काठमाडौं : तत्कालीन श्रममन्त्री शरतसिंह भण्डारीद्वारा गरिएका कतिपय निर्णयहरुलाई स्थगन गरिएको कार्य पनि आफ्नो एक महिने कार्यकालमा भएको प्रगतिको दाबी वर्तमान श्रममन्त्री डोलप्रसाद अर्यालले गरेका छन् । सोमबार आफ्नो एक महिनाको प्रगति विवरण सार्वजनिक गर्ने क्रममा मन्त्री अर्यालले यस्तो दाबी गरेका हुन् । मन्त्री अर्यालले गत वर्ष चैत २५ गतेदेखि यस वर्षको चैत २४ गतेसम्म ७ लाख ६ हजार ४ सय २७ नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएको उल्लेख गरेका छन् ।
सो अवधिमा व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या ३ लाख ७१ हजार ७ सय ३० रहेको छ । मन्त्रालयले श्रम स्वीकृति लिन यसअघि करिब ८८ घण्टा लाग्ने गरेकामा आफूले मन्त्रालयको नेतृत्व लिएपछि त्यसलाई घटाएर एक घण्टामा सीमित तुल्याएको उनले बताएका छन् ।
पहिले कोटा प्रणालीबाट श्रम स्वीकृति दिने गरिएकोमा हाल त्यसलाई हटाएर २४सै घण्टा गरिएको उल्लेख गरेका छन् । यस अवधिमा वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)को सुधार गरिएकोदेखि, अन्तरमन्त्रालय समन्वय गरिएको, श्रमिक बेडको स्थापना गरिएको, श्रमाधान एप्स प्रभावकारी बनाइएको र वैदेशिक रोजगारका क्रममा स्वास्थ समस्यामा रहेका कामदारलाई टेलिमेडिसन सेवा उपलब्ध गराएको जस्ता कामदारमैत्री नीति अवलम्बन गरिएको मन्त्री अर्यालले उल्लेख गरेका छन् ।
मन्त्री अर्यालले मन्त्रालयको नेतृत्व गरेपछि वैदेशिक रोजगारको पूर्वप्रस्थान अभिमुखीकरण तालिमका लागि तत्कालीन मन्त्री शरतसिंह भण्डारीको कार्यकालमा बढाइएको शुल्क खारेज, वैदेशिक रोजगारीमा जाने दक्ष श्रमिकका लागि अंग्रेजी भाषा तालिम कार्यविधि स्थगन, दक्षिण कोरियामा ईपीएस प्रणालीबाट कामदार पठाइरहेको अवस्थाका बीच इ–सेभन भिसामा समेत कामदार पठाउनेलगायतका विषयका कार्यविधि स्थगन गरेका थिए । त्यसलाई मन्त्री अर्यालले प्रगतिका रूपमा सार्वजनिक गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies