२०८२ भदौ २२ गते आइतवार / Sep 07 , 2025 , Sunday
२०८२ भदौ २२ गते आइतवार
Ads

लोकतन्त्रको ऐना देखाऊ

shivam cement
२०८२ भदौ २२ गते ०६:१०
लोकतन्त्रको ऐना देखाऊ

लोकतन्त्र र लोकतान्त्रिक अभ्यास कुनै विधि र विधानमा लेखेर हुने विषय होइन । व्यक्तिका व्यवहार र आचरणमा लोकतान्त्रिक मूल्य र मान्यताको प्रतिविम्ब छ वा छैन भन्ने विषयले सम्बन्धित समाज, समूह, संगठनको चरित्र प्रदर्शित गर्दछ । यस्तो विषयमा मुलुककै नेतृत्व गरिरहेका राजनीतिक दलहरू, नेता र जनप्रतिनिधिहरूले विशेष ख्याल गर्नुपर्छ । किनभने, उनीहरूका क्रियाकलापले कस्तो समाज निर्माण गर्ने भनेर तय गरिरहेको छ । यसअनुरूपको व्यवहार प्रदर्शित भइरहेको छ वा छैन भनेर सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको क्रियाकलापलाई हेर्दा आन्तरिक लोकतन्त्र कमजोर देखिन्छ । समाजमा फरक–फरक विचार हुन्छन् र सबैका तर्क सुनेर अधिकतम तर्क र विश्वासयोग्य विचारलाई अगाडि बढाउने लोकतान्त्रिक अभ्यास हो । तर एमालेभित्र फरक मतले औपचारिकतासमेत पाउन नसकेको अवस्था छ । 

सरकारको नेतृत्व गरिरहेको दल एमाले आफ्नो पार्टी कस्तो बनाउने भनेर विधि बनाउने कार्यमा छ । जसले पार्टीको आगामी नयाँ नेतृत्वले गर्ने कामसमेत निर्देशित गर्दछ । अब हुने संघ, प्रदेश र स्थानीय तहको नेतृत्व चयनको विषयको नैतिक आधार तयार पार्नेछ । नेतृत्वमा कस्ता व्यक्ति आउन पाउने र नपाउने भन्ने तय गर्दछ । अर्थात, एमालेले कस्तो नेतृत्व चयन गर्ने भनेर विधि बनाउँछ त्यस्तै नेतृत्व र जनप्रतिनिधि मुलुकले पाउने अवस्था बन्दछ । यो कोणबाट हेर्दा एमालेको विधान महाधिवेशन नेपाली समाजकै लागि महत्वपूर्ण छ । यति महत्वपूर्ण महाधिवेशनमा फरक मत राख्नेलाई भने संस्थापन पक्षले नसुन्ने वातावरण बनाइँदैछ । स्थायी कमिटी सदस्य कर्ण थापाले नेतृत्वमा उमेरहद लागू गर्नुपर्ने, नेतृत्वमा दुई भन्दा बढी अवसर दिन नहुने, एकै निर्वाचन क्षेत्रबाट दुई पटक मात्रै सांसद्को उम्मेदवार हुन पाउने जस्ता विषयमा फरक मत राख्न खोजेका थिए । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण हुनुपर्ने विषयमा पनि उनको आडान छ । तर फरक मत नै नसुन्ने प्रवृत्ति महाधिवेशन स्थलमा देखा परेको छ । अध्यक्ष केपी शर्मा ओलीले नै आफ्ना विचार प्रतिनिधिहरूलाई बाँड्न दिएको भएपनि औपचारिक रूपमा प्रस्ताव राखिराख्न आवश्यक नरहेको भनेर फरक मतलाई स्थन दिएनन् । 

हेर्दा एउटा पार्टीको महाधिवेशनको विषय जस्तो लागेता पनि त्यसले समाजलाई नै प्रभावित पार्ने विषय नकार्न सकिन्न । मुलुकको नेतृत्व फेरि पनि गर्ने गरी अगाडि बढिरहेको उद्घोष गर्दै आएको पार्टीको विधान कस्तो बन्छ त्यस्तै जनप्रतिनिधि उक्त पार्टीबाट आउँछन् । यसकारण लोकतान्त्रिक संस्कार कति प्रदर्शित भयो भन्ने विषयले अर्थ राख्दछ । यसबारे एमालेका विधान महाधिवेशन प्रतिनिधिहरूले ख्याल गर्न आवश्यक छ । लोकतन्त्र के हो र लोकतन्त्रको ऐना कस्तो हुन्छ भनेर देखाउनुपर्छ । 

ADV

सम्बन्धित खबर

Advertise