२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

कलाकार संघको ३८औं स्थापना दिवस : बाढीपीडितका लागि राहत संकलन र रक्तदान

Nada
२०८३ भदौ २४ गते १६:२९
Shares
कलाकार संघको ३८औं स्थापना दिवस : बाढीपीडितका लागि राहत संकलन र रक्तदान

काठमाडौं : नेपाल चलचित्र कलाकार संघ ले आफ्नो ३८औं स्थापना दिवस सामाजिक उत्तरदायित्वसँग जोडेर मनाएको छ । मंगलबार चलचित्र विकास बोर्ड परिसरमा आयोजित विशेष समारोहबीच संघले स्थापना दिवस मनाउँदै बाढीपीडितका लागि सहयोग जुटाउने अभियान सञ्चालन गरेको हो ।

ncell

कार्यक्रममा प्रथम नेपाली अभिनेत्री तथा संघकी पूर्वसंरक्षक भुवन चन्दको प्रमुख आतिथ्यता रहेको थियो । सो अवसरमा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकका लागि बृहत् रक्तदान तथा राहत संकलन कार्यक्रम आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वसहित ८६ जनाले सहभागिता जनाएका थिए भने राहतका रूपमा करिब चार लाख रुपैयाँ संकलन भएको संघले जनाएको छ ।

संघका अध्यक्ष उत्तम केसीका अनुसार हर्के हल्दार समूहबाट १ लाख ३३ हजार ३३३ रुपैयाँ र कार्यसमिति सदस्य नवीन श्रेष्ठबाट १ लाख १ हजार रुपैयाँसहित उल्लेख्य सहयोग संकलन गरिएको हो । उनले कलाकारले पेशागत अधिकारसँगै सामाजिक दायित्व पनि वहन गर्नुपर्ने भन्दै स्थापना दिवसलाई सेवा अभियानसँग जोडिएको बताए ।

कार्यक्रमको सुरुवात संघका संस्थापक अध्यक्ष शान्ति मास्केको तस्बिरमा माल्यार्पण गरेर गरिएको थियो । सो अवसरमा वरिष्ठ कलाकार तथा पूर्वअध्यक्ष कृष्ण मल्लले संघको स्थापना, उद्देश्य र नेपाली चलचित्र क्षेत्रमा यसको योगदानबारे प्रकाश पारे ।

संघका महासचिव सुनिल कटुवालले स्वागत मन्तव्य राख्दै कलाकारको हकहित, सामाजिक उत्तरदायित्व र चलचित्र क्षेत्रको विकासमा संघले खेलेको भूमिकाबारे चर्चा गरे । कार्यक्रममा पूर्वअध्यक्ष मोहन निरौला, रवीन्द्र खड्का तथा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष दिनेश डिसी लगायत विभिन्न कलाकार तथा व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । रक्तदानमा सहभागीलाई संघले प्रशंसापत्र प्रदान गरेको थियो ।

कार्यक्रमको समापनमा उपाध्यक्ष पूजना स्त्रीले धन्यवाद ज्ञापन गर्दै स्थापना दिवसलाई सामाजिक सेवासँग जोड्न पाउनु गौरवको विषय भएको बताइन् । उनले कलाकारहरू मनोरञ्जन क्षेत्रमा मात्र सीमित नभई विपत् र मानवीय संकटका बेला पनि समाजसँगै उभिनुपर्ने सन्देश कार्यक्रमले दिएको उल्लेख गरिन् ।

संघले ३८ वर्षको यात्रा पूरा गर्दै आगामी दिनमा कलाकारको व्यावसायिक विकाससँगै सामाजिक भूमिकालाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । कार्यक्रममा चलचित्र क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर