काठमाडौं : प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई सात स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै एमेच्योर सदभाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि जितेका छन् ।
अन्तिम दिन ३–अन्डर ६९ को स्कोर सहित समग्रमा १४–अन्डर २ सय ७४ सहित सदभावले तेस्रो पटक टुरको प्रो र एमेच्योर दुवैतर्फको उपाधि आफ्नो नाममा लेखाए । यो सिजन उनले जितेको यो दोस्रो उपाधि हो । जारी सिजन दुई उपाधि जित्ने उनी मात्रै हुन् । यसअघि उनले यो सिजन सूर्य नेपाल सेन्ट्रल ओपन र गत सिजन सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका थिए ।
अन्तिम १८ होलको शुरुवातमा प्रो भुवन र सदभावबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएपनि भुवनले ३–ओभर ७५ को खराब प्रदर्शन गरे । समग्रमा ७–अन्डर २ सय ८१ सहित दोस्रो भए । प्रोतर्फ भने उनी पहिलो हुँदै १ लाख ४० हजार हात पार्न सफल भए ।
एमेच्योर खेलाडीहरूको दबदबा रहँदा अर्का एमेच्योर विजय श्रेष्ठ आइन्हाउस र प्रो निरज तामाङले संयुक्तरुपमा तेस्रो स्थान बाँडे । उनीहरूले समग्रमा ४–अन्डर २ सय ८४ मा खेल सकाए । बिहीबार विजयले १–अन्डर ७१ र निरजले २–अन्डर ७० को प्रदर्शन गरे । प्रोतर्फ दोस्रो भएका निरजले ९६ हजार प्राप्त गरे ।
समग्रमा इभन–पार २ सय ८८ मा खेल सकाएका दिनेश प्रजापति प्रोतर्फ तेस्रो भए । उनले बिहीबार ३–ओभर ७५ मा खेल सकाए । तेस्रो भएका उनले ७२ हजार नगद हात पारे । यसैगरी समग्रमा ४–ओभर २ सय ९२ सहित सञ्जय लामा र धन बहादुर थापाले प्रोतर्फ संयुक्तरुपमा चौथो स्थान बाँडे । सञ्जयले २–ओभर ७४ र धनले १–अन्डर ७१ को स्कोर निकाले । उनीहरूले जनही ५४ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।
रवि खड्काले बिहीबार २–ओभर ७४ को स्कोर सहित समग्रमा ५–ओभर २ सय ९३ सहित छैटौं स्थानमा प्रतियोगिता सकाए । छैटौं भएका उनले ४२ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे । यसैगरी समग्रमा ७–ओभर २ सय ९४ सहित रामे मगर र भुवन कुमार रोक्काले संयुक्तरुपमा सातौं स्थान बाँडे । दुवैले बिहीबार २–ओभर ७४ मा खेल सकाए । उनीहरूले जनही ३७ हजार २ सय ५० नगद हात पारे ।
धरानका दुई प्रो युवराज भुजेल र बलभद्र राईले समग्रमा ११–ओभर २ सय ९९ सहित नवौ स्थान बाँड्दा जनही ३२ हजार नगद हात पारे । युवराजले बिहीबार ८–ओभर ८० र बलभद्रले ४–ओभर ७६ मा खेल सकाए ।
प्रो भुवन र सदभावबीच बिहीबार खेलको शुरुवात गर्दा सदभावसँग मात्र एक स्ट्रोकको अग्रता रहेको थियो । तेस्रो होलमा भुवनले बर्डी प्रहार गर्दै खेल बराबरीमा ल्याएका थिए । तर छैटौं होलमा भुवनले बोगी प्रहार गर्दा सदभावले एक सट बचाए । छैटौं होलको समाप्तीमा सदभावले दुई स्ट्रोकको अग्रता बनाए । टर्निङ प्वाइन्ट भने सातौं होल बन्यो ।
भुवनले दोस्रो सट पोखरीमा खस्यो । त्यहाँबाट हानेको प्रहार पुनः पानीमै पुग्यो । र उनले यो होलमा डबल बोगी खेप्दा सदभावले चार स्ट्रोकको अग्रता बनाए । यसपछि आठौं र नवौं होलमा फेरि एक–एक सट गुमाउँदा भुवनले फ्रन्ट नाइन ४–ओभर ४० मा सकाए । सदभावले १–अन्डर ३५ मा फ्रन्ट नाइन पुरा गरे । फ्रन्ट नाइन सकिंदा सदभावले भुवनलाई ६ स्ट्रोकले पछि पारिसकेका थिए ।
बोगी रहित खेलेका सदभावले १२औं र १७औं होलमा बर्डी प्रहार गरे र ब्याक नाइन २–अन्डर ३४ मा सकाए । यसरी सहजै सदभाव च्याम्पियन बन्दै फेरि एक पटक प्रो गल्फरहरूलाई माथ दिन सफल रहे ।
लगातार तीन दिनका लिडर भुवनले अन्तिम दिन संघर्ष गरे र ब्याक नाइन १–अन्डर ३५ मा सकाए । १३औं, १४औं र १८औं होलमा बर्डी प्रहार गरे भने १५औं र १६औं होलमा एक–एक सट बचाए । यसरी भुवनले समग्रमा दोस्रो र प्रोतर्फ पहिलो स्थान प्राप्त गरे ।
एमेच्योर विजयले टुरमा करियरकै उत्कृष्ट प्रदर्शन गरे । उनले फ्रन्ट नाइन इभन–पार ३६ मा सकाए । पहिलो र पाँचौं होलको बोगी विरूद्ध तेस्रो र सातौं होलमा एक–एक सट बचाए । यसपछि ११औं होलको बर्डीले ब्याक नाइन १–अन्डर ३५ मा सकाए । सूर्य नेपाल गल्फ टुरमा उनी पहिलोपट एमेच्योरतर्फ दोस्रो भए ।
धरानका निरजले चौथो होलमा बोगी प्रहार गरे भने पहिलो, तेस्रो र नवौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन २–अन्डर ३४ मा पुरा गरे । यसपछि १४औं र १५औं होलमा एक–एक सट बचाए भने १६औं र १८औं होलमा बोगीको सामना गर्दै ब्याक नाइन इभन–पार ३६ मा सकाए ।
कूल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगितामा कट बनाएका २३ प्रो गल्फरमध्ये उत्कृष्ट २१ गल्फरले नगद पुरस्कार प्राप्त गरे । विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका भाइस प्रेसिडेन्ट (मार्केटिङ) दीप्रा लाहीरी र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies