काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारीहरूले आन्दोलनको सुरुवात गरेका छन् । नेप्सेका अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत (सिइओ) चुडामणि चापागाईंले राजीनामा दिनुपर्ने माग गर्दै उनीहरूले आन्दोलन गरेका हुन् । अध्यक्ष र सिइओले बिचौलियाका एजेन्डाअनुसार काम गरेको आरोप आन्दोलनमा उत्रिएका कर्मचारीहरूले लगाएका छन् ।
नेप्सेमा क्रियाशील रहेको कर्मचारी संगठनले नेप्सेको सुधारभन्दा पनि अध्यक्ष र सिइओले बिचौलियालाई लाभ हुने काम गरेको भन्दै बुधबारदेखि आन्दोलन सुरु गरेका हुन् । नेप्से कर्मचारी संघका अध्यक्ष नवराज थापाले अध्यक्ष र सिइओले बिचौलियाको अनुचित दबाब, प्रभाव र निर्देशनमा काम गर्दै आएको प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् ।
मंगलबार आन्दोलित कर्मचारीहरूले अध्यक्ष र सिइओलाई कार्यकक्षमा नै बन्धक बनाउने प्रयास गरेका थिए । बुधबार भने हातमा कालोपट्टि बाँधेर विरोध गर्दै काम गरे । मंगलबार अध्यक्ष र सिइओसँंग छलफल पनि गरेका थिए । तर सो छलफलमा सहमति हुन सकेन । जसपश्चात् आन्दोलनकारीले अध्यक्ष र सिइओको राजीनामा माग गर्न सुरु गरेका हुन् ।
अध्यक्ष बस्यालले भने कर्मचारीले आफूहरूलाई लगाएको आरोपजस्तो लेनदेदनको विवाद नरहेको बताएका छन् । ‘कर्मचारीको बोनस विवादलाई लिएर विषयान्तर गर्न खोज्दै हुनुहुन्छ, म नितान्त नेप्सेको हितका लागि आएको हुँ, मेरो कुनै स्वार्थ पनि छैन,’ उनले भने ।
तर कर्मचारी संगठनले भने अध्यक्ष र प्रमुख कार्यकारीको राजीनामा नआएसम्म आन्दोलनलाई निरन्तरता दिनेगरी चरणबद्ध आन्दोलनका कार्यक्रमको घोषणा गरेका छन् । केपी शर्मा ओलीको सरकारले बस्याललाई गत भदौ २० गते अध्यक्षमा नियुक्त गरेको थियो भने सिइओलाई पनि सोही सरकारले नै नियुक्त गरेको हो ।
कर्मचारी संगठनका अध्यक्ष नवराज थापाले राजनीतिक दलको कार्यकर्ता, राजनीतिक प्रभाव र भागबन्डाका आधारमा नेप्सेको सञ्चालक समितिको अध्यक्ष र सिइओमा नियुक्त गरेको भन्दै अध्यक्ष बस्यालको कन्सल्टेन्सी र नेप्सेबीच पुरानो भुक्तानीसम्बन्धी विवाद रहेकै अवस्थामा उनी नेप्सेको अध्यक्षमा नियुक्त हुनु स्वार्थ बाझिने विषय रहेको बताएका छन् ।