काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कार्यसमितिको कार्यकालको अवधि बढाउँदै संघलाई संघीय संरचनामा लैजाने गरी विधान संशोधन प्रक्रिया अघि बढाएको छ । संघ कार्यसमितिले संघको विधान संशोधनका लागि अध्ययन गरी प्रतिवेदन तयार गर्न महासचिव मेघनाथ भुर्तेलको संयोजकत्वमा एक समिति समेत गठन गरेको छ ।
महासचिव भुर्तेलले संघलाई संघीय संरचनामा लगी महासंघ बनाउने, संघले व्यवसायी भलाइ कोष सञ्चालन गर्ने र दुई वर्षमात्रै रहेको संघ कार्यसमितिको कार्यकाललाई एक वर्ष थप गरी तीन वर्ष पुर्याउने लगायतका विषयमा गृहकार्य र छलफल भइरहेको मध्यान्हलाई जानकारी दिए ।
हालको दुई वर्षे कार्यकालको पहिलो एक वर्ष अध्ययन, दोस्रो वर्षको आधा अवधि अर्को साधारणसभा र निर्वाचनको तयारीमा लगाउनुपर्ने देखिएका कारणले कार्यकाल थप गर्नु परेको पनि महासचिव भुर्तेलले बताए । संघको विधान र मुलुकमा क्रियाशील अन्य गैरसरकारी संस्थाहरूको अध्ययन गरी एकरूपता ल्याउने काम भइरहेको महासचिव भुर्तेलको भनाइ छ ।
संघको विधान संशोधनका लागि यसअघिको तदर्थ कार्यसमितिले प्रयास गरेपनि उपलब्धी हासिल हुन सकेको थिएन ।
संघको तत्कालीन तदर्थ कार्यसमितिले निवर्तमान महासचिव श्रेष्ठको संयोजकत्वमा एक समिति बनाएको थियो । संघको विधानमा अध्यक्षको उम्मेदवार हुन कम्तीमा एक कार्यकाल पदाधिकारी भइ काम गरेको हुनुपर्ने प्रावधान छ ।
पदाधिकारी भन्नाले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष बुझिने विधानमा उल्लेख छ । उक्त प्रावधानले योग्य व्यवसायीलाई अध्यक्षको उम्मेदवार बन्न रोक लगाइ कार्य क्षमताका दृष्टिकोणले कमजोर भएपनि सिमित पूर्व पदाधिकारी व्यवसायीलाई मात्रै अध्यक्षको उम्मेदवार बन्ने अवसर सिर्जना गरिएको आवाज पटक–पटक उठ्ने गरेको छ । तर विधान संशोधन नहुँदा त्यसको सम्बोधन भएको छैन । महासचिव भुर्तेलले विधानका धेरै दफाहरू एक आपसमा बाँझिएका र अध्यक्षको उम्मेदवार बन्ने मापदण्ड पनि समय सापेक्ष नरहेको गुनासा आउने गरेको बताए ।
संघले यसअघि निवर्तमान महासचिव श्रेष्ठको संयोजकत्वमा कार्यदलका सदस्य एवं नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका पूर्व अध्यक्ष प्रज्ञान न्यौपाने लगायतका व्यवसायीहरूले इजाजतपत्र प्राप्त गरी लगातार पाँच वर्ष काम गरेको व्यवसायीलाई संघको अध्यक्ष बन्ने योग्यता तोक्नु उपयुक्त हुने धारणा सार्वजनिक गरेका थिए । तर संघका तत्कालीन संयोजक विमल ढकालमाथि तत्कालै कार्यसमितिको निर्वाचन गराउन दबाब दिएका घटक संस्था तथा विभिन्न धारका व्यवसायीले विधानमा गरिनुपर्ने मुल विषयमा खासै चासो नदेखाएपछि विधान संशोधनको काम अघि बढेको थिएन । महासचिव भुर्तेलले विधानको मस्यौदा तयार भएपछि सबै व्यवसायीलाई इमेलमार्फत पठाएर राय सुझाव लिने र अन्तिम रूप दिने योजना रहेको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies