२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

ठेकेदारको लापरवाहीले बृहत् हलेसी ‘पम्पिङ’ खानेपानी आयोजना अधुरै

Nada
२०८१ भदौ २३ गते १४:१६
Shares
ठेकेदारको लापरवाहीले बृहत् हलेसी ‘पम्पिङ’ खानेपानी आयोजना अधुरै

खोटाङ : सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका चार हजार आठ सय ९७ उपभोक्तालाई दूधकोशीको पानी तानेर घरघरमा वितरण गर्ने उद्देश्यले सात वर्षअघि सुरु भएको ‘बृहत् हलेसी पम्पिङ खानेपानी आयोजना’को काम अलपत्र परेको छ ।सरकारको रु. ९६ करोड ४५ लाख चार हजार एक सय ३८ लागतमा सम्पन्न गर्ने गरी २०७४ सालदेखि निर्माण सुरु भएको आयोजनाको काम अन्तिम चरणमा पुगेपछि अलपत्र परेको हो ।

ncell

आयोजनाको एक नम्बर ‘प्याकेज’अन्तर्गत वडा नं ८ सल्लेको महादेव बेँसीबाट वडा नं ७ महादेवस्थानस्थित काभ्रेडाँडा र दुई नम्बर प्याकेज अन्तर्गत सोही नगरपालिकाको वडा नं १ बाहुनी डाँडाको कदुवास्थित लिलिमाबेँसीबाट भुम्जुडाँडामा लिफ्टिङ प्रविधिबाट पानी तान्न दिवा-महादेव-खिम्ती निर्माण कम्पनीले २०७६ साल मङ्सिरमा सक्ने गरी २०७४ असार २१ मा सम्झौता गरेको थियो । दुवै प्याकेजको काममा ठेकेदार कम्पनीले पटक पटक म्याद थपिए पनि काम नगरेपछि अलपत्र परेको हो । 

खानेपानी आयोजनाको काममा ठेकेदार कम्पनीको हेलचेक्र्याइँका कारण स्थानीयले पेयजल प्राप्तिमा दुःख पाउनुका साथै राज्यले ठूलो आर्थिक भार बेहोर्नुपरेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताए। “ठेकेदार कम्पनीले चार पटक म्याद थप गराइसकेको छ । ठेकेदारको हेलचेक्र्याइँका कारण दुई महिनादेखि काम ठप्प छ”, उनले भने, “ यसप्रति सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।”

महादेव बेँसीबाट काभ्रे डाँडामा निकालिएको पानी नगरका विभिन्न वडामा वितरण गर्न ल्याइएको पाइपलाइनको काम पनि अलपत्र छ । यसमध्ये एक नम्बर ‘प्याकेज’को ‘मेनलाइन’को कामअन्तर्गत पानी तान्ने छवटा पम्पमध्ये दुई वटा मात्र जडान गरिएको र अन्य चार वटा जडान गर्न बाँकी रहेको पाइएको छ । आयोजना अन्तर्गत दुई नम्बर प्याकेजको मेनलाइनको काम भने सकिएको तर, शाखा लाइनको काम बाँकी छ । उक्त आयोजना अन्तर्गत करिब एक सय परिवारलाई पानी वितरण गरिसकेको र तीन सय परिवारलाई पानी वितरण गर्न बाँकी छ । 

दुवै ‘प्याकेज’को काममा ८५ प्रतिशत आर्थिक प्रगति भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले जनाएको छ । शाखा लाइन विस्तारको  ठेक्का पाएका निर्माण कम्पनीले पनि काम पूरा गरेका छैनन् । 

लिलिमाबेँसीबाट भुम्जुडाँडासम्म निकालिएको पानी वडा नं १, २, ३ का दुई हजार चार सय नौ घरपरिवारलाई वितरण गर्ने ठेक्का लामा कन्स्ट्रक्सनले लिएको थियो । उक्त कम्पनीले पनि कदुवा क्षेत्रमा पानी वितरण गर्न सकेको छैन । भुम्जुडाँडामा निकालेर वितरण गरिएको पानी तीन महिनादेखि आउन छाडेको वडा नं २ डिकुवाका उपभोक्ता सुदीप अधिकारीले बताए। 

लामा कन्स्ट्रक्सनले रु. ३७ करोड ९३ लाखको लागतमा  २०७७ साल साउन १ गते आयोजना पूरा गर्ने गरी २०७५ साल साउन १ गते सम्झौता गरेको थियो । निर्माण कम्पनीले चार लाख लिटर क्षमताको तीन वटा ट्यांकी, तीन लाख लिटरको एउटा, एक लाख लिटरका पाँच वटा ट्यांकी र चार किलोमिटर पाइप लाइन विस्तार गर्ने सम्झौतामा भएको थियो ।

यस्तै, महादेव बेँसीबाट काभ्रेडाँडामा निकालिएको पानी वडा नं ५, ६ र ७ का दुई हजार चार सय ८८ घरपरिवारलाई वितरण गर्ने कामको ठेक्का रमण-सगरमाथाले लिएको थियो । रु. २६ करोड ७५ लाख ५१ हजारको लागतमा २०७७ साल साउन १ गते काम सक्ने गरी २०७५ साल साउन १ गते सम्झौता गरेको थियो । आयोजनासँग गरिएको सम्झौताअनुसार ७३ वटा ट्यांकी, डिसी/डिपिटी ७३ वटा निर्माण गर्नुपर्ने थियो ।  निर्माण कम्पनीले अहिले आयोजना अलपत्र परेको स्थानीय बासिन्दाले बताएका छन् । पम्पिङ खानेपानी आयोजनाको काम छाडेर ठेकेदार निर्माण स्थलबाट हिँडेपछि स्थानीय उपभोक्ता निराश भएका छन् । 

आयोजनाले ठेकेदारलाई भुक्तानी दिन नसक्दा काम रोकिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष इवन राईले जानकारी दिए। आयोजनाका लागि थप बजेटको व्यवस्था नहुँदा ठेकेदार कम्पनीलाई भुक्तानी दिन नसकिएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख विपुलकुमारलाल दासले जानकारी दिए । अहिले वर्षा काल भएकाले  काम रोकिएको छ”, उनले भने, “दसैँअघि मेनलाइनको काम सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग समन्वय भइरहेको छ । ”

ताजा खबर

सम्बन्धित खबर