काठमाडौं : एसियाली विकास बैंक (एडीबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई थप सहायता उपलब्ध गराउने भएको छ ।
एडीबीको ५७औं वार्षिक बैठकमा सहभागी हुन जर्जियाको राजधानी त्बिलीसी पुगेका अर्थसचिव मधुकुमार मरासिनीसँगको साइडलाइन वार्तामा एडीबी अध्यक्ष मासात्सुगु आसाकावाले उक्त प्रतिबद्धता जनाएका हुन् ।
अर्थसचिव मरासिनीले जलवायु परिवर्तनमा नगण्य योगदान भए पनि नेपाल त्यसबाट उच्च प्रभावित मुलुकको सूचीमा रहेको भन्दै त्यससँग जुध्नका लागि सहयोग बढाउन प्रस्ताव गरेका थिए ।
अध्यक्ष मासात्सुगुले नेपाललाई जलवायु परिवर्तनका नकारात्मक प्रभावसँग जुध्न सहयोग बढाइने बताएको भेटमा सहभागी अर्थ मन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालले जानकारी दिए । “जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेका समस्याका बारेमा म जानकार छु । थप सहयोगका लागि एडीबी तत्पर छ”, मासात्सुगुको भनाइ उद्धृत गर्दै उनले भने ।
भेटका क्रममा सचिव मरासिनीले एडीबीले नेपालको विकासमा पुर्याएको योगदानको सराहना गर्दै विकास वित्तको कमी पूरा गर्न थप सहयोगका लागि आग्रह गरे । अध्यक्ष मासात्सुगुलाई नेपाल भ्रमणको निमन्त्रणा पनि उनले दिए । जवाफमा अध्यक्ष मासात्सुगुले एडीबीले नेपाललाई प्राथमिकतामा राखेको जानकारी दिँदै उपयुक्त समयमा नेपाल भ्रमण गर्न इच्छुक रहेको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies