शिव विक/मध्यान्ह
काठमाडौं : पशु र कृषि बाली धितो राखेर समेत ऋण लिन पाइने भएको छ । हाल बैंक तथा वित्तीय संस्थाले अचल सम्पत्ति मात्र धितो राखेर ऋण दिने गरेका छन् ।
चल सम्पत्ति समेत धितो राख्न सक्ने गरी सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट पारित भएको छ ।
पारित विधेयक कानूनमा रुपान्तरित भएपछि पशु, कृषि बाली तथा कृषिजन्य उत्पादन र खाद्यवस्तुका साथै उत्खनन्का लागि अनुमति लिइएका खनिज पदार्थ धितो राखेर समेत ऋण लिन सकिने छ ।
पहिलोपटक २०६३ सालमा सुरक्षित कारोबार ऐन आएको थियो । उक्त ऐन प्रभावकारी कार्यान्वयन नभएको भन्दै सरकारले गत ४ चैत २०८० मा संशोधन विधेयक ल्याएको हो ।
अर्थ मन्त्रालयले राष्ट्रियसभामा दर्ता गरेको विधेयकमाथि विधायन व्यवस्थापन समितिले दफावार छलफल सकाएर पारित गरेको हो । विधायन व्यवस्थापन समितिबाट पारित विधेयक अब राष्ट्रिय सभा हुँदै प्रतिनिधि सभामा जान्छ । प्रतिनिधिसभाले पनि पारित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुग्छ । विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रुपमा लागू हुन्छ ।
विधेयक ऐनमा रुपान्तरित भएपछि घर, जग्गाबाहेक चल सम्पत्ति पनि धितो राखेर बैंक तथा वित्तिय संस्थाबाट ऋण लिन पाइनेछ । समिति बैठकमा अर्थमन्त्री वर्षमान पुनले भनेका छन्, ‘बैंक तथा वित्तीय संस्थाले अचल सम्पत्ति मात्र धितो राखेर ऋण दिने गरेकामा नयाँ ऐन लागू भएपछि चल सम्पत्ति पनि धितो राख्न सकिन्छ ।’
अचल सम्पत्तिबाहेकको जडित सम्पत्ति, उत्खनन्का लागि अनुमतिप्राप्त खनिज पदार्थ, व्यक्तिको कुनै पनि प्रकारको मूर्त वा अमूर्त सम्पत्तिलाई विधेयकमा चल सम्पत्तिको परिभाषाभित्र राखिएको छ ।
यो प्रावधान लागू भएपछि कृषकलाई राहत मिल्ने सरोकारवालाहरुको विश्वास छ । किसानले उत्पादन गर्दै गरेको बाली धितो राखेर ऋण पाउँछन् । जसले उनीहरुलाई सहज जीवन चलाउन र कृषिमा लगानी बढाउन समेत मद्दत पुग्नेछ । बिना धितो ऋण नपाउने अवस्थालाई समेत यसले कम गर्नेछ । साथै, व्यक्तिसँग चर्को मूल्यमा ऋण लिनुपर्ने किसानको बाध्यता समेत कम हुनेछ ।
उत्पादन गर्दै गरेको बाली वा पशु पालनलाई समेत धितो राखेर ऋण लिन पाउने व्यवस्था भएपछि स्वरोजगारमा लाग्ने युवाहरुको संख्यामा समेत बृद्धि हुने सरकारको विश्वास छ । लगानी नभएको भनेर रोकिएका वा अलमलिएका युवाहरुलाई समेत यसले लाभ दिने सरकारको विश्वास छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies