२०८२ असोज २ गते बिहिवार / Sep 18 , 2025 , Thursday
२०८२ असोज २ गते बिहिवार
Ads

मूल्यवृद्धि नियन्त्रण गर

shivam cement
२०८२ असोज २ गते ०६:१५
मूल्यवृद्धि नियन्त्रण गर

चाडपर्वको मुखैमा हामी शोकमा डुब्यौं, मुलुकले ठुलो क्षति ब्यहोर्नुप¥यो । जेनजी विद्रोह र लगत्तै भड्किएको हिंसा सम्हालिँदै छ । तर दसैं नजिकिँदै जाँदा बजार भाउ भने छोइसाध्य छैन । दैनिक उपभोग्य वस्तुहरूको मूल्य अकस्मात् अकासिनुका पछाडि जेनजी आन्दोलनलाई कारण बताइएको छ । बजारमा तरकारी, चामल, तेल र फलफूलको मूल्य ३० देखि ४० प्रतिशतसम्म बढेको छ । दसैं बजारमा उत्साह छैन । भर्खरै अन्तरिम सरकार बनेको र बजार नियमन गर्ने निकास सक्रिय नरहेको मौका छोपेर भइरहेको कालोबजारी र अस्वाभाविक मूल्यवृद्धिले आमउपभोक्ता मारमा परेका छन् । 

व्यापारीहरूले दैनिक उपभोग्य वस्तु र दसैं बजारमा भएको चर्को मूल्यवृद्धिको कारण भर्खरैको जेनजी आन्दोलन र केही समयअघिको बाढीपहिरोले तातोपानी बन्द हुनुलाई औंल्याएका छन् । तर, त्यो पत्यारिलो देखिँदैन । बजार भाउ स्थिर र पारदर्शी दुवै छैन । बजारमा अनुगमन गर्ने निकायको उपस्थिति छैन । सरकारी कार्यालयमा भएका तोडफोड र आगजनीले कर्मचारीको मनोबल घटेको छ । नियमित अनुगमन नभइरहेको मौकाको फाइदा उठाएरै बजारमा एकाएक मूल्यवृद्धि गरिएको हो । त्यसको मारमा उपभोक्ता परेका छन् । उदाहरणका लागि गोलभेंडाको मूल्य केही दिनमै ७० बाट १०० सम्म पुगेको छ । काउली, गाजर, साग, कागती, लौका, खुर्सानीजस्ता मौसमी तरकारीमा समेत प्रतिकिलो ३०–५० रुपैयाँसम्म वृद्धि भएको छ । फलफूलको भाउ उस्तै छोइसाध्य छैन ।  चाडपर्वमा धेरै माग हुने खाद्य सामग्री र लत्ताकपडामा पनि उत्तिकै मूल्यवृद्धि भएको छ । 

त्यसो त, चाडपर्वमा मौसमी नै भए पनि बजार अनुगमन हुँदै आएको छ । तर प्रभावकारी अनुगमन र मूल्य नियन्त्रण नहुँदा आमउपभोक्ताको ढाड सेकिएको छ । उपभोग्य वस्तुहरूमा व्यापक र छिटो मूल्यवृद्धि हुनुका पछाडि आपूर्ति समस्या मात्र कारण देखिँदैन । सरकारी उदासीनता र बजार नियन्त्रण प्रणालीको असफलताका पनि अर्को कारण हो । त्यसैले भर्खरै गठन भएको अन्तरिम सरकारले तत्कालै कडाइका साथ बजार अनुगमन गर्नुपर्छ । मूल्यसूची पारदर्शी बनाउने र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्नुपर्छ । तब मात्र आमउपभोक्ताको विश्वास पुनस्र्थापित हुन सक्छ । दलीय सरकार विस्थापनपछि आन्दोलनको बलमा शान्तिसुरक्षा, सुशासन र सुव्यवस्थाको अपेक्षासहित बनेको सरकारले आमनागरिकको मन जित्न पनि बजार नियन्त्रण गर्नुपर्छ ।
 

ADV

सम्बन्धित खबर

Advertise