काठमाडौं : मेड इन नेपाल नारा सहित आगामी चैत अन्तिम साता हुने ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ को तयारी पूरा भएको छ । ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा चैत २२ गतेदेखि २६ गतेसम्म आयोजना हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा मेड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण रहने आयोजकले ललितपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ ।
ललितपुर चेम्बर अफ कमर्सको आयोजनामा सञ्चालन हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका बंगलादेश, थाइल्यान्ड, टर्की, मलेसिया, दक्षिण कोरियालगायतका देशहरुमा उत्पादित विविध वस्तु तथा सामग्री, मौलिक उत्पादन र सेवा सम्बन्धी सामनहरु इन्टरनेशनल ट्रेड एक्स्पोमा राखिने बताइएको छ । ललितपुर महानगरपालिका सहआयोजक, नेपाल चेम्बर अफ कमर्सको सहयोग, जावलाखेल युथ क्लबको सहयोगमा सञ्चालन हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका सामग्री प्रदर्शनीमा राखिने ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले बताए ।
ललितपुर चेम्बर अफ कमर्सले इण्ट्ररडक्सन ट्रेड शो नेपाल प्रालिसँगका सहकार्यमा पहिलो पटक ललितपुरको मुख्यकेन्द्र बिन्दु जावलाखेल फुटबल ग्राउण्डमा आयोजना गर्न लागेको एक्स्पोमा मेड ईन ललितपुरको पेभिलिन रहने छ । जसमा ललितपुरमा उत्पादन हुने मौलिक निकासी योग्य समानहरु र दैनिक उपभोग्य सामानहरुका अतिरिक्त आफ्नो ब्राण्डको परिचित गराउने र ललितपुरको विभिन्न वडाहरुबाट उत्पादन हुने विभिन्न सामग्रीहरुको प्रर्दशनी रहने अध्यक्ष शाक्यले जानकारी दिए ।
साथै, एक्स्पोमा सहभागी विभिन्न छिमेकी मित्र राष्ट्रहरुका प्रतिष्ठित व्यवसायीहरुको सहभागिता रहने जनाइएको छ । एक्स्पोले सार्क राष्ट्रबीचको कला संस्कृति र रितीरिवाज आदान प्रदान गर्न उत्कृष्ट भुमिका खेल्न र आर्थिक गतिविधिमा सहयोग पुर्याउने अमूर्त सम्पदा र कला संस्कृतिको प्रस्तुतिमा कुमारी नाच, भैरव, योगिनी, सप्तलोचनी र ताराको नृत्य प्रस्तुत गरिने इन्ट्रोडक्सन ट्रेड शोका म्यानेजिङ डाइरेक्टर सुमन महर्जनले बताए ।
पहिलो पटक ललितपुरमा आयोजना गर्न लागेको एक्स्पोमा सहभागी राष्ट्रका प्रतिष्ठित व्यापारीहरुको सहभागिता रहनेछ । एक्स्पोले आर्थिक गतिविधिलाई बढाउनुको अतिरिक्त दुवै मुलुकलाई समृद्धिको दिशामा अघि बढ्न पनि यस्ता मेलाहरु फलदायी हुने अपेक्षा रहेको छ । सार्क मुलुकमा निर्मित सामग्रीहरुले नेपाली बजार लिएको र नेपालका हस्तकलाका सामग्रीहरुले अन्य मुलुकमा प्रभाव जमाएको र मेलामार्फत सहभागी देशहरुको उत्पादनको प्रवद्र्धनमा सघाउ पुग्ने छ ।
मेलाको आकर्षणको रुपमा खानाको विभिन्न देशका विभिन्न स्वादका फुड स्टल, साना बालबालिकाहरुका लागि गेमिङजोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रमलगायत पाकिस्तान, भारत, थाइल्याण्ड, टर्की, मलेसिया, बङ्गलादेश र नेपालका उत्कृष्ट उत्पादनको करिब एक सय भन्दा बढी स्टलहरु रहने एक्स्पोका संयोजक सुनिल विष्टले जानकारी दिए । मेलाको आकर्षणको रुपमा ललितपुरमा उत्पादित काठ बाट बनाइएका कलाकृर्तिहरु, मूर्ति, कार्पेट र कपडाको जीवन्त प्रदर्शन गरिने छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies