
काठमाडौं : जेनजी आन्दोलनमा अराजक समूहको तारो बनेको निजी क्षेत्रलाई कस्ने सरकारी रवैयाले उद्योगी व्यवसायीमा चरम निराशा देखिएको छ । देशको अर्थतन्त्रको ८० प्रतिशतभन्दा धेरै योगदान दिने निजी क्षेत्रले लगानी असुरक्षाको महसुस गर्न थालेको छ । आन्दोलनपिच्छे अराजक समूहबाट लुटपाट र आगजनी भइरहँदा सरकारले सुरक्षा दिन नसकेपछि लगानी पलायनको खतरा बढेको हो ।
कोभिड महामारीदेखि नै उठ्न नसकेको व्यवसाय एक दशकसम्मै राम्ररी तङ्ग्रिन सकेको छैन । अस्थिर सरकार र नीतिको मारमा परिरहेका बेला थपिएको असुरक्षा र सरकारी रवैयाले पीडा दिएको व्यवसायीहरू बताउँछन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले जेनजी आन्दोलनबाट निजी सम्पत्ति, व्यावसायिक प्रतिष्ठान तथा उद्योगमा भएको क्षतिले खस्केको मनोबल अझै उठ्न नसकेको बताए । उनले भने, ‘उद्यमी व्यवसायीको मनोबल उकास्ने काम नहुँदा व्यवसायीले अब उद्योग चलाउने भन्दा बन्द गर्ने निर्णय लिन सक्ने अवस्था बढ्दो छ । निजी क्षेत्रलाई सुरक्षा र लगानीमैत्री वातावरण नबन्दासम्म अर्थतन्त्र लयमा आउने देखिँदैन ।’
आन्दोलनमा निजी लगानीमाथि भएको प्रहारले निजी क्षेत्र आक्रान्त छ । आन्दोलमा भएको क्षतिको राहत पाएका छैनन् । त्यसमाथि लुटपाट र आगजनीमा संलग्नमाथि कारबाही गर्न सरकारले ध्यान दिएको छैन । बरु एक दशक पुरानो डेडिकेटेड तथा ट्रंकलाइन विद्युत् महसुलको नसुल्झिएको विवादको निहुँमा सरकारले धमाधम उद्योगको लाइन काटिरहेको छ ।
ऊर्जामन्त्री कुलमान घिसिङले आफू नौ वर्ष विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदा उठाउन नसकेको महसुल अर्थतन्त्र कठिन स्थितिमा रहेका बेला अहिले उठाउन कस्सिएका छन् । त्यसलाई व्यवसायीहरूले घिसिङको कुन्ठा र बेमौसमी हठ भनेका छन् । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेर त्यसबापतको महसुल नतिरेको भन्दै २४ वटा उद्योगको लाइन काटिदिएको हो । कात्तिक ४ गते विद्युत् महसुल बक्यौता नतिरेको भन्दै जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन काटियो भने शुक्रबार थप १८ वटा उद्योगको लाइन प्राधिकरणले काटेको छ ।
मन्त्री घिसिङको निर्देशनमा विद्युत् प्राधिकरणले शुक्रबार पञ्चकन्या स्टिल, श्याम प्लास्टिक, गोयन्का फुड्स, कसमस सिमेन्ट, एसआर स्टिल, पञ्चकन्या प्लास्टिक, भलवारी स्वचालित कारखाना, जगदम्बा सेन्थेटिक, एभरेष्ट रोलिङ इन्ड्रस्टिज, घराना फुड्स, विशाल सिमेन्ट, बुटवल सिमेन्ट, निगाले सिमेन्ट, एसआर फुड्स, सिद्धार्थ पेट प्लान्ट, हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न र सोना मिनरल्स एन्ड आयल्सको बिजुली काटिएको हो ।
देशका २५ ठुला उद्योग बन्द हुँदा करिब २० हजारको रोजगारी गुम्ने र राजस्वमा समेत असर पुग्ने देखिन्छ । नेपाल उद्योग वाणिज्य महासंघका कर तथा राजस्व समितिका सभापति अम्बिका प्रसाद पौडल निजी क्षेत्रमाथिको प्रहारले निजी क्षेत्र पलायनको अवस्था सिर्जना हुने बताउँछन् । उनले भने, ‘निजी क्षेत्रले समाजमा आफ्नो योगदान र समस्यालाई बुझाउन सकेन, राज्य र समाजले बुझेन भने संकुचन हुँदै पलायन हुनुको विकल्प छैन । निजी क्षेत्रमाथिको प्रहारको जवाफ राज्य सञ्चालकले दिनुपर्दछ ।’
यस्तै आन्दोलपछि व्यवसायी पर्यटन क्षेत्र समेत सुस्ताएको छ । आन्दोनलपछि पर्यटकको आगमन घट्न थालेको छ भने पर्यटन व्यवसायीमा समेत निशाना बढ्न थालेको छ । राजधानीको पाँच तारे होटल होटल ह्यात रेजेन्सी अनिश्चितकालिन रुपमा बन्द भएको घोषणा गरेको छ । आन्दोलनमा होटल परिसरमा तोडफोड र आगजनीका कारण संरचनागत क्षति पुगेपछि क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्निर्माणका लागि भन्दै बन्द गरिएको सूचना जारी गरेको छ । यस्तै हिल्टन होटल अगाजनीबाट पूर्ण क्षति भएको छ । बन्द, भाटभटेनीका २८ वटा स्टोर मध्ये २१ वटा स्टोरमा तोडफोड र १२ वटा पूर्ण क्षति भएको थियो । यस्तै चन्द्रागिरि केबलकार बन्द भएको छ ।
व्यवसायी तथा सिटिजन्स बैंक इन्टरनेसनलका सञ्चालक समितिका अध्यक्ष प्रवलजंग पाण्डेले व्यक्तिगत र सार्वजनिक सम्पति जलाउनेहरू कारवाहीको दायरामा नआउनेप्रति कटाक्ष गर्दै लेखेका छन्, ‘हायत होटल बन्द, हिल्टन होटल बन्द, पोखराका केही होटल बन्द, पर्यटक आगमन बन्द, भाटभटेनी स्टोर बन्द, चन्द्रागिरि केबलकार बन्द, धेरै कलकारखानाहरू माग कम भएर पहिल्यै बन्द, ३० ठुला उद्योगको विद्युत् महसुल विवादका कारण प्राधिकरणले लाइन काटेर बन्द । खुल्ला छ त केबल राजनीतिक दल दर्ता खुल्ला, खुल्ला छ त केबल दलमा कार्यकर्ता भर्ति खुल्ला, खुल्ला छ त केबल गाली र विरोध गर्ने मुख खुल्ला, खुल्ला छ त केबल व्यक्तिगत र सार्वजनिक सम्पति जलाउने हात खुल्ला ।’
स्वदेशी लगानीकर्ताकै मनोवल कमजोर हुदाँ बिदेशी लगानी आउने वातावरण समेत ठप्प छ । अन्तर्राष्ट्रिय चेन होटल र एनसेलमा भएको आगजनीले थप लगानी आउने सम्भावना न्यून रहेको व्यवसायी बताउँछन् ।