रुपक खड्का/मध्यान्ह
बझाङ : फियान नेपाल बझाङले जिल्लाको छबिसपाथिभेरा गाउँपालिका र थलारा गाउँपालिकामा खाद्य अधिकार प्रभावित समूहको पैरवी कार्ययोजना तर्जुमा तथा सवाल हस्तान्तरण कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।
मुक्त हलिया खाद्य अधिकार समूहको 'बाँंच्न पाउने अधिकारको आधार : खाद्य अधिकार' भन्ने मूल नाराका साथ छबिसपाथीभेरा ६ बिसौना र थलारा ८ बिस्खेतका दलित परिवारको उत्थानका लागि सरोकारवालासँग सवाल हस्तान्तरण कार्यक्रम गरिएको हो ।
हलिया मुक्त भएको एक दशक बितिसक्दा पनि नेपाल सरकारबाट पाउनुपर्ने हलिया मुक्तको परिचयपत्रसमेत नपाएका १८ परिवारलाई परिचयपत्र दिलाउन सफल भएको फिल्ड कर्मचारी सीता सिंहले बताइन् ।
हलियाको जीविकोपार्जनका लागि विभिन्न समयमा फियान नेपालले स्थानीय र प्रदेश सरकारसँग समन्वय तथा सहकार्यमा चोयाका सामग्री उत्पादन, सिलाइ कटाइ, पञ्चेबाजा खरिदलगायतका सीपमूलक कार्यक्रम गरेको फिल्ड संयोजक सिंहले बताइन् ।
उत्पीडित वर्गका रूपमा सरकारले वर्गीकरण गरेपनि हालसम्म आफ्नो नाममा जग्गा जमिन नहुँदा टहरा लगाउन र जीविकोपार्जन गर्नसमेत हलियाहरुलाई कठिन भएको छ । स्थानीय सरकारले भूमिहीन दलित परिवारलाई स्थानान्तरण गरेर एकीकृत बस्ती बसाल्ने भनेपनि अहिलेसम्म नीतिगतरुपमा काम अगाडि नबढेको स्थानीय पार्की परिवारका एक सदस्यले बताए । तर गैरसरकारी संस्था फियान नेपालले पीडित परिवारको गुनासो लिँदै बाँच्न पाउने अधिकारका लागि विगत लामो समयदेखि वकालत र पैरवी गर्दै आएको छ ।
कार्यक्रमको प्रमुख आतिथ्यता थलारा गाउँपालिकाका उपाध्यक्ष राम खातीले गरेका थिए । कार्यक्रममा उनले हलियाको अधिकारलाई सुनिश्चित गर्नका लागि स्थानीय सरकार पनि जिम्मेवार भएको बताए । उनले भने, 'विगत लामो समयदेखि संस्थाले दलित परिवारका सवालका बारेमा धेरै मुद्दा उठान गरेको र हामीले जनप्रतिनिधिका हैसियतले उत्पीडित वर्गको उत्थानका लागि खाका बनाएर अगाडि बढ्नुपर्छ ।'
२०७४ सालदेखि दलित समुदायको हक र हितका लागि संघर्षरत उक्त संस्थाले २०८१ सालमा कार्यक्रमको अवधि समाप्त भएपछि अन्य ठाँउमा कार्यक्षेत्र बनाउने भएको छ । गैरसरकारी संस्थाले सिकाएको सीप र चेतनामूलक कार्यक्रमले दलित समुदायको जीवनमा केही सकारात्मक परिवर्तन आएको खाद्य अधिकार समूहका अध्यक्ष नरेन्द्र बिसीले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies