बिन्द्र राई/मध्यान्ह
उदयपुर : उदयपुरमा कोशी प्रदेशस्तरीय तेस्रो औद्योगिक बृहत् प्रदर्शनी तथा रैथाने खाना महोत्सव २०८१ शुरु भएको छ । ‘मेहनत सृजना उत्पादन र वस्तु मेरै नेपालको प्रयोग गरौ उधोग गरौ स्वदेशी वस्तुको प्रयोग गरौं नेपाली भएकोमा गर्व गरौं’ भन्ने मूल नाराका साथ बुधबारदेखि नेपाल घरेलुु तथा साना उद्योग महासंघ तथा उदयपुर जिल्ला महिला उद्यमीको आयोजनामा जिल्ला कृषि ज्ञान केन्द्र, घरेलु साना उद्योग, भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र लगायतको सहकार्यमा महोत्सव शुरु गरिएको हो ।
कार्यक्रममा कोशी प्रदेशको उपसभामुख सृजना दनुवारले आर्थिक समृद्धि र विकासका लागि आन्तरिक उत्पादन र प्रयोगमा जोड दिनुपर्ने बताइन् । दनुवारले आन्तरिक उत्पादन विकास निर्माणका लागि महत्वपूर्ण मियोको रुपमा रहेको जनाउँदै त्यसका लागि घरेलु उद्योग कलकारखाना निर्माण र निर्यातमा जोड दिनुपर्ने र त्यसका लागि राज्यले जोड दिईरहेको बताइन् ।
उद्योग कृषि तथा सहकारी मन्त्री राम कुमार खत्रीले महोत्सवलाई सम्बोधन गर्दै कृषिलाई उत्पादनसँगै उद्योगमा जोड दिनुपर्ने बताएका थिए । मन्त्री खत्रीले उद्योग कलकारखाना विकासको मूल आधार रहेको उल्लेख गर्दै कलकारखाना, कृषि र उद्योग बिना विकासको परिकल्पना गर्न नसकिने बताए । नेपालको परनिर्भरता कम गर्न कृषिको विस्तार र उद्योग कलकारखाना सञ्चालनमा जोड दिनु पर्ने उनले बताए ।
नेपाल घरेलुु तथा साना उद्योग महासंघ उदयपुरका अध्यक्ष मधुकर थापाले अर्गानिक आन्तरिक उत्पादन र औद्योगिकरणसँगै बजारीकरण र निर्यातमा जोड दिने उद्देश्यले तेस्रो प्रदेश स्तरीय महोत्सवको आयोजना गरिएको बताएका थिए । महोत्सवमा विभिन्न जिल्लाका स्थानीय स्तरमा उत्पादन गरिएका ढाका कपडा, खुकुरी, बेसार, बाँसको हस्तकला सामग्री, अचार, स्थानीय परिकार, कोदोको पिठोको मःमः, रोटी, तोङ्बा, लगायतका विभिन्न स्थानीय स्तरमा उत्पादन गरिएका वस्तुका स्टलहरु राखिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies