इसत्याक अहमद/मध्यान्ह
काठमाडौं : नेपाल हज समितिले जेठ २ गतेदेखि हज यात्रीहरू साउदी अरबका लागि प्रस्थान हुने उडान तालिका प्रकाशित गरेपनि गृह मन्त्रालयले भने हज समिति सदस्यहरूको नियुक्ति गर्न सकेको छैन ।
जसका कारण हज व्यवस्थापनमा थप समस्या हुने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ । पूर्व मन्त्री जाकिर हुसैनले हज समितिको अध्यक्षको नियुक्ति पनि निकै ढिला भएको र नियुक्तिको हप्ता दिन हुँदा समेत सदस्य नियुक्त हुन नसक्दा समस्या उत्पन्न हुन सक्ने बताए ।
सामाजिक सञ्जालमा हुसैनले भनेका छन्,‘हज समिति सदस्य नियुक्तिमा अझ ढिलो भएमा हज यात्रीहरूको व्यवस्थापनमा समस्या हुनेछ । हाजीहरूको उडान व्यवस्थापन, सदस्य र चिकित्सक टोलीको उडान, भिसा इस्यू, खोप व्यवस्थापन, काठमाडौंमा आवासीय व्यवस्थापन, मक्का व्यवस्थापन, मदीना व्यवस्थापन, मीना–मुज्दल्फा व्यवस्थापन, साउदी अरबमा राहदानी र फ्लाइट सेड्युल व्यवस्थापन, मक्का र मदीनामा आवासीय व्यवस्थापन, मक्कामा क्याटरिङ्ग व्यवस्थापन, हाजीहरूको स्वास्थ्य, उपचार, सुरक्षा र कानूनी विषयहरूको व्यवस्थापन एक/एक स्टेप निकै संवेदनशील हुने गर्दछ । हज समितिको अध्यक्षको नियुक्ति निकै ढिलो भएको छ । र सदस्यहरूको नियुक्तिमा झन् ढिलो हुनु व्यवस्थापकीय दृष्टिकोणले निकै जोखिमपूर्ण बन्दै गएको छ ।’
गृह मन्त्रालयले कुनै ढिलाइ गरेमा गम्भीर समस्या उत्पन्न हुने पनि उनले बताएका छन् । उनले भनेका छन्, ‘हज समितिलाई पूर्णता दिन अब चाहीँ कुनै ढिलो न होस् ।’
पूर्वमन्त्री हुसैनका अनुसार सामान्यतः हज समितिका अध्यक्ष स्वयं साउदी अरब पुगी हाजीहरूका लागि मक्का र मदीनामा घर, खानपिन, मीना र मुजदल्फाको पाँच दिने बसाइँको व्यवस्थापन गर्ने गर्दछ । तर, यसपटक हज समिति गठनमा भएको ढिलाइले गर्दा हज समितिका नवनियुक्त अध्यक्ष एकपटक पनि साउदी अरब पुग्न सकेका छैनन् ।
सदस्यहरूको नियुक्तिमा दलहरूको भागबण्डा नमिलेर नियुक्तिमा ढिलाइ भएर अध्यक्ष साउदी अरबको भ्रमणमा जान नसक्नु दुखद रहेको उनले बताए ।
‘साउदी अरबको मक्काको घर, मदीनाको घर र मक्कामा खानाको बन्दोबस्त लगायतका कामहरू पूर्वअध्यक्षले गरेका छन् । नवनियुक्त अध्यक्ष तुरुन्त साउदी अरब जान अत्यन्त जरुरी छ । त्यहाँ के कस्तो व्यवस्थापन भएको छ, यसबारे उहाँलाई पूर्ण जानकारी हुनुजरुरी छ’ उनले लेखेका छन् ।
आपूर्तिकर्ताहरूसँग हज अध्यक्षको समन्वय र अन्तरघुलन हुन जरुरी रहेको उनले बताए । नवनियुक्त अध्यक्षले पूर्व अध्यक्षसँग समन्वय गरेर अवस्थाको वास्तविक जानकारी लिनु उत्तिकै जरुरी रहेको उनले बताए ।
‘समय अत्यन्त कम भएकोले अध्यक्षले आफ्नो अधिकार प्रयोग गरी पाँच–सात जना अनुभवीहरू सम्मिलित एउटा सल्लाहकार समिति पनि गठन गर्न जरुरी देखिन्छ’ हज व्यवस्थापनबारे जानकार पूर्वमन्त्री हुसैनले लेखेका छन् ।
देशभरका २९ जिल्लाबाट ७ सय ५३ जना नेपाली हज यात्रु जेठ २ गतेदेखि ६ गतेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट साउदी अरब प्रस्थान गर्ने उडान तालिका दुई दिनअघि नै नेपाल हज समितिले सार्वजनिक गरेको थियो ।
नेपाल हज समितिका नव नियुक्त अध्यक्ष इस्रामुल्लाह मियाँले एक–दुई दिनभित्र हज समितिले पूर्णता पाइसक्ने जानकारी दिए । हज समितिका अध्यक्ष मियाँ राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य हुन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies