छवि सापकोटा/मध्यान्ह
काठमाडौं : नयाँ सत्ता समीकरण बनाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बिहीबार संवाद गरेका छन् । विगतमा सरकारमा सँगै रहेका दुई नेताबीच गत फागुन २१ गते यता पहिलो पटक औपचारिक भेटवार्ता भएको हो ।
गत फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्य छाडेर एमालेसँगको सहकार्य रोजेका थिए । त्यसपछि प्रधानमन्त्री प्रचण्ड र देउवाबीच बिहीबार भेट भएको हो । नेताहरुका अनुसार प्रधानमन्त्री प्रचण्डले बोलाएपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
भेटमा संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) लाई अघि बढाउने, संसदलाई बिजनेस दिने लगायत राष्ट्रिय मुद्दाहरूमा छलफल भएको छ । प्रधानमन्त्रीले देउवासमक्ष राष्ट्रिय मुद्दाहरूमा मिलेर अघि बढ्नुपर्ने प्रस्ताव पनि गरेका छन् । तर सभापति देउवाले प्रधानमन्त्री प्रचण्डलाई ठोस् जवाफ दिएका छैनन् । बरु टीआरसीमा नरम नहुने संकेत कांग्रेसले गरेको नेताहरु बताउँछन् । २५ फागुन २०७९ मा प्रतिनिधि सभामा दर्ता भएको विधेयक शीर्ष नेताहरुको रायमा अड्किएको छ ।
प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा गम्भीर मानव अधिकार उल्लघंनको परिभाषा लगायत चार वटा विषयमा सहमति जुटाउन बाँकी छ । चार वटै विषयमा समितिले शीर्ष नेताहरको सहमति पर्खिरहेको छ ।
विगतमा प्रतिपक्षमा रहेर एमालेले साथ नदिएको भनी माओवादीका कतिपय नेताहरुले आलोचना गर्ने गर्दथे । यसपटक त्यस्तो हुन नहुने माओवादी नेताहरुको अपेक्षा छ । तर बिहीबारको भेटमा कांग्रेस सभापति देउवाले टीआरसीमा नरम नहुने संकेत गरेको बताइन्छ ।
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाको बीचमा भेट भएको केही घण्टा पछि सम्पादकहरूसँगको भेटमा कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री प्रचण्डले सोचे आफ्नो दल टीआरसीमा लचिलो नहुने बताएका छन् ।
टीआरसीमा कांग्रेस लचिलो छँदैछ, एमालेलाई सहमत गराउन सकिएमा संसदबाट टीआरसी पास हुन सक्छ भन्ने सोचले प्रचण्डले कांग्रेस छाडेको हुन सक्ने आफ्नो बुझाई रहेको उल्लेख गर्दै डा. कोइरालाले भनेका छन्, ‘टीआरसीमा प्रचण्डजीले सोचे जस्तो कांग्रेस लचिलो हुनै सक्दैन ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies