२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

जनतालाई केन्द्रबिन्दुमा राखेर सेवा प्रवाह गर्नुपर्नेमा जोड

Nada
२०८१ भदौ २२ गते २०:१२
Shares
जनतालाई केन्द्रबिन्दुमा राखेर सेवा प्रवाह गर्नुपर्नेमा जोड

नेपालगन्ज : जनतालाई केन्द्रबिन्दुमा राखेर सेवा प्रवाह गर्नुपर्ने निजामती सेवामा रहेका उच्च पदस्थ कर्मचारीहरुले यहाँ आयोजित एक कार्यक्रममा बताएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेको आयोजना र विभिन्न संघसंस्थाहरुको समन्वयमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि, अतिथि लगायतका वक्ताहरुले नेपालमा २००७ सालको परिवर्तनपछि २०१३ सालमा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन तथा नियमावली जारी गरेर व्यवस्थित रुपमा निजामती सेवाको जग राख्ने काम गरेको बताएका थिए । 

ncell

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि बाँके जिल्ला अदालतका न्यायाधीश भिष्मराज प्रसाईं थिए ।  कार्यक्रममा बाँकेस्थित ट्रेड युनियनका पदाधिकारीहरुले संसद्मा विचाराधिन निजामती सेवा ऐन यथाशिघ्र जारी हुनुपर्ने, कर्मचारीहरुलाई दैनिक आवश्यकता धान्न पुग्ने खालको सेवा सुविधा दिनुपर्ने, उचित दण्ड पुरस्कार, नियमित वृत्ति विकास, पूर्वानुमानयोग्य सरुवा प्रणालीको व्यवस्था हुनुपर्ने, तीनै तहका सरकारले कानूनसम्मत चल्ने कर्मचारीतन्त्रमा अनुचित हस्तक्षेप गर्न नहुने जस्ता धारणा राखेका थिए । 

शनिबार बिहान जिल्ला प्रशासन कार्यालय बाँकेको हातामा जम्मा भएका कर्मचारीहरुले ‘व्यवसायिक र सिर्जनशील प्रशासन विकास, समृद्धि र सुशासन’ नारा लेखिएको व्यानर तथा ‘मुस्कानसहितको सेवा नागरिकलाई टेवा’, ‘प्रविधिको उपयोग गरौं सेवाको लागत घटाऔं,’ ‘प्रभावकारी सेवा प्रवाहका लागि जनसहभागिता,’ ‘समन्वय र सहकार्य, लोकतान्त्रिक शासन नागरिकमैत्री प्रशासन’, ‘जनसेवा हाम्रो प्रतिवद्धता, जनताका लागि प्रशासन, शिष्ट र नम्र व्यवहार सेवाग्राहीको अधिकार,’ लगायतका नाराहरु लेखिएका प्ले कार्ड र व्याण्ड बाजासहित प्रभातफेरी गरिएको थियो । कार्यक्रममा बाँकेका प्रमुख कोष नियन्त्रक मोहनशरण भण्डारी, भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश बहादुर थापा, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी, भेरी अस्पतालका नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ, बाँकेका प्रहरी प्रमुख तुल बहादुर कार्की, सशस्त्र प्रहरी बलका बाँके प्रमुख विमल डाँगी, राष्ट्रिय अनुसन्धानका बाँके प्रमुख ओम बहादुर खड्का लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन कर्मचरी मिलन केन्द्र बाँकेका अध्यक्ष गोविन्द प्रसाद पाण्डेले गरेका थिए । 

निजामती सेवा दिवसको पूर्व सन्ध्यामा बाँके जिल्लामा भदौ २० र २१ गते सबै सरकारी कार्यालय हातामा सरसफाइ, उत्कृष्ट कर्मचारी पुरस्कृत, फलफूलका बिरुवा वृक्षारोपण गर्नुका साथै पहिलो सेवाग्राही सम्मान लगायतका कार्यक्रम सञ्चालन गरिएको कर्मचारी मिलन केन्द्र बाँकेका अध्यक्ष तथा जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्द प्रसाद पाण्डेले बताए ।

ताजा खबर

सम्बन्धित खबर