२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको संख्या बढ्दै

Nada
२०८१ भदौ २० गते १४:००
Shares
सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको संख्या बढ्दै

कैलाली : सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या क्रमशः बढ्दै गएको पाइएको छ । सरकारी स्वास्थ्य संस्थामा उपचार गराउँदा बीमा बोर्डले उपचारमा लागेको खर्च व्यहोर्ने भएपछि बीमा गराउने सङ्ख्या बढ्दै गएको हो ।

ncell

पछिल्लो समयमा सुदूरपश्चिममा स्वास्थ्य बीमा कार्यक्रममा समावेश हुनेको सङ्ख्या क्रमशः बढिरहेको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिमका प्रमुख जनकबहादुर साउदले बताए। उनले सूचना व्यवस्थापन प्रणालीको तथ्यांक अनुसार सुदूरपश्चिममा अहिलेसम्म स्वास्थ्य बीमा गराउनेको सङ्ख्या पाँच लाख ८६ हजार नौँ सय १५ पुगेको बताए ।

सुदूरपश्चिममा अहिलेसम्म स्वास्थ्य बीमा गराउनेमा महिलाको सङ्ख्या बढी छ । स्वास्थ्य बीमा गराउनेमा महिलाको सङ्ख्या तीन लाख नौ हजार १२ र पुरुषको सङ्ख्या दुई लाख ७७ हजार एक सय ९० रहेको साउदले बताए ।

स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिमले दिएको जानकारी अनुसार स्वास्थ्य बीमा गराउनेको सङ्ख्या सबैभन्दा बढी कैलालीमा दुई लाख ९९ हजार एक सय ४५ पुगेको छ भने कञ्चनपुरमा ६४ हजार चार सय २० र अछाममा ५७ हजार नौ सय ६४ जनाले स्वास्थ्य बीमा गराएका छन् । 

यसैगरी बझाङमा ४२ हजार एक सय दुई, बाजुरामा ३६ हजार पाँच सय ३६, बैतडीमा २६ हजार एक सय सात, डडेल्धुरामा २३ हजार पाँच सय ६२, डोटीमा २० हजार नौ सय २८ र दार्चुलामा १६ हजार एक सय ५३ जनाले स्वास्थ्य बीमा गराएको बोर्डको तथ्यांकले देखाएको छ ।

प्रमुख साउदका अनुसार पुराना बिमितमध्ये करिब ८५ प्रतिशतभन्दा बढीले स्वास्थ्य बीमा नवीकरण गर्ने गरेका छन् । स्वास्थ्य बीमामा सहभागी हुन पाँच जना सदस्य भएको परिवारले वार्षिक रु. तीन हजार पाँच सय प्रिमियम तिर्नुपर्छ भने पाँच जनाभन्दा बढी सदस्य भए एक सदस्य बराबर थप रु. सात सयका दरले वार्षिक प्रिमियम बुझाउनुपर्ने प्रावधान छ ।

बिमित परिवारका सदस्य बिरामी हुँदा रु. एक लाख बराबरको उपचार शुल्क स्वास्थ्य बीमा बोर्डले अस्पताललाई भुक्तानी गर्छ । सरकारी अस्पतालमा उपचार सेवा सहज हुन लागेकाले सर्वसाधारणको स्वास्थ्य बीमामा आकर्षण बढ्न थालेको जनाइएको छ ।

स्वास्थ्य बीमा गराएका व्यक्तिको प्राथमिक स्वास्थ्य केन्द्र, नगर अस्पताल, जिल्ला अस्पताल, प्रादेशिक अस्पताल र संघीय अस्पतालमा उपचार सेवा प्राप्त गर्दै आएका छन् । बिमितहरूको पहिलो सेवा केन्द्रमा उपचार हुन नसके प्रादेशिक र संघीय अस्पतालबाट उपचार सेवा लिँदै आएका छन् ।

सरकारले विसं २०७२ देखि देशका ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको हो । सरकारले २०७२ चैत २५ गते सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले कैलाली, इलाम र बागलुङसहित तीन जिल्लाबाट सो कार्यक्रम सुरु गरेको थियो ।

सरकारले अति गरिब, ज्येष्ठ नागरिक, एचआइभी-एड्स सङ्क्रमित, महिला स्वास्थ्य स्वयंसेविका, अति अशक्त अपांगता भएका व्यक्तिलाई भने निःशुल्क बीमा गर्ने गरेको जनाइएको छ ।
 

ताजा खबर

सम्बन्धित खबर