काठमाडौं : नेपालले कतारसँग परिमार्जनसहित श्रम सम्झौता नवीकरण प्रस्ताव राखेको छ । नेपाल र कतारबीच १९ वर्षअघि सन् २००५ मा श्रम सम्झौता भएको थियो । कतारका अमिर शेख तमिम बिन हमाद अल–थानीको आसन्न ऐतिहासिक नेपाल भ्रमणका अवसरमा अन्य द्विपक्षीय सम्झौतासहित श्रम सम्झौता नवीकरण गर्न नेपालले कतारसँग प्रस्ताव गरेको हो ।
परराष्ट्र मन्त्रालयले आधिकारिक रूपमा सार्वजनिक नगरेपनि आगामी वैशाख ११–१२ मा कतारी अमिर अल–थानीको नेपाल भ्रमणको तयारी गरिरहेको छ । कतारी अमिरको पहिलो नेपाल भ्रमण भएकोले दुवै देशले उक्त भ्रमणलाई उच्च महत्व दिएका छन् । यसअघि गत कात्तिक २० देखि २१ गते तय भएको कतारका अमिर शेख बिन हमाद अल थानीको नेपाल भ्रमण इजरायल र प्यालेस्टाइन विद्रोही समूह हमासबीच युद्ध चर्किएपछि बढेको तनावका कारण भ्रमण स्थगित भएको थियो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्याल र नेपालका लागि कतारका राजदूत मिशाल विन मोहम्मद एल एइ अन्सारीबीच मंगलबार मन्त्रालयमा भएको शिष्टाचार भेटमा कतारी अमिरको भ्रमण र श्रम सम्झौता नवीकरण लगायतका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । श्रममन्त्री अर्यालले कतारसँग श्रम सम्झौता भएको १९ वर्षको अवधिमा अन्तर्राष्ट्रिय श्रम आप्रवासन र कामदारका अधिकारमा ठूलो परिवर्तन आएकोले बदलिएको परिवेश अनुसार दुवै देशबीचमा सम्झौता नवीकरण गर्न आवश्यक रहेकोे कतारका राजदूतसमक्ष प्रस्ताव गरेको पनि मन्त्रालयले जनाएको छ । यसअघिका छलफलमा कतारले घरेलु कामदारका विषयमा पनि सम्झौता गर्न चाहेको नेपाली अधिकारीहरूको भनाइ थियो । तर यसपटक त्यससम्बन्धि तयारी नभएको बताइएको छ ।
भेटमा श्रममन्त्री अर्यालले सीपयुक्त नेपाली श्रमिक रोजगारीमा पठाउन र नेपाली श्रमिकलाई सीपयुक्त बनाउन चाहिरहेकाले नेपाली श्रमिकको सीप विकासमा सहयोग गर्न कतारसँग आग्रह समेत गरेका छन् ।कतारमा हाल करिब पौने चार लाख नेपाली कामदार रहेका छन् । श्रममन्त्री अर्यालले कतारमा कार्यरत नेपाली श्रमिकलाई अन्य श्रमिक सरह नै व्यवहार हुनेमा नेपाल विश्वस्त रहेको पनि बताएका छन् ।जवाफमा कतारी राजदूत अन्सारीले नेपाल कतारको आप्रवासी कामदारको दोस्रो ठूलो स्रोत मुलुक भएको बताउँदै सीपयुक्त जनशक्तिको विकासको लागि कतारबाट गर्नुपर्ने सहयोगको लागि स्पष्ट रूपमा प्रस्तावको आग्रह गरेका पनि मन्त्रालयले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies