–अच्युतप्रसाद पौडेल ‘चिन्तन’
बुधबारको दिन विभिन्न कार्यक्रम गरी रेडक्रस दिवस मनाइएको छ । परोपकार भनौँ सेवा नै धर्म हो, दिवसको सार्थकता यसैमा छ । पूर्वीय दर्शनमा जति परोपकारका आदर्शहरू सायदै अन्यत्र होलान्, त्यसैले त वेदका विभाजनकर्ता, महाभारतदेखि अठार पुराणका रचयिता वेद व्यासले भनेका छन्– अष्टादश पुराणेषु व्यासस्य वचनं द्धय, परोपकार पुण्याय पापाय परपीडनम् अर्थात् सबै पुराणको सार भन्नु परोपकार नै हो, त्यही पुण्य हो र अरुलाई पीडा दिनु नै पाप हो । ईश्वरको शब्दमा अहं सर्वेषु भूतेषु अर्थात् म सबै प्राणीको अन्तर हृदयमा बस्छु । मैले बनाएको मन्दिर हो यो, म आफ्नै मन्दिरमा बस्छु, हे मानव ‘तिम्रो शरीर मेरो मन्दिर हो, तिमीले बनाएको सुनका गजुर सहितको मन्दिरमा मलाई बस्न बाध्य छैन, कारण त्यही मन्दिर बाहिर बस्ने मेरै रूपका दीन, दुखी, असहाय, अपाङ्ग, पीडितलाई तिमी लत्याउँछौ, प्राणीको गला रेट्छौ’ । यही बुझेर होला महाकवि देवकोटाले भने, ‘हाडहरूका सुन्दर खम्बा मांस पिण्डका दिवार, नसा नदीका तरल तरंग मन्दिर आफै अपार’ ।
विश्व युद्धमा धेरै घाइते भए । कतै पक्ष, विपक्षको गन्ध नलिई घाइतेको उपचारमा संलग्न फ्लोरेन्स नाइटिङ्गेलको नाम नसुन्ने सायदै कोही होलान् । मलम लगाउ, आर्तहरूको चह¥याइरहेको घाउ, यही त हो मानवीयता भनौँ समाजको सेवा । देउताको नाम देवता हो, जोे आफ्नो स्वार्थका लागि मात्र बाँच्छ ऊ जिउँदै मरेतुल्य हुन्छ । सद्गुण र सदाचार बजारमा किन्ने विषय होइनन्, मानव सर्वस्व हो यो, भनौँ उसको सञ्चित धन ! त्यसैले त हाम्रा अग्रजहरूले भने दया हो पृथ्वीको भव जलधिको मुख्य तरणी । जतातै कमिसन, ठेक्का पट्टा, आफू आफन्त मोटाउने अरूप्रति निर्दयी हुने अवस्था, उठेको करबाट राहतप्रतिको बेवास्ता, घरभित्रै थुनिएर, निसासिएर मर भनेको अवस्थाले हामीले अभिभावक नपाएको महसूस गरेका छौँ । विगतका दिनहरूमा यस्तै चर्को अवस्थाबाट दिनहरू गुज्रेका हुन् हाम्रा !
हाम्रो देशमा संविधानले सामाजिक सुरक्षाको हकलाई मौलिक हकको रूपमा हेरेको हो । तर, बाँच्न पाउने हक भने व्यवहारतः सुरक्षित छैन । बेरोजगारी समस्या विकराल छ । समावेशी विकास, दिगो विकास सरकारी नारा कागजमा सीमित छ । पूर्वीय धर्म–दर्शनले जुन सभामा वृद्धहरूको उपस्थिति हुँदैन, त्यो असलमा सभा हुनै सक्दैन भनेको छ । त्यस्तो परिवारलाई राज्यले, समाजले सम्मान दिनुपर्ने हुन्छ । परित्यक्त, हिंसा पीडित, शारीरिक र मानसिक रूपले अशक्तहरूको अझ विशेष ख्याल गरिनु पर्ने हुन्छ । विपद् जोखिम, भुकम्प, बाढी पहिरो, हावाहुरी, चिसो, तातोको ख्याल गरिनु पर्ने हुन्छ । समयमा औषधिमूलो, अस्पताल सेवा घरैमा चिकित्सकका सल्लाहको आवश्यकता पर्ने हुन्छ । यसका लागि ज्येष्ठ नागरिक क्लब, दिवा सेवा केन्द्र, ज्येष्ठ नागरिक समूह गठन र सञ्चालन जस्ता कार्यक्रमले सार्थकता पाउन सक्छन् । सबै ज्येष्ठ नागरिकले सुरक्षित र सम्मानजनक अवस्थामा आफ्नो जीवनयापन गरेको महसुस हुने वातावरण तय गरिनुपर्छ, यो राज्यको दायित्व हो ।
हामीकहाँ अशक्तहरूको संख्या पनि कम छैन । झण्डै दुई प्रतिशत बढी जनता अपाङ्ग छन् । अपाङ्गमध्ये पनि शरीरको अपाङ्गता बढी छ । झण्डै ७० प्रतिशत शारीरिक अपाङ्गका छन् । तीमध्ये संविधानले यस्ता व्यक्तिहरूको पनि संरक्षणको परिकल्पना त गरेको छ, तिनको सेवा सुविधाको पहुँचको स्थापना गर्न खोजेको छ । अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूलाई पनि राज्यले स्वीकारेको छ । सरकारले समुदायमा आधारित समावेशीकरण गरेको भनेको छ । निजामती सेवामा आरक्षणको व्यवस्था गरेको छ । सामाजिक सुरक्षा भत्ता, व्यवसायिक तथा सीपमूलक तालिमका प्रावधानहरूलाई प्रयोगमा ल्याएको भनेको छ । तथापि, पेशागत भौतिक संरचनाहरूलाई अपाङ्ग मैत्री बनाउन सकेको छैन । दुर्गम क्षेत्रमा यसको दायरा बढाउन सकेको छैन । अपाङ्गहरूप्रति समाजको सकारात्मक दृष्टिकोण स्थापित गराउन सकिरहेको छैन । हरेक प्रकारका अपाङ्गता भएका व्यक्तिहरू सक्षम स्वावलम्बी र आत्मनिर्भर बनाउने राज्यको सपना अधुरो छ ।
उपकारमा नै अमृतको बास हुन्छ । उपनिषद्को सार पनि अमृतत्वेन गम्यात् नै हो । उपकारी व्यक्ति तपस्वी हुन्छ । कुभाषण, भोगको इच्छा, कामशक्ति, गुणमा दोष दृष्टि, दोषमा गुण दृष्टि, तृष्णा, लोभ, चुक्ली, निन्दा, हिंसा, क्रोध, शोक, चिन्ता, कर्तव्यको विस्मृति, डाह, ईर्ष्या, सन्ताप, ज्यादा बोल्नु सत्पुरुषको भनौँ जितेन्द्रिय व्यक्तिको लक्षण होइन । मदका यी दोषलाई त्याग गर्नाले व्यक्ति समाज भित्रै तपस्वी बस्न सक्छ । जीवले जगत् बुझ्नु पर्ने हुन्छ । जीव र जगत् दुवै परमात्माको असल अभिव्यक्ति हो । सुन्दर अभिव्यक्ति हो । चेष्टाबाट रहित हुँदा ईश्वरत्व प्राप्ति हुन्छ । कायेन, मनसा, वाचा अर्थात् मन, वचन र कर्मले परोपकारी हुनुपर्ने हुन्छ । नदी जसरी सलल बगेको हुन्छ, ज्ञान र वैराग्यरूपी बालुवामा भक्तिरूपी गंगाको प्रवाह भएझैं जीवनलाई प्रवाह गर्न सकेमा ईश्वर खोज्न टाढा जानु पर्दैन । दश दिशा घुमेर ईश्वर भेटिन्न र हाम्रा महाकवि भन्छन्– ईश्वर बस्दछ गहिराइमा खोजी हिँड्छौँ कुन दिशा ? वेत्ता वा विद्वान् त्यही हो जसले भगवत् सेवा गर्छ । जीव र जगत् के हो, आफू को हुँ आफ्नो श्रोत के हो ? गन्तव्य कहाँ हो ? बाटो कुन हो ? आफ्नो बाटो आफैंले निर्माण गर्नु जरुरी छ । सत्सँग नै एउटा बाटो निर्माणको थालनी हो । निस्वार्थ कार्य बाटो निर्माणको थालनी हो । कर्म गर फलको आश नगर भन्ने गीताको सन्देश हो ।
ज्ञानको उदात्तभावले दिव्यचक्षु खुल्छ । चर्म चक्षुले यथार्थ देख्दैन । चर्मचक्षु दिव्यचक्षु होइन । “असतो मा सत् गमय, तमसो मा ज्योर्तिगमय, मृत्यो मां अमृतम् गमय” भनेको त्यही हो । अर्थात् असत्यलाई सत्यतिर, अन्धकारलाई उज्यालोतिर, मृत्युलाई अमरतातिर लग भनेको हो । आत्मज्ञानी पुरुषले ईश्वरसँग साक्षात्कार गर्न सक्छ । सच्चिदानन्द स्वरूप, पूर्ण ब्रह्म परमात्मा परमेश्वर आफैँभित्र हुनुहुन्छ । चित्स्वरूपबाट हामी चलायमान हुन सक्छौँ । ईश्वरको अस्तित्व जीवबाट मेटिँदा ऊ मुढ बन्न पुग्छ । नश्वर शरीर तुरुन्तै ढल्छ । सत् चित् र आनन्द स्वरूपले ईश्वर मानव शरीरमा लुकेर बसेको हुन्छ । तपमा रहने व्यक्ति सत्पुरुष हो । त्यसलाई धार्मिक भनिन्छ । मानव देह नै धर्मको अभिव्यक्ति हो, पुण्यको अभिव्यक्ति हो । धर्म, पुण्य सञ्चिति बिना मानव देह प्राप्त नै हुँदैन । रेडक्रस जस्ता दिवसहरूको सार्थकता यही हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies