग सदुपयोग गर्ने बताइन् । उप्रेतीले महर्जनबाट ‘मिस इको इन्टरनेशनलको’ ताज नेपाल भित्रिने आस गर्न सकिने धारणा राखिन् ।
विजेता महर्जनले मिस इको आफ्ना लागि एउटा राम्रो अवसर भएको बताइन् । उनले अवसर प्रदान गर्ने ग्रीन आर्ट मिडिया प्रति आभार व्यक्त गर्दै प्रतियोगितामा जस्तो सुकै चुनौती आएपनि सामना गर्ने धारणा राखिन् । प्रतियोगितामा आफूले नेपालका कल्चरल, सांस्कृतिक र पर्यटकीय स्थानको समेत प्रचार गर्ने उनले बताइन् ।
ग्रीन आर्टस मिडियाका सिइयो प्रविन लाकौलले महर्जनले ‘मिस इको इन्टरनेशनल’मा नेपालको नाम राखेर फर्किने बताए । अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्यले नेपालको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउनु निकै गौरवको विषय भएको बताउँदै उक्त अवसरको सदुपयोग गर्दै आफ्नो र राष्ट्रको नाम उचो राख्न महर्जनलाई सुझाए ।
आगामी फेब्रुअरीमा आयोजना हुने प्रतियोगितामा ६० बढी देशका इको सुन्दरीहरुको सहभागिता रहनेछ । प्रतियोगिताका लागि महर्जन नेपालको तर्फबाट एक्लो प्रतिनिधि हुन् । महर्जनलाई प्रतियोगिताका लागि ग्रीन आर्ट मिडियाकी प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठ र नेपालका प्रतिष्ठित व्यक्तिहरुबाट ग्रुमिङ गरिनेछ ।
ग्रीन आर्टस मिडियाकी अनिला श्रेष्ठ २०१५ देखि मिस इको इन्टरनेशनलको आधिकारिक नेपाल राष्ट्रिय निर्देशकको रुपमा चुनिएकी हुन् । मिडियाको सिईओमा प्रविन लाकौल रहेका छन् ।
मिस इको इन्टरनेशनल एक प्रतिष्ठित अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता हो । जसको एल.टी.सि.पि. अर्गनाइजेशनले ब्युटी फर इको’ जागृत गर्दै टुरिजम् र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाइ इजिप्टबाट २०१५ देखि शुरु गरेको हो । यसको मुख्य उद्देश्य विश्वभरका पर्यावरण र संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्कमार्फत सूचना प्रवाह गर्ने रहेको छ ।
काठमाडौं : स्कुले जीवनबाट नै गीतसंगीतमा रुची राख्ने राजेन्द्र पुरीले २०६९ सालबाट स्वदेश, विदेशमा हुने ठूला कार्यक्रमहरुको आयोजना गर्दै दर्जनौं लोकप्रिय कलाकारहरुलाई आफ्नो कार्यक्रममा सहभागिता गराइसकेका छन् ।
२०७० देखि मलेसियालगायत नेपालमा हुने विभिन्न सांस्कृतिक कार्यक्रम आयोजनामा सक्रिय सहभागिता जनाउँदै आएका राजेन्द्र पुरीको संयोजनमा हालै रोयल मुभिज प्रालि र सिन्धुपाल्चोक सेवा समाज यूएई दुबईको संयुक्त आयोजनामा पाँचौं ज्योति फिल्म म्युजिक अवार्ड २०८० सम्पन्न भएको छ । पुरीको सक्रियतामा दोस्रो अन्तर्राष्ट्रिय प्रियसी सिल्भर म्युजिक अवार्ड थाइल्याण्ड, सिंगापुर र मलेसियामा आयोजना गरी झण्डै ३० जना कलाकर्मीलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो ।
निकट भविष्य हुन गइरहेको तेस्रो सिल्भर इन्टरनेशनल म्युजिक अवार्ड २०२४ ‘अन्तर्राष्ट्रिय कला स्रष्टा सम्मान’को तयारीमा व्यस्त रहेका पुरीका अनुसार राष्ट्रियस्तरका कलाकारलाई थाइल्याण्ड, सिंगापुर र मलेसियामा उपस्थित गराएर सम्मान तथा अवार्ड प्रदान गरिने छ । कार्यक्रम संयोजक पुरी भन्छन्, ‘यस्तो कार्यक्रम गर्नु आफैंमा गहन विषय हो भने सही व्यक्तित्वलाई निष्पक्ष ढंगले विवादरहित सम्मान वितरण गर्न पनि कार्यक्रम संयोजकको महत्वपूर्ण भूमिका रहन्छ ।’
गएको ७ महिनामा चार देशमा भव्यरुपमा चार वटा अवार्ड कार्यक्रम सम्पन्न गरी झण्डै १२० जना भन्दा बढी कलाकार, पत्रकार, समाजसेवी, व्यवसायीलाई सम्मान गरिसकेका गीतकारसमेत रहेका पुरीले थाइल्याण्ड, मलेसिया र सिंगापुरमा हुन गइरहेको तेस्रो सिल्भर इन्टरनेशनल म्युजिक अवार्ड २०२४ कार्यक्रमलाई सभ्य र भव्यरुपमा सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies