२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

‘निजामती सेवा जनताको भरोसाको केन्द्र हो’

Nada
२०८१ भदौ २२ गते १३:१५
Shares
‘निजामती सेवा जनताको भरोसाको केन्द्र हो’

काठमाडौँ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले स्थायी सरकारको रूपमा रहेको निजामती सेवा जनताको आशा र भरोसाको केन्द्र भएकाले जनताको घरदैलोमा पुगेर अहोरात्र सेवा प्रदान गरिरहेको बताएका छन् । 

ncell

२१ औं निजामती सेवा दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सीमित स्रोत, साधन एवं पारिश्रमिकका बाबजुद राष्ट्र सेवामा निरन्तर खटिरहेका निजामती कर्मचारीको मनोबल उच्च बनाइ आफ्नो काममा थप उत्प्रेरित तुल्याउन आवश्यक भएको बताए । 

मन्त्री गुप्ताले भने,“कर्मचारीको क्षमता विकासमार्फत प्रविधिमैत्री सेवा प्रवाह गर्नु आजको आवश्यकता हो ।” नयाँ बन्ने सङ्घीय निजामती सेवा ऐनले कर्मचारीतन्त्रमा देखिएको अन्योल हटाइ सेवा प्रवाह प्रभावकारी हुने विश्वास व्यक्त गर्दै उनले जनताको सबैभन्दा नजिकैको स्थानीय र प्रदेश सरकारसँग समन्वय गरी सेवा प्रवाह र प्रवर्द्धनका लागि मन्त्रालयले काम गरिरहेको बताए । मन्त्री गुप्ताले भने,“सार्वजनिक सेवा प्रवाह, सुशासन अभिवृद्धि, सङ्घीयता कार्यान्वयन तथा शासकीय व्यवस्थालाई समायानुकुल तुल्याउन सबैले आफ्नो स्थानबाट रचनात्मक र सिर्जनात्मक योगदान पुर्‍याउनु पर्छ ।” 

मुलुकको स्थायी सरकारको रूपमा रहेको निजामती सेवाले कानुनी अधिकार प्राप्त गरेको दिनको सम्झनामा प्रत्येक वर्ष भदौ २२ गते यो दिवस मनाइँदै आएको छ ।

मुख्य सचिव एकनारायण अर्यालले नेपालको निजामती सेवाले आफ्नो विशिष्ट मौलिक पहिचानसहित देशको एउटा भरपर्दो स्थायी संयन्त्रको रूपमा आफूलाई स्थापित गर्न  सफल रहेको बताए । उनले भने,“मुलुकले जे जस्तो उपलब्धि हासिल गरेको छ त्यसमा निजामतीको भूमिका छ ।समय सान्दर्भिक आफूलाई परिमार्जित गर्न नसकेको आरोप खेपिरहेको बखत पनि राष्ट्र तथा जनताको निम्ति जस्तोसुकै चुनौती पार लगाउन निजामती सेवा सक्षम रहेको अभ्यासले पुष्टि गरिसकेको छ ।”

मन्त्रालयका सचिव भरतमणि सुवेदीले मुलुकको राजनीतिक व्यवस्था र सङ्घीय संरचनाअनुसार कर्मचारीले आफ्ना कामकारबाही ,आनीबानी, आचरण र व्यवहारलाई परिमार्जन र परिस्कृत गर्दै नागरिकमैत्री बनाउन आवश्यक रहेको बताए। उनले भने,“कर्मचारीतन्त्रबाट नागरिकले पाउने सेवाको स्तरबाट नै सरकारको प्रभावकारिता मापन हुने तथा सरकारप्रति नागरिकको भरोसा अभिवृद्धि हुने भएकाले सेवा प्रवाहको सन्दर्भमा आफूलाई अब्बल प्रमाणी गर्नुपर्ने आवश्यकता छ ।”उहाँले निजामती सेवाले कर्मचारीतन्त्रका आधारभूत चरित्र, मूल्य मान्यता र नवीनतम प्रवृत्तिको अनुसरण गर्दै सदाचार र सत्य निष्ठालाई आफ्नो व्यावसायिक जीवनको आधार बनाउन सुझाव दिए ।

व्यावसायिक र सिर्जनाशील प्रशासन : विकास समृद्धि र सुशासन भन्ने मूल नारासहित आयोजित दिवस मूल समारोहमा अघिल्लो वर्ष निजामती दिवसका अवसरमा घोषणा गरिएको उत्कृष्ट निजामती पुरस्कार र निजामती पुरस्कार प्रदान गरियो । निजामती प्रशासन सेवाका ८६ हजार कर्मचारीमध्ये ५३ हजार सङ्घीय सरकारका सेवामा छन् । त्यस अवसरमा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष लेखनाथ कोइरालाले सङ्घीय निजामती  ऐन शीघ्र जारी गर्न माग गरे ।

ताजा खबर

सम्बन्धित खबर