काठमाडौं : ललितपुर महानगरपालिकाले पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण (स्क्रिनिव) सेवा शुरु गरेको छ । गत वर्षदेखि नै आफ्नै साधन स्रोत परिचालन गरी ३० देखि ६० वर्ष उमेर समूहका १३०० महिलाहरुको एचभीपी डिएनए विधिबाट ८ वटा वडाहरुमा प्रारम्भिक परीक्षण तथा उपचारको पहल गर्दै आएको ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०/२०८१ मा थप २९ वटै वडाहरुमा यो सेवा प्रदान गर्न शुरु गरेको हो ।
जनचेतना र स्क्रिनिवका साथसाथै उपचार गर्नुपर्ने अवस्थाका महिलाहरुलाई नेपाल क्यान्सर केयर फाउण्डेशनको प्राविधिक सहयोगमा महानगरपालिकाले निःशुल्क उपचार सेवा समेत प्रदान गर्ने भएको छ । पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण तथा उपचार सबैको पहुँचमा पुर्याइ जनचेतना बढाउने उद्देश्यले यो योजनाको शुरुवात गरिएको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए ।
ललितपुर महानगरपालिकामा गरिने पाठेघर मुखको क्यान्सरको प्रारम्भिक परीक्षण एचपीभी डिएनए प्रविधिबाट हुनेछ । नेपाल क्यान्सर केयर फाउण्डेशनका निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डा.सरिता घिमिरेका अनुसार पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण (स्क्रिनिव) गर्नका लागि संसार भरिमै हाल उपलब्ध विभिन्न विधिहरु जस्तै प्याप स्मियर, भिआइए भन्दा एचपिभी डिएनए विधि सबैभन्दा प्रभावकारी विधि हो । नेपाल क्यान्सर केयर फाउण्डेशनको आकँडा अनुसार महिलाहरुमा हुने क्यान्सरमध्ये स्तन र पाठेघरको क्यान्सर सबैभन्दा बढी मात्रामा देखिएको र पाठेघरको क्यान्सरबाट पूर्ण रुपले बच्न सकिने तथा स्तन क्यान्सरको प्रारम्भिक चरणमै थाहा पाउन सकिने भएको हुनाले यी जाँचहरु नियमित रुपमा गर्नुपर्ने आवश्यकता रहेको डा.घिमिरेले बताए ।
सन् २०३० सम्म ३० वर्षमाथिका महिलाहरुमध्ये ९० प्रतिशतको पाठेघरको मुखको क्यान्सरको ‘स्क्रिनिव’ गर्ने दिगो विकाश लक्ष्य प्राप्तिका लागि र विश्व स्वास्थ्य संगठनको सिफारिस अनुसार नेपाल सरकारले आ.व २०८०/२०८१ मा कोशी, मधेश, बागमती र लुम्बिनीका ८ वटा जिल्लाका १४ स्थानीय तहबाट एचपीभी डिएनए विधिबाट पाठेघरको मुखको क्यान्सर स्क्रिनिव सेवा पाइलट प्राजेक्टको रुपमा शुरुवात गरिसकेको छ । नेपाल सरकारले आगामी आर्थिक वर्षमा सातै प्रदेशमा यो सेवा विस्तार गर्ने योजना बनाएको छ ।
यद्यपी, एसपीभी डिएनए विधिबाट पाठेघरको मुखको क्यान्सरको स्क्रिनिव सेवा लागू नभएका स्थानीय तहहरुमा भिआइए विधिबाट नै नियमित रुपमा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिव गरिने जनाएको छ । सरकारले यसै वर्षको अन्त्यसम्ममा ४५ हजार भन्दा बढी महिलाहरुको एचपीभी डिएनए विधिबाट स्क्रिनिव गर्ने लक्ष्य लिएको छ भने आगामी वर्षमा स्क्रिनिव सेवालाई बढाउँदै लैजाने योजना बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेक कुमार लालले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies